गरिबको सूचीमा धनी

गरिबको सूचीमा धनी

गोरखा : मंगलबारदेखि गरिबको परिचयपत्र बाँड्ने खबर पाएर चुमनुब्री गाउँपालिका ३ साविक सिर्दीबास गाविसका बासिन्दा बिहानदेखि दंग थिए । परिचयपत्र लिनका लागि गाउँपालिकाको केन्द्र फिलिम जानेहरुको लर्को लाग्यो । गरिबको सूचीमा नाम नपरेपछि सोही गाविस १ जगतकी डिलमाया गुरुङ भने आश्चर्य चकित भइन् । विगत नौ वर्षदेखि एकल जीवन बिताउँदै आएकी गुरुङको ओत लाग्ने झुप्रो पनि अर्काको जग्गामा छ । ‘खै हाम्रो त नामै पो छैन’, गुरुङ भन्छिन्, ‘म भन्दा कति हुने खानेहरु कार्ड लिन लाइन लागेर गए तर मेरो नाम किन परेन थाहा भएन ।’ बस्ने ठाउँसमेत आफ्नो नाममा नभएकाले स्थानीय पूर्णबहादुर गुरुङको जग्गामा झुप्रो बनाएर बसेको उनी बताउँछिन् । उनका एक छोरा र एक छोरी अर्काको निमेक गरेर पेट पाल्दै आएका छन् ।

सोही ठाउँका कमानसिंह घले पनि छिमेकी लक्ष्मण घलेको जग्गामा टहरो बनाएर बसेका छन् । ज्यामीको काम गरेर दुई छोरा र दुई छोरीको लालनपालन गरेका स्थानीय सीता गुरुङ बताउँछिन् । ‘एउटा छोरा खच्चड गोठालो छ, अरुचाहिँ मेलापात गर्छन्’, गुरुङ भन्छिन्, ‘दुईछाक पेटभरि भात खान नपुग्ने उनको नाम कसरी छुट्यो भनेर हामी त आश्चर्यमा परिरहेका छौं ।’

घट्टेखोलाकी नौसिनी गुरुङ पनि १५ वर्षदेखि एकल जीवन बिताउँदै छन् । उनको नाममा सानो एउटा घर र धेरै पर पखेरामा एक रोपनी पाखो बारी छ । एउटा छोरा खच्चड गोठालो हुन् भने अर्का छोरा मेलापातको काम गर्छन् । उनको नाम पनि गरिबको सूचीमा नपरेपछि स्थानीयबासी अचम्मित छन् । ‘नाम त के भनौं, तीनचार जना सरकारी जागिरेको नाम अति गरिबको सूचीमा परेको छ तर यस्ता गरिबको नामचाहिँ छैन’, स्थानीय रोहित गुरुङ भन्छन्, ‘नाक्चेतका आशमान गुरुङ एकल पुरुष हुन् । एकरोपनी बारी थियो । बेचेर घरखर्च टारे । अहिले नङमा लाउने माटो पनि छैन । आउने बाटो केही छैन । उनको नामचाहिँ गरिबको सूचीमा छैन ।’ गुनासो धेरै आएको उनले बताए ।

परिचयपत्र बाँड्न थालेदेखि गुनासै गुनासो सुन्न थालेको अर्का स्थानीय सुजन गुरुङ बताउँछन् । परिचयपत्र बाँड्ने कर्मचारीसँग गुनासो गर्दा पाँच वर्षअघि कसले संकलन गरेको हामी जान्दैनौं भनेको उनले बताए । ‘गाउँपालिकाका जनप्रतिनिधिलाई भनूँ भने पनि त्यसै भन्छन्’, गुरुङ भन्छन्, ‘कोसँग गुनासो गर्ने हो, कहाँ गुनासो गर्ने हो थाहा छैन ।’ कसको गल्ती कमजोरी भन्ने पनि थाहा नभएको उनी बताउँछन् । ‘नाम संकलन गर्न आउने कर्मचारीको गल्ती हो कि, नेताहरुको गल्ती हो कि, सरकारको गल्ती हो कि कसको गल्ती हो ? गल्ती चाहिँ ठूलो भएको छ’, उनले भने, ‘गरिबको नाम संकलन गर्न फेरि कोही आउला कि नआउला ? ’

२०७० सालमा संकलन गरिएको गरिब घर पहिचानको तथ्यांकको आधारमा अहिले धमाधम परिचयपत्र बाँड्ने काम भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ ।

गोरखामा सर्भेक्षण गरिएका ५९ हजार ६ सय ५४ घरपरिवार मध्ये १२ हजार ४४ घरपरिबारलाई गरिबको सूचीमा राखिएको छ । जसमध्ये अति गरिब परिवारको संख्या पाँच हजार आठ सय ३३, मध्यम खालको गरिब तीन हजार सातसय १७ तथा सामान्य गरिब घरपरिवारको सूचीमा दुई हजार चारसय ९४ रहेको जिल्ला समन्वय समितिले जनाएको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै गरिब घरपरिबार चुमनुब्री र धार्चे गाउँपालिकामा छ भने सबैभन्दा कम गरिब घरपरिबार भीमसेन गाउँपालिकामा रहेको जिल्ला समन्वय समितिले उपलब्ध गराएको तथ्यांकमा छ । जसअनुसार चुमनुब्री र धार्चेमा ६७ प्रतिशत घरपरिबार गरिबको सूचीमा छन् भने भीमसेन गाउँपालिकाको १६.९ प्रतिशत घरपरिबार मात्र गरिबीको सूचीमा छन् । हाल कार्यक्रम सञ्चालन भएका २५ जिल्लामध्ये गोरखामा गरिबी संख्या २८.६ छ । सर्भेक्षण अनुसार गोरखाका ४७ हजार १७ घरपरिवार गरिबको परिभाषाभित्र नपरेको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.