सिजनमै सुन अभाव
दमौली : आफन्तको बिहेका लागि सुनका गहना बनाउन दमौलीको एक पसल पुगेकी घाँसीकुवाकी मनमाया अधिकारीले भन्डै २० दिन कुर्नुपर्यो। कच्चा सुन नभएको भन्दै पसलेले कुर्न भनेपछि उनले पूरै सेट गहना तयार पार्न लामै समय कुर्नुपरेको हो। ‘बिहेमा सुन नभइ नहुने झण्डै गाह्रो परेको’,ध उनले भनिन्। जसोतसो सुन ल्याएर पसलेले गहना दिएपछि बल्ल उनले राहतको सास फेरिन्। यसरी समस्या भोग्नेमा उनीमात्र होइन धेरै छन्। सुनको मूल्य ओरालो लागिरहेका बेला किनेर गहना बनाउने तथा जगेडा गर्न खोज्ने धेरैले सोचेजस्तो भएको छैन।
तर व्यापारीको गुनासो अर्कै छ। ‘हामीले मागेजति सुन आएकै छैन’, सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष कृष्ण सुनारले भने, ‘ग्राहकले भनेजति दिन सकिएको छैन।’ तनहुँमा सातामै किलो सुनको माग छ। तर व्यवसायीले आधिकारिक च्यानलबाट एक किलो मात्र सुन पाएका छन्। ‘यसलाई नबढाउँदासम्म व्यापार चलाउनै गाह्रो भएको छ’, अध्यक्ष सुनारले भने। ‘ग्राहकलाई मूल्य घटेकाले सुन लुकाएको भान परेको छ’, उनले भने, ‘तर हाम्रो पीडा अर्कै छ।’
सुनको भाउ घट्दा सामान्य ग्राहकले पनि किन्न खोज्ने भएकाले त्यस्तो बेला निकै कठिन हुने गरेको व्यवसायी संघका उपाध्यक्ष विनोदकुमार बिकले बताए। तनहुँमा हाल एक सय ८५ व्यवसायी संघमा आबद्ध छन्। तीमध्ये ६० जनाले दमौलीमा व्यवसाय गर्ने गरेका छन्। दमौलीपछि भीमादमा सुनचाँदीको बढी व्यापार हुने गरेको छ। तर, साउनयता सरकारले साधारण नागरिकलाई विदेशबाट सुन ल्याउनमा गरेको कडाइसँगै बजारमा सुनको अभाव खट्कँदा तनहुँसँगै देशैभरका व्यवसायी प्रभावित बनेका छन्। ‘अहिलेसम्म ग्राहककै सुनका सामान बनाउँदै बसेका छौं’, संघका अध्यक्ष सुनारले भने, ‘तत्काल कोटा नबढाउन हो भने व्यवसाय धान्नै मुस्किल हुनेछ।’