सहिद पत्नीलाई प्रदेश सरकारको जागिर
जनकपुरधाम : तेस्रो मधेश आन्दोलनका प्रथम सहिद राजिव राउतकी श्रीमति निलम देवी राउतलाई प्रदेश सरकारले रोजगारी दिएको छ। प्रदेश सरकारको पहिलो मन्त्री परिषदको बैठकले प्रत्येक सहिद परिवारलाई रोजगारी दिने गरेको निर्णय अनुरुप प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयमा राउतलाई नियुक्ति दिइएको हो।
मंगलबार एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले निलमलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । नियुक्ति पत्र हस्तान्तरण गर्दै मुख्यमन्त्री राउतले प्रत्येक सहिद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिने बताए। उनले भने, 'हामीले आह्वान गरिसकेका छौं। जति सहिद परिवार सम्पर्कमा आउनुहुन्छ, सबैलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिन्छौं।'
यस अघि सोही कार्यालयमा अर्का सहिद राम विवेक यादवकी श्रीमति अनिला यादवलाई समेत रोजगारी दिइएको छ। मुख्य न्यायधिवक्ता कार्यालयले हालसम्म दुईजना सहिद परिवारलाई रोजगारी उपलब्ध गराएको हो।
मधेश आन्दोलन सहिद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ अनुसार उनीहरुलाई रोजगारी दिइएको हो। निर्देशिका अनुरुप प्रदेश सरकारले घाइतेलाई समेत क्रमशः सहायता उपलब्ध गराउँदै आएको छ।
तर, प्रदेश सरकारसँग हालसम्म सहिद परिवारको तथ्यांक छैन। सहिद परिवार आफैं प्रदेश सरकारको सम्पर्कमा आएपछि मात्रै उनीहरुलाई जागिर दिने काम भइरहेको छ।