एसियाली खेलकुद : प्याराग्लाइडिङले पदकको आशा जगायो

एसियाली खेलकुद : प्याराग्लाइडिङले पदकको आशा जगायो

जकार्ता (इन्डोनेसिया) : एसियाली खेलकुदको १८औं संस्करणमा नेपाल पदकविहीन बन्ने सम्भावना बढिरहेको बेला प्रतियोगिताको ११औं दिन नयाँ खेल प्याराग्लाइडिङले केही आशा जगाएको छ । पहिलो पटक एसियाली खेलकुदमा समावेश गरिएको प्याराग्लाइडिङले मंगलबार उत्कृष्ट प्रदर्शन गर्दै जारी एसियाडमा नेपालका लागि पहिलो पदक जित्ने सम्भावना प्रबल बनाएको हो ।

प्याराग्लाइडिङको पुरुष टिम क्रसकन्ट्री स्पर्धामा मंगलबार चौथो चरणको खेल सकिँदासम्म नेपाली टोली उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थानमा उक्लिएको छ । प्रतियोगिताको पहिलो चरणमा नेपाल तेस्रो स्थानमा थियो । दोस्रो चरणको खेल सकिँदा पनि नेपाली टोलीले आफूलाई तेस्रो स्थानमा यथावत् राखेको थियो ।

यसैगरी सोमबार तेस्रो चरणको खेल सकिँदा नेपाल चौथो स्थानमा झरेको थियो । चौथो दिन मौसमका कारण केही ढिलो सुरु भएको खेलमा नेपालले सुस्त सुरुआत गरेको थियो । सोही कारणले मंगलबारको खेलमा लामो समयसम्म नेपाली टोली सातौं स्थानमा झरेको थियो ।

तर, त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपाली टोलीले आफूलाई दोस्रो स्थानमा फर्काउन सफल भयो । कुल १० टोली सहभागी उक्त स्पर्धाको फाइनल चरणको खेल बुधबार हुनेछ । आफ्नो यही प्रदर्शनलाई निरन्तरता दिए नेपाली टोलीले कम्तीमा कांस्य पदक जित्ने प्रबल सम्भावना छ ।

यद्यपि, हाल दोस्रो स्थानमा रहेकाले बुधबार उक्त स्पर्धामा नेपाली खेलाडीले स्वर्ण पदकका लागि नै भिडन्त गर्नेछन् । नेपाली पुरुष टोलीमा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन् । पुरुषतर्फ जापान पहिलो, दक्षिण कोरिया तेस्रो, आयोजक राष्ट्र इन्डोनेसिया चौथो र मलेसिया पाँचौं स्थानमा छन् ।

यसैगरी प्याराग्लाइडिङकै महिला टिम क्रसकन्ट्री स्पर्धामा भने चौथो चरणको खेल सकिँदासम्म नेपाली टोली छैटौं स्थानमा आसिन छ । पहिलो चरणको खेल सकिँदासम्म नेपाल चौथो स्थानमा थियो । दोस्रो चरणको खेल सकिँदा भने नेपाली टोली तेस्रो स्थानमा उक्लिएको थियो । तेस्रो चरणको खेल सकिँदा भने नेपाली महिला टोली छैटौं स्थानमा झरेको थियो ।

महिलातर्फको फाइनल चरणको खेल पनि बुधबार नै हुनेछ । उक्त स्पर्धामा समेत नेपालले पदक जित्ने सम्भावना भने कायमै छ । महिलातर्फ पनि १० टोली सहभागी छन् । नेपाली महिला टोलीमा प्रतिभा भुजेल, तृषा तामाङ र सविता तामाङ सहभागी छन् । महिलातर्फ दक्षिण कोरिया पहिलो, जापान दोस्रो, आयोजक इन्डोनेसिया तेस्रो, थाइल्यान्ड चौथो र मलेसिया पाँचौं स्थानमा छन् ।

दौडिएनन् धावक यामसाजन

एथलेटिक्सको पुरुष दुई सय मिटर दौडको छनोट चरणमा मंगलबार नेपाली धावक यामसाजन सुनार आफ्नो लेनमा देखा परेनन् । समाचार संकलनका लागि मध्य जकार्तास्थित जेलोरा बुङ कार्नो रंगशाला पुगेका सञ्चारकर्मी यामसाजनको अनुपस्थितिबाट केही आश्चर्यमा परे ।

‘याम साजनको तिघ्राको मांसपेशीमा समस्या देखिएकाले उनी दुई सय मिटर दौडमा सहभागी नभएका हुन्’, अन्नपूर्ण पोस्ट्को जिज्ञासामा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिम रानाभाटले भने । यसअघि यामसाजनको मांसपेशीमा समस्या देखिएको कुरा सञ्चारकर्मीलाई जानकारी गराइएको थिएन ।

