कालिकोटको मोल्फामा ठुलो पहिरो, एक सय सात घर जोखिममा
कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिका–५ मोल्फामा भिषण पहिरोे झर्दा स्थानीयका एक सय सात घर जोखिममा परेका छन् । करिब एक महिनादेखिको अबिरल बर्षासँगै मोल्फामा आएको भिषण पहिरोले घोडेना र मोफा बजारका एक सय ७ घरहरु उच्च जोखिममा परेका हुन् ।
सोमबार बिहान करिब २ बजेतिर आएको पहिरोेले स्थानीय सबैलाई गाउँ छाड्न बाध्य बनाएको छ । खाँडाचक्र नगरपालिका–६ का वडा अध्यक्ष जगधिश शाहीले घोडेना गाँउको छेउबाट खसेको पहिरोले कर्णाली राजमार्गसँग जोडिएको मौल्फा बजारका ५१ र घोडेनाका ५६ घर जोखिममा परेको बताए ।
उनले घोडेनाको छेउमा फुटेको पहिरोले स्थानिय पदमबहादुर शाहीको पुरै घर भासिएकाले उनीहरुको बिचल्ली भएको बताए । उनका अनुसार घोडेनाको गाँउको तलतिरबाट निरन्ततर पहिरो खस्दा पुरै गाँउ जोखिममा परेको छ ।
पहिरोका कारण कर्णाली राजमार्गसँग जोडिएको मोल्फा बजारबासी पनि भागाभाग भएका छन् । ‘घोडेना गाँउको तलतिरको भाग पुुरै भासिएको छ । स्थानीय पदमबहादुर शाहीको घर पहिरोमा बग्न थालिसकेको छ’, उनले भने, ‘पानीको मुहानसहितको पहिरोले माथि घोडेना र तल मोल्फाको बजार नै जोखिममा परेकाले गाँँउबासी घर छाड्न बाध्य भएका छन् ।’
यस्तै स्थानीय कमल चौलागाईँले २०६५ सालमा त्यसै ठाँउमा आएको पहिरोले ६ घर बगाएको जानकारी दिँदै पुन दोहोरिएको बताए ।
पहिरो झरेपछि कालिकोट प्रदेश सभा ख का सांसद कुर्मराज शाही, प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद शर्मा, नेपाल रेडक्रस सोसाइटीका सभापति बलप्रसाद सञ्ज्याल लगायतको टोलीले अनुगमन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कार्कीले पहिरोको निरीक्षण गरेपछि जोखिममा रहेका सबै स्थानीयलाई नजिकैको विद्यालयमा सार्न लगाइएको जानकारी दिए ।