बिम्स्टेक सम्मेलन : ‘भीआईपी’ सवारी रुट तोकियो

बिम्स्टेक सम्मेलन : ‘भीआईपी’ सवारी रुट तोकियो

काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा आउने विशिष्ट (भीआईपी) व्यक्ति सवारीको रुट निर्धारण गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मका दुई रुट बनाइएको छ।

प्रहरीले बनाएका दुई सवारी रुटमध्ये एउटालाई वैकल्पिक रुट मानिएको छ। दुवै रुटमा सोमबारदेखि नै हतियारसहितका सुरक्षाकर्मी छरेर राखिएको छ। विमानस्थलदेखि तिलगंगा, तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै सोल्टी होटललाई मुख्य सवारी रुट बनाइएको छ। वैकल्पिक रुटमा विमानस्थलबाट गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, स्वयम्भू, सीतापाइला, कलंकी, रविभवन र सोल्टी होटलसम्म तय गरिएको छ।

बिमस्टेक सम्मेलनमा आउने पाहुनालाई यी दुईमध्ये एउटा रुट प्रयोग गरी सम्मेलनस्थल सोल्टी होटल पु¥याइनेछ। भदौ १४ र १५ मा हुने सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना,        श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका प्रधानमन्त्री विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष छिरिङ तोग्वे आउने तय भएको छ। प्राप्त सूचना अनुसार १३ गते साँझ र १४ गते बिहानसम्म सबैजसो राष्ट्रप्रमुख नेपाल ओर्लिइसक्ने सूचना पाएसँगै प्रहरीले सवारी रुट तय गरेको हो।

दुवै रुटमा ५० मिटरको दूरीमा प्रहरी निरीक्षकको कमान्डमा पाँचदेखि १० जना सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ। गौशाला, बानेश्वर, कालिमाटी, कीर्तिपुर, बालाजु, महाराजगन्ज, कमलपोखरी, लैनचौर, स्वयम्भू र सातदोबाटो वृत्तका प्रमुख डीएसपीहरूलाई आआफ्नो क्षेत्रमा परिचालित प्रहरी कर्मचारीको खटनपटन र सुरक्षा अवस्थाबारे अपडेट भइराख्न निर्देशन दिइएको छ। सवारी रुटमा प्रहरी निरीक्षकको कमान्डमा १०÷१० जनाका दरले प्रहरी परिचालित हुनेछन्।

भीआईपी सवारी समयमा रुट पर्ने ठाउँमा एम्बुलेन्सबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाउने सरकारको तयारी छ। फरफरक समयतालिका बनाएर विमानस्थलमा सहभागी राष्ट्रप्रमुख ओर्लने भएपछि सडकमा सुरक्षा व्यवस्था चुस्त पार्ने सरकारको रणनीति छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथको दर्शन गर्न जाने, श्रीलंकाका राष्ट्रपति र म्यानम्यारका प्रधानमन्त्री बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार उनीहरूलाई हेलिकोप्टरमार्फत लैजाने तयारी गरिएको छ।

भीआईपी सवारीदेखि सुरक्षासम्म सेनाले अग्रपंक्तिको सुरक्षा गर्ने, दोस्रो तहमा प्रहरीसँगै सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले सुरक्षा दिने योजनाअनुसार १७ हजार सुरक्षाकर्मी परिचालनको खाका तय भएको छ। भीआईपीका आगमनदेखि प्रस्थानसम्मको सुरक्षा तालिका बनिसकेको बिम्स्टेक सम्मेलनको सुरक्षा व्यवस्थापनकै लागि बनेको समितिका संयोजक महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी मनोज नेउपानेले बताए। ‘सवारी रुटदेखि सुरक्षाकर्मी परिचालनसम्मको सबै व्यवस्थापन भइसक्यो’, उनले भने, ‘सोमबारदेखि नै प्रहरी फिल्डमा खटिइसकेका छन्।’ सोमबार बिहानै प्रहरीले सवारीको पूर्वाभ्याससमेत गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.