गाईजात्रामा यसरी गरियो सरकारमाथि व्यङ्ग्य
भक्तपुर : भक्तपुरमा सोमबार ओली सरकारको गाईजात्रा निकालिएको छ। नेपालभाषी समुदायमा दिवंगत व्यक्तिको सम्झनामा मात्रै गाईजात्रा निकालिन्छ तर सोमबार भक्तपुरमा ओली सरकार मरेको प्रतिक स्वरुप गाईजात्रा निकालिएको हो।
ओली सरकारको गाईको प्रतिक स्वरुप जात्रालुले कुर्सी बोकेका थिए। कुर्सीमा गोली एण्ड गफ सरकार लेखिएको थियो। कुर्सीको दायाँबायाँ ओली सरकारका काल्पनिक योजना, गफाडी सरकारलगायत लेखिएको थियो। त्यस्तै उक्त कुर्सीलाई भ्रष्टाचारी, बलात्कारी, ठेकेदार, गुण्डा, डन, पानीजहाज लेखिएको छाता ओढाइएको थियो। त्यस्तै घिन्ताङघिसी नाच नाच्ने जात्रालुले ओलीको पानी जहाज, नेपाली कर्मचारीको परिचयलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई व्यंग्य गरिएका कार्टुन बोकेका थिए।
उक्त ओली सरकारको गाईजात्रा नेपाल मजदुर किसान पार्टीले निकालेको हो। गाईजात्राको नेतृत्व प्रदेश नम्बर ३ का सांसद सुरेन्द्रराज गोसाईंले गरेका थिए। उनी नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्यसमेत हुन्।
त्यस्तै नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले वाद्यवादक भएर घिन्ताङघिसी नाच नचाइरहेका थिए। सर्वसाधारणको जात्रापछि उक्त जात्रा निकालिएको हो। नेमकिपा समर्थित युवाविद्यार्थीले प्रत्येक वर्षको गाईजात्रामा यस्तै घोचपेचसहितको गाईजात्रा निकाल्दै आएका छन्।
समावेशी हुँदै भक्तपुर गाईजात्रा
पछिल्लो समय भक्तपुरको गाईजात्रा समावेशी हुन थालेको छ। नेपालभाषीहरूले मात्रै मनाउने गाईजात्रामा गैर नेपालभाषी नेपालीसँगै विदेशी समेत सहभागी हुन थालेका हुन्।
भक्तपुरको गाईजात्रामा नाचिने घिन्ताङघिसी नाचमा नेपालभाषीभन्दा अहिले गैरनेपाल भाषाीको सहभागिता बढ्न थालेको छ। घिन्ताङघिसी नाचसँगै गाईजात्रा हेर्ने जात्रालुमा समेत गैरनेपाल भाषीको बाहुल्यता बढ्न थालेको छ। जसले गर्दा भक्तपुरको गाईजात्रा तथा घिन्ताङघिसी नाच घुम्ने बाटोहरू साँघुरा हुन पुगेका छन्। झन् कति ठाउँमा भूकम्पले चर्काएका घर तथा मन्दिरमा टेको लगाइएका कारण बाटो झन् झन् साँघुरो हुन पुगेका हुन्।
सोमबार भैरव तथा भद्रकालीको गाईजात्रा निकालिएसँगै भक्तपुरमा नौदिनसम्म मनाइने गाईजात्राको पहिलो दिन सकिएको छ। वर्षभरिमा दिवंगतको सम्मान तथा सम्झनामा गाईको प्रतिक बनाइ नगर परिक्रमासँगै घिन्ताङघिसी नाच नचाएर पहिलो दिनको जात्रा सकिएको हो।
भदौ प्रतिपदाको दिन मृतकको आत्मालाई गाईको प्रदर्शनले यमलोकमा प्रवेश हुने जनविश्वासअनुसार नेपालभाषीहरू प्रत्येक वर्ष यस दिन गाईजात्रा मनाउँछन्। गाईजात्रालाई स्थानीय भाषामा सापारु पनि भनिन्छ।
पहिलो दिन सांस्कृतिक र संस्कारगत सापारु सकिएपछि दोस्रो दिन खाली हुन्छ। तेस्रो दिनदेखि भने हास्यव्यंग्य, घोचपेच हुने नाच तथा प्रहसनसँगै यहाँको परम्परागत एवं मौलिक नाचगान प्रदर्शन गरिन्छ। यो एकसाता लामोसम्म चल्छ।