६ वर्षपछि नेपाल-चीन सीमा बैठक
दार्चुला : ६ वर्षपछि नेपाल-चीन सीमा बैठक बसेको छ। ०६८ सालमा बसेको नेपाल-चीन सीमा बैठकमा दार्चुलाका नेपाली अधिकारी र तिब्बतस्थित सीमा कार्यालयका अधिकारीबीच भेटवार्ता भएको थियो। ०६८ सालमा भएको नेपाल-चीनबीच बैठकपछि हालसम्म सम्पर्क भएको रेकर्ड जिल्ला प्रशासनमा नरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए।
त्रिदेशीय सीमाक्षेत्रमा अवस्थित दार्चुलाका अधिकारी र तिब्बतका अधिकारीबीच सम्पर्कसमेत नभएको अवस्थामा सोमबार दार्चुलाका अधिकारी र तिब्बत सीमा कार्यालयका अधिकारीबीच बैठक हुने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए। विभिन्न मितिमा नेपाल-भारत सीमा बैठक भए पनि उत्तरी छिमेकीसँग भने ६ वर्षयता बैठक बस्नै सकेको थिएन।
नेपाल-चीन द्विपक्षीय सीमा बैठकमा दार्चुलाबाट सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मका डीएसपी भीमबहादुर चन्द, जिल्ला प्रहरी कार्यालयका डीएससी नवराज अधिकारी, तिंकर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक धनबहादुर कठायतसहितको ४ सदस्यीय नेपाली टोली बैठकका लागि बिहीबार हिँडेको हो।
यस्तै, दार्चुला, बझाङ र हुम्लालाई बैठकमा बोलाइए पनि बझाङबाट भने सहभागी नभएको स्रोतले जनाएको छ। लामो समयपछि हुने नेपाल-चीन सीमा बैठकमा सम्पर्क स्थापित गर्न र सीमा क्षेत्रका गतिविधिबारे र बैठकमा सीमा सुरक्षा, समन्वय तथा सहाकार्यमा छलफल भएको छ।
बैठकबाट त्रिदेशीय सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि न्यूनीकरण तथा सीमा क्षेत्रमा हुने अन्य समस्यासमेत समाधानको उपाय खोजिने अपेक्षा नेपाली नागरिकले गरेको भए पनि दार्चुलावासीलाई भने हर्ष न विस्मात भएको छ।
सीमाका बासिन्दालाई सास्ती
दार्चुलासित जोडिएका सीमानाकामा दार्चुलावासीलाई निकै सास्ती हुने गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले ३० किलोमिटर ताक्लाकोटसम्मको मात्रै पास दिने गरेको छ। दार्चुलावासीको र स्थानीय जनप्रतिनिधिको माग भने ताक्लाकोट मात्र नभई मानसरोवरसम्म जान दिए हुन्थ्यो भनेर सबै क्षेत्रबाट दबाब आएपछि त्यो कुरा चिनियाँ समक्ष पुर्याएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी आर्चायले बताए।
नेपाल-चीन द्विपक्षीय सीमा बैठकमा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच पारस्परिक सूचना आदानप्रदान गर्ने छलफल भएको छ। संगठित अपराध नियन्त्रण, बहुराष्ट्रिय अपराध, लागुऔषध मानव बेचबिखनलगायत अपराध नियन्त्रण साथै दार्चुलावासीलाई मानसरोवर तथा कैलाश पर्वतसम्मको तीर्थयात्राका लागि चिनियाँ तर्फबाट सहभागी प्रतिनिधि मण्डलका प्रमुखलाई आग्रह गरिएको थियो। त्यसैगरी, दार्चुलाबाट ताक्लाकोटसम्म पास लिएका दार्चुलावासीलाई मौसम प्रतिकूल भएको अवस्थामा हुम्लाको हिल्सा नाकाबाट समेत आवतजावत दिन चिनियाँतर्फबाट सहभागी प्रतिनिधिमण्डलका प्रमुखलाई आग्रह गरियो।
नेपालको उपस्थिति ६ महिना मात्रै
त्रिदेशीय सीमा क्षेत्रमा नेपालका तर्फबाट राज्यको उपस्थिति कमजोर छ। सीमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म जिल्ला सदरमुका खलंगामा रहे पनि त्रिदेशीय सीमा क्षेत्रमा भने राज्यको उपस्थिति न्यून छ।
नेपाल-भारत-चीनको त्रिदेशीय सीमा क्षेत्रमा नेपालका तर्फबाट ६ महिना प्रहरी मात्रै राज्यको उपस्थिति हुने गरेको छ। ६ महिना नेपाल प्रहरी तिंकरमा चौकीमा बस्ने गरेको छ। त्यसपछिको ६ महिना राप्लाको दुम्लिङ झर्दा त्रिदेशीय सीमा क्षेत्र उपस्थिति शून्य हुन्छ।