राष्ट्रिय टिम तयारी समितिका संयोजकसमेत रहेका रानाभाटले दुई दिनअघि एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने क्रममा यामसाजनको तिघ्राको मांसपेशीमा समस्या आएको बताए । गत शनिबार भएको पुरुष एक सय मिटर दौडमा २५ वर्षीय यामसाजन हिट चरणबाटै बाहिरिएका थिए ।

एक सय मिटर दौडमा हिट तीनको लेन सातबाट प्रतिस्पर्धा गरेका यामसाजन आफ्नो हिटमा आठौं तथा अन्तिम स्थानमा आएका थिए । यामसाजनले निर्धारित दूरी पार गर्न ११.३९ सेकेन्ड समय खर्चिएका थिए । सोही स्पर्धाका क्रममा उनको मांसपेशीमा समस्या आएका बताइएको छ ।

‘यामसाजनले आफ्नो तिघ्राको मांसपेशीमा समस्या आएकाले दुई सय मिटर दौडमा भाग लिन नसक्ने भन्दै राखेपका सदस्यसचिवलाई निवेदन दिएका थिए । घाइते भएका खेलाडीलाई खेलाउने कुरा पनि आएन । त्यसैले उनी दुई सय मिटर दौडमा अनुपस्थित भएका हुन् । आफू अहिले फिजियोको रेखदेखमा रहेको पनि यामसाजनले आफ्नो निवेदनमा उल्लेख गरेका छन्’, रानाभाटले भने ।

नेपालका यामसाजन मात्र होइन, दुई सय मिटर दौडमा अन्य तीन राष्ट्रका खेलाडीले पनि सहभागिता जनाएनन् । ३१ जना धावकको सहभागिता रहेको उक्त स्पर्धामा एकजना धावक भने दौडका लागि अयोग्य घोषित भएका थिए । केवल २६ जना खेलाडीले दौड पूरा गरेका थिए ।

यसअघि गत शनिबार म्याराथन स्पर्धामा दुवैजना नेपाली खेलाडीले बीचैमा दौड छाडेका थिए । पुरुष म्याराथनमा नेपाली धावक कृष्णबहादुर बस्नेतले लक्ष्यनजिक पुग्नुभन्दा करिब दुई किलोमिटर पहिले दौड छाडेका थिए भने अर्का धावक गोपीचन्द्र पार्कीले ३० किलोमिटर दूरी पार गरेपछि दौड त्यागेका थिए । नेपाली खेल अधिकारीले इन्डोनेसियाको मौसमका कारण खेलाडीले दौड पूरा गर्न नसकेको दाबी गरेका थिए ।

एथलेटिक्सकै महिला पाँच हजार मिटर दौडमा नेपालकी विश्वरूपा बुढा सहभागी १५ खेलाडीमध्ये १३औं स्थानमा आइन् । उनले निर्धारित दूरी पार गर्न १७ मिनेट २४.७८ सेकेन्ड समय खर्चिइन् । उक्त स्पर्धामा बहराइनकी खेलाडी फकादु किदिनले स्वर्ण, कजाकस्तानकी दारिया मास्लोभाले रजत र बहराइनकै रेबितु बोन्टुले कांस्य पदक जिते ।

यसैगरी मंगलबार नै भएको पुरुष भलिबलमा नेपालले मंगोलियालाई ३—१ ले पराजित गर्‍यो । पहिलो सेटमा २६—२८ ले पराजित भएको नेपाली टोलीले त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । नेपाली टोलीले पछिल्ला तीन सेटको नतिजालाई क्रमशः २५—१६, ३०—२८, २५—१९ ले आफ्नो पक्षमा पारेको थियो ।

यसैगरी मंगलबारदेखि सुरु भएको कुराँस खेलमा दुवै नेपाली खेलाडी पहिलो दिन नै पराजित भएका छन् । ६६ केजीभन्दा मुनिको तौलसमूहमा आफ्नो पहिलो खेलमा जित हात पारेका नेपाली खेलाडी उपेन्द्र थापा दोस्रो खेलमा भने पराजय स्विकार्न बाध्य बने ।

उपेन्द्रले आफ्नो पहिलो खेलमा पाकिस्तानका समिउल्लाह सैयदलाई १—० ले हराउँदै प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरेका थिए । तर, प्रिक्वार्टरफाइनलमा उनी उज्बेकिस्तानका खेलाडी रुस्लान बुरिएभसँग १०—० ले पराजित भए ।

यसैगरी कुराँसकै महिला ५२ केजीभन्दा मुनिको तौलसमूहमा नेपालकी भगवती माझी आफ्नो पहिलो खेलमै पराजित भइन् । उनलाई उज्बेकिस्तानकी सोसु चिआवेनले ०—१० अंकले पराजित गरिन् । कुराँस खेलमा नेपालले यही दुई स्पर्धामा मात्र सहभागिता जनाएको छ ।

यसैगरी सेपाकताक्रोको पुरुषतर्फको प्रारम्भिक चरणमा भियतनामले नेपाललाई २—० ले हरायो । स्क्वासको महिला टिम स्पर्धामा पनि नेपाली टोली जापानसँग ०—३ ले पराजित हुन पुग्यो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.