गल्ला व्यापारीभन्दा सागपात बेच्नेलाई बढी कर

गल्ला व्यापारीभन्दा सागपात बेच्नेलाई बढी कर

भैरहवा : रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अवैज्ञानिक रूपमा करको दर लागू गरेको छ। नाफा कमाउने उद्देश्यले स्थापित उद्योग व्यवसायभन्दा सागपात बेचेर गुजारा चलाउनेलाई बढी कर तोकेको छ।

नगरपालिकाले तेस्रो नगरसभाले चालू आर्थिक वर्षका लागि नयाँ करको दर तोकेको हो। नगरपालिकाले खाद्य किरानाअन्तर्गतका गल्ला पसललाई वार्षिक दुई हजार आठ सय अर्थात् दैनिक सात रुपैयाँ ६७ पैसा लिने गरेको छ। तर हाटबजारमा साग, सुर्खानी बेच्नेले दैनिक ३५ रुपैयाँ तिर्नुपर्छ। नगरपालिकामा हप्ताको दुई पटक हाटबजार लाग्ने गरेको छ। हप्तामा दुई दिनको ७० रुपैयाँ कर तिर्दा ५२ हप्तामा सागपात बेच्नेले तीन हजार ६ सय ४० रुपैयाँ कर तिर्नुपर्नेछ। जबकी वार्षिक लाखौं रुपैयाँ नाफा कमाउने उद्योग व्यवसायसँग भने यसको तुलनामा निकै न्यून करको दर लगाइएको छ।

सिद्धार्थनगर नगरपालिकाले लागू गरेको करको दरसमेत बढाएको छ। नगरपालिकाले अधिकांश क्षेत्रमा करको दर बढाएको हो। कतिपय क्षेत्रमा नौ सय प्रतिशतसम्म कर बढाइएको छ। नगरको वडा नम्बर ३ मा सञ्चालित लुम्बिनी रण अम्बिका आँखा अस्पतालको नाम उल्लेख गरी करको दर नबढाएको नगरपालिकाले निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजलाई नौ सय प्रतिशत कर बढाएको छ। निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजबाट गत वर्ष पाँच हजार रुपैयाँ कर लगाएको नगरपालिकाले यस वर्षदेखि ५० हजार रुपैयाँ पुर्‍याएको छ।

कपडा पसलअन्तर्गत थोक बिक्री गर्नेलाई गत वर्ष एक हजार रुपैयाँ कर लगाएको नगरपालिकाले यस वर्ष चार सय प्रतिशत कर बढाएर पाँच हजार रुपैयाँ पुर्‍याएको छ। गत वर्ष ६ सय रुपैयाँ कर तोकेको खुद्रा कपडा बिक्री पसललाई यस वर्ष तीन सय १७ प्रतिशत बढाएर दुई हजार पाँच सय रुपैयाँ पुर्‍याएको छ।

नगरपालिकाले हाटबजारमा टोकरीमा साम्रगी बेचबिखन गर्नेलाई बैठकीस्वरूप २५ रुपैयाँ लिदै आएको कर यस वर्ष ३० रुपैयाँ पुर्‍याएको छ। सागपात बिक्री गर्नेसँग ३० रुपैयाँ कर लिँदै आएकोमा यस वर्षदेखि ३५ रुपैयाँ पुर्‍याएको छ। सागपात बिक्री गर्नेलाई पनि कर बढाएको नगरपालिकाले हाटबजार सुविधा भने केही नबढाएको हाटबजार व्यवसायीको गुनासो छ।

तरकारी किसानको गुनासो

हाटबजारमा सागपात बिक्री गर्दै आएका अवध बिहारीले चर्को करले आफूले मर्कामा परेको बताए। उनले आफूले सागपात मात्र बिक्री गरेर एक सय २० रुपैयाँ एकदिनको कर दिँदै आएकोे बताए। तर, नगरपालिकाले सागपात बिक्री गर्नेसगँ ३५ रुपैयाँ मात्र कर असुल भइरहेको जनाएको छ।

त्यस्तै एउटा बोरामा १५ किलो लसुन मात्र बोकेर हाटबजारको सडकमा बिक्री गर्न आएका रामु कान्दूले आफूले एक सय रुपैयाँ बैठकी (कर) तिर्नुपरेको गुनासो पोखे। उनले भने, ‘यो लसुनबाट जति कमाई हुँदैन त्यति त मैले बैठकी तिर्नुपरेको छ।’ हिलाम्मे सडकमा बसेर कागती बिक्री गर्दैै आएका व्यापारीले अन्य सरह बैठकी तिर्दै आएको बताए। हाटबजारका व्यवसायीले वृद्धि भएको करले मर्कामा परेको बताउँदै कर घटाउन माग गरे।

करको चौतर्फी विरोध

नगरपालिकाले करको दर बढाएपछि चौतर्फी रूपमा विरोध भएको छ। स्थानीय उद्योगी व्यवसायीदेखि सर्वसाधरणसम्मले करको विरोध गर्दै करको दर घटाउन माग गरे। नगरपालिकाले करको दर बढाउँदा व्यवसायी मर्कामा परेको भन्दै रूपन्देही उद्योग व्यापार संगठनले नगरप्रमुखलाई ज्ञापन पत्र बुझाउँदै तत्काल करको दर समायोजन गर्न माग गरे।

संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले नगरपालिकाले सामान्य व्यापारीलाई पनि ४/५ सय प्रतिशतसम्म कर वृद्धि गरिएको भन्दै आक्रोश पोखे। उनले नगरपालिकाको राजस्व परामर्श समितिको बैठकमा आफूहरूले २०/२५ प्रतिशतमा मात्र वृद्धि गर्न सुझाव दिए पनि नगरपालिकाले सुझावलाई बेवास्ता गर्दै एकलौटी रूपमा कर वृद्धि गरेको बताए। व्यवसायीले कर समायोजन नभए आफूहरू आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए।

नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले कर वृद्धि भएको बताए। टोकरीमा साम्रगी बिक्री गर्नेसँग नगरपालिकाले कर लिने उनले बताए। ‘निजी क्षेत्रका मेडिकल कलेजसँग लिइने व्यवसाय कर अझै कम भएको छ, एक लाख पुर्‍याउँछौं’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.