पञ्चपुरीलाई पर्यटन केन्द्र बनाइँदै

पञ्चपुरीलाई पर्यटन केन्द्र बनाइँदै

सुर्खेत : पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकालाई पर्यटन केन्द्र बनाइने भएको छ । यसका लागि नगरपालिकाको वडा नम्बर २ स्थित पलैटेमा अहिले स्थानीयले आवश्यक पूर्वाधार निर्माणको काम थालेका हुन् । विषेशगरी धार्मिक पर्यटकका लागि मुख्य गन्तव्यका रूपमा विकास गर्न लागिएको हो ।

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले पलैटेलाई शिवशक्ति धामका रूपमा विकास गर्न लागेको हो । कर्णाली प्रदेशकै मुख्य धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न लागिएको स्थानीयको भनाइ छ । धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने र पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले प्रतिष्ठानलाई स्थानीयले जग्गा दान गरेका छन् । उक्त जग्गामा सुविधा सम्पन्न सभाहल निर्माणको काम चलिरहेको छ । सोही क्षेत्रमा एक सय आठ फिट अग्लो शिवलिंग निर्माण गर्ने तयारी थालिएको छ ।

यसले धार्मिक पर्यटकहरू आकर्षित हुने अपेक्षा गरिएको छ । यस्तै गुरुकुल शिक्षा प्रदान गर्न स्कुल पनि स्थापना गर्न लागिएको छ । जहाँ अंग्रेजी र संस्कृत भाषामा अध्यापन हुनेछ । अर्कोतर्फ धाममा नियमित रूपमा धार्मिक प्रवचन पनि सञ्चालन गरिनेछ । शिवशक्ति धामनजिकै कुण्डलिनी गुफा रहेको छ । प्राकृतिक रूपमा नै उक्त गुफाभित्र देवी देवताका चित्र, हात्तीको सुँड र विभिन्न आकृति देखिन्छन् । यसकारण पनि यहाँ पर्यटकहरू भित्रिने अपेक्षा स्थानीय बासिन्दाले गरेका छन् । धार्मिक पर्यटनको बलियो सम्भावना रहेकाले आफूहरू यो अभियानमा जुटेको महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका कर्णाली प्रदेशका अध्यक्ष तिलकराम अधिकारीले बताए ।

‘पलैटे अब धार्मिक पर्यटनको हब बन्छ, हामी यसका लागि तयारीमा जुटेका छौं’ अधिकारीले भने, ‘अबको पाँच वर्षभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउनेछौं, देश र विदेशका पर्यटकहरू यहाँ भित्रिनेछन् । यसले स्थानीयको आयआर्जनमा वृद्धि हुनेछ, अर्कोतर्फ धार्मिक अनुशासन पनि कायम हुनेछ ।’ उनले शिवशक्ति धाममा आउने भक्तजन र दर्शकलाई विहानको खाना निःशुल्क खुवाउने गरी व्यवस्थापन गर्न लागिएको जानकारी दिए । यस्तै सोही क्षेत्रमा यस क्षेत्रकै ठूलो क्षमतमा होमस्टे सञ्चालनको तयारी भइरहेको समेत अधिकारीले बताए । उनका अनुसार अब उक्त क्षेत्रलाई मिनी चतराधामका रूपमा नै विकास गर्न लागिएको हो । हाल सो स्थानमा एक हजार जना अटाउने सुविधायुक्त हल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

हल निर्माण उपसमितिका अध्यक्ष चन्द्रप्रसाद कँडेलले यो हल अबको एक महिनाभित्र सञ्चालनमा आउने बताए । उनका अनुसार हलको लागत एक करोड अनुमान गरिएको छ । यो हलमा नियमित रूपमा साधना र सामाजिक कार्यक्रमहरू आयोजना गर्न सहज हुनेछ । शिवशक्ति धामको विकासका लागि पञ्चपुरी नगरपालिकाले पनि आवश्यक सहयोग गरिरहेको छ । अघिल्लो वर्ष नगरपालिकाले १० लाख रकम उपलब्ध गराएको थियो । पर्यटन नै समृद्धिको आधार भन्दै नगरपालिकाले यो वर्ष पनि २० लाख बजेट विनियोजन गरेको छ । यसले पनि आवश्यक पूर्वाधार विकासमा सहज भएको वडा नम्बर २ का अध्यक्ष जगतबहादुर बीसीले बताए । उनले भने, ‘हाम्रो वडा धार्मिक पर्यटनको केन्द्र बन्दै छ, हामी यसमा लागिपरेका छौं । केही वर्षभित्र ठूलो संख्यामा पर्यटकहरू भित्रिनेछन्, यसले यहाँको आर्थिक अवस्था बलियो हुनेछ ।’

धार्मिक क्षेत्रहरूको विकाससँगै गाउँमा होमस्टे सञ्चालन गरेर पर्यटक तान्ने प्रयास भइरहेको उनको भनाइ छ । यसका लागि आफूहरूले प्रदेश सरकारसँग पनि समन्वय गरिरहेको उनले जानकारी दिए । धाममा कुटी, धर्मशाला, गौशाला र अन्य संरचना निर्माणको योजना पनि समेटिएको छ । धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न आवश्यक पर्ने जग्गासमेत जुटेको छ । ३५ रोपनी दर्ता र ६० रोपनी अन्य जग्गा प्रतिष्ठानको नाममा रहेको छ ।

यही जग्गामा अहिले आवश्यक पूर्वाधार र संरचनाहरू निर्माणको काम भइरहेको छ । अधिकारीकाअनुसार पूर्वाधार निर्मााणको काम सम्पन्न भएमा पलैटे कर्णाली प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय केन्द्र बन्नेछ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.