छोराको धोकोले चेपाङका धेरै सन्तान
गोरखा : सहिदलखन गाउँपालिका ४ ढाँडेगाउँका मंगलसिङ चेपाङले छोरा जन्माउने धोकोले ६ छोरी जन्माए । सातौं सन्तान छोरो भएपछि बल्ला सन्तानको धोको पुग्यो । सन्तान जन्माउने क्रम रोकियो । सोही ठाउँकी विमला चेपाङ छोरा नपाउञ्जेल सन्तान जन्माउने धुनमा छिन् । २२ वर्षकी विमलाको अहिले चार जना छोरी जन्मिसकेका छन् । ‘तैँले छोरा नपाए म अर्कीसँग बिहे गर्छु भन्छन्’, लजाउँदै उनले बाध्यता ओकल्छिन् ।
धेरै सन्तान जन्मेपनि खासै समस्या नहुने मंगलसिङको अनुभव छ । ‘जन्मेपछि एउटा न एउटा काममा लागिहाल्छ नि’, उनी भन्छन्, ‘१२, १३ वर्ष भएपछि एउटा केटा टिपेर गइहाल्छन् । यसरी चलेको छ हाम्रो ठाउँमा ।’ शनिबारमात्रै गाउँकी एक १३ वर्षीया बालिकाले बाटो तताएको उनले सुनाए । ‘गाउँमा मान्छे मरेर चोखिएको भोज थियो । मान्छे धेरै थुप्रिएका थिए । माथिल्लो घरकी गीता राति टाप ठोकिछ’, उनले भने, ‘१२, १३ वर्ष भएपछि बस्दै बस्दैनन् ।’ सानोमा बिहे गर्नु गाउँको चलन भएको उनको भनाइ छ ।
मंगलसिङकी जेठी छोरी १५ वर्ष पुगेपछि विहे गरेकी हुन् । अहिले उनी मनकामनामा होटलमा काम गर्छिन् । काहिँली छोरी पनि जेठीसँगै मनकामनामा छिन् । माहिली छोरी १८ वर्षमा बिहे गरेर लम्जुङ गइन् । साहिली छोरी १४ वर्षमै रोल्पाका एक युवासँग हिडिन् । पतिको मृत्यूपछि ठूलीकान्छी पनि साहिलीको साथमा छिन् । सानकान्छी बा–आमाको साथमा छिन् । पछिल्लो सन्तान छोरा मनकामनामा होटलमा काम गर्छन् । गाउँका कसैले पनि पढाइलाई निरन्तरता नदिएको उनले जानकारी दिए ।
विमलाको १४ वर्षमै बिहे भएको थियो । १५ वर्षकै उमेरदेखि सन्तान जन्माउन थालिन् । ‘मैले त भयो पुग्छ भनेकै हुँ, तर मैले भनेर लाग्दैन । बुढा छोरै चाहिन्छ भन्छ’, विमला भन्छिन्, ‘बजारतिर त पेटमा छोरा छ कि छोरी भनेर चिन्न मिल्छ भन्छन् । हामी त त्यसो गर्न सक्दैनौं । त्यही भएर जन्माको जन्मायै गर्नुपर्छ ।’
धेरै बच्चा जन्माएर आमा र बच्चा दुबै कमजोर हुन्छन् भन्ने मंगलसिङ चेपाङलाई राम्रै थाहा छ । गाउँमा परिवार नियोजनको सुविधा नभएकाले धेरै सन्तान जन्माउने गरेको उनको भनाइ छ । ‘हाम्रो गाउँमा परिवार नियोजन भन्ने छैन’, उनी भन्छन्, ‘भगवानले जति दिन्छन्, त्यति हात थाप्छौं ।’ सुत्केरी अवस्थामा पर्याप्त पोषणयुक्त खाना र आराम नपाउने विमलाको गुनासो छ । ‘घरमा कुखुरा छ भने एक, दुईवटा कुखुरा खान्छौं’, उनी भन्छिन्, ‘छैन भने बजारको बोइलर कुखुराको भर ।’ चामलको भात पनि मुस्किलले पाउने उनी सुनाउँछिन् ।
चेपाङ महिला सुत्केरी हुँदा पर्याप्त आराम गर्न पाउँदैनन् । ‘पाँच दिनमा सुत्केरी चोखिन्छ’, उनी भन्छिन्, ‘चोखिएपछि त घाँस दाउरा गर्नुपर्छ । भातभान्साको काम समाल्नु पर्छ । नगरे कसले गर्ने ? ’ भारी काम गर्नुपर्दा चेपाङ महिलाले विभिन्न समस्या व्यहोर्नुपर्छ तर समस्या गुपचुप राख्ने गरेको उनी बताउँछिन् । ‘अप्ठ्यारो त कति हुन्छ कति, तर कसैले पनि यस्तो भयो भनेर सुनाउँदैनन्’, विमलाले भनिन् ।