बिम्स्टेक सुरक्षा : संवेदनशील ठाउँमा सेनाको सुरक्षा

बिम्स्टेक सुरक्षा : संवेदनशील ठाउँमा सेनाको सुरक्षा

काठमाडौं : नेपाली सेनाले अत्याधुनिक हतियारसहितका विशेष फौजलाई बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनको सुरक्षामा उतारेको छ। बिम्स्टेकमा सहभागी हुन आउने विशिष्ट पाहुनाको सुरक्षा संवेदनशीलता हेरेर नेपाली सेनाले विशेष फौज उतारेको हो।

नेपाली सेनाले सुरक्षा संवेदनशीलता बढी भएका स्थानको पहिचान गरी ती स्थानमा महाराजगन्जस्थित विशेष बाहिनीका फौज परिचालन गरेको छ। सेनाले विमानस्थलदेखि कार्यक्रमस्थल सोल्टी होटलसम्ममा पर्ने अग्ला भवनमा अत्याधुनिक हतियार ‘स्न्यापर’सहितका फौजलाई तैनाथ गरेको छ। त्यस्ता विशेष फौजले विशिष्ट व्यक्ति आवतजावत गर्ने बाटो वरपरका अग्ला स्थान र घरका छतको समेत निगरानी गर्नेछ। बिहीबार र शुक्रबार काठमाडौंमा हुने बिम्स्टेक सम्मेलनमा आउने विशिष्ट व्यक्तिको व्यक्तिगत सुरक्षा र मुख्य कार्यक्रम स्थलको सुरक्षामा समेत नेपाली सेना खटिएको छ। सेनाले विशिष्ट पाहुनाको व्यक्तिगत सुरक्षाका लागि अधिकृत तहका पर्सनल सेक्युरिटिज अफिसर (पीएसओ) समेत खटाएको छ। उनीहरूले विशिष्ट पाहुनासँगै सम्बन्धित मुलुकबाट आएका पीएसओसँग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाउनेछन्।

सेनाले कार्यक्रम हुने मुख्य स्थान र विशिष्ट पाहुनाको सुरक्षाको प्रबन्ध मिलाएको छ। नेपाली सेनाले क्लोज सर्किटमा सुरक्षा दिनेछ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रहरीले बाहिरी सुरक्षाको व्यवस्था मिलाउनेछन्। मुख्य कार्यक्रम स्थल र विशिष्ट पाहुनाको व्यक्तिगत सुरक्षामा नेपाली सेना खटिएको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताए। ‘विशिष्ट व्यक्तिको सुरक्षाप्रति हामी संवेदनशील छौँ’, उनले भने, ‘सोही प्रकारले सुरक्षा व्यवस्था मिलाइएको छ।’

सेनाको बम डिस्पोजल टोलीले सुरक्षाका दृष्टिले संवेदनशील ठानिएका स्थानको ‘रेकी’समेत गरिसकेको छ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षाका दृष्टिले संवेदनशील ठानिएका स्थानको ‘रेकी’समेत गरिसकेको छ। सेनाले विशिष्ट व्यक्तिको सुरक्षाका लागि हवाई र स्थलमार्गमा समेत गस्ती बढाएको छ। सोल्टी होटल, राष्ट्रपति कार्यालय, हायात होटललगायत विशिष्ट व्यक्ति बस्ने र ओहोरदोहोर गर्ने स्थानमा सेनाकोे बम डिस्पोजल टोलीसमेत तैनाथ रहनेछन्। सेनाको मातहतमा बनेको जोइन्ट अपरेसन सेलले कार्यक्रमको मुख्य स्थान (क्लोज रिङ)देखि भीआईपीहरू आवतजावत गर्ने स्थान नियन्त्रणमा लिएर सुरक्षा प्रदान गर्नेछ। उक्त सेलमा तीनवटै सुरक्षा निकायको प्रतिनिधित्व रहनेछ।

गृह मन्त्रालयको संयोजनमा नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रहरी विमानस्थलदेखि होटलसम्म र आसपासका शंकास्पद स्थानमा चौबीसै घण्टा तैनाथ रहनेछन्।

रोहिंग्यामाथि विशेष निगरानी

गृह मन्त्रालयले म्यान्मारको रखायन प्रान्तबाट विस्थापित भई नेपाल आएर शिविर खडा गरी कपनमा बस्दै आएका रोहिंग्या शरणार्थीका गतिविधिमाथि कडा निगरानी गरेको छ। बिम्स्टेक सम्मेलनमा भाग लिन मंगलबार काठमाडांै आइपुगेका म्यानमारका राष्ट्रपति विन मिन्टको सुरक्षालाई दृष्टिगत गरी गृह मन्त्रालयले रोहिंग्याका गतिविधिमाथि निगरानी बढाएको हो।

म्यान्मारी सैनिकको कारबाहीपछि विस्थापति झन्डै चार सय रोहिंग्या बंगलादेशबाट भारत हुँदै काठमाडौँ आएर बस्दै आएका छन्। म्यानमारका राष्ट्रपति मिन्टले नेपाल भ्रमण गरेका बेला रोहिंग्याको सम्भावित प्रदर्शनलाई रोक्न गृहले कडाइ गरेको हो।

गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई रोहिंग्याहरूका गतिविधिमाथि निगरानी गर्न निर्देशन दिएको छ। सुरक्षाकर्मीले निगरानी बढाएपछि कामका लागि यत्रतत्र छरिएका रोहिंग्या कपनस्थित शिविरमा जम्मा भएका छन्। शिविरमा रहेका रोहिंग्याका नाइकेले बिम्स्टेक सम्मेलनभर आफूहरू शिविरबाहिर ननिस्कने बताए। ‘हाम्रो कुनै विरोधका कार्यक्रम छैनन्’, उनले भने, ‘हामी म्यान्मार फर्कन चाहन्छौं, कहाँ राष्ट्रपतिको विरोध गर्नु ? ’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.