अमेरिका-मेक्सिको व्यापार सम्झौतामा सहमति
वासिङटन : अमेरिका र मेक्सिकोबीच महिनौंसम्मको व्यापक छलफलपश्चात् संशोधित स्वतन्त्र व्यापार सम्झौता गर्नेमा सोमबार सहमति भएको छ । दुबै मुलुकका व्यापार प्रतिनिधिहरूले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) को अर्को साझेदार मुलुक क्यानडासँग मंगलबार वार्ता अगाडि बढाएका छन् ।
यसबाट २५ वर्ष पुरानो नाफ्टाको भविष्य भने अनिश्चित भएको छ । क्यानडाका विदेशमन्त्रीले नाफ्टाको पुनरावलोकनमा क्यानडाको हस्ताक्षर अनिवार्य रहेको बताए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिमा नआए क्यानडालाई नयाँ सम्झौतामा समावेश नगरिने बताएका छन् । ट्रम्पले नाफ्टा खारेज गर्ने भन्दै विवादास्पद भनाइ सार्वजनिक गरिरहेका छन् ।
उनी सम्झौताको नाम नै परिवर्तन गर्ने पक्षमा छन् । ‘व्यापारका लागि आजको दिन महत्वपूर्ण छ । दुबै मुलुकबीच साँच्चिकै राम्रो समझदारी भएको छ’, राष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यालय ओभलबाट सम्झौताका बारेमा घोषणा गर्दै भने ।
त्यस अवसरमा राष्ट्रपति ट्रम्पले मेक्सिकोका राष्ट्रपति एनरीक पेना नीतोसँग फोनमा कुरा गरेका थिए । नाफ्टाको दोस्रो संस्करणका रूपमा हेरिएको यस सम्झौतामा सवारीसाधनको व्यापार, कामदारको सुरक्षा र हरेक ५ वर्षमा सम्झौता नवीकरण गर्ने विषय समेटिएका छन् । ती सम्झौताका विषयहरू सार्वजनिक भएसँगै क्यानडाका विदेशमन्त्री एवं व्यापार वार्ताकार क्रिस्टिया फ्रिल्यान्ड वार्तामा सहभागी भएका छन् ।
व्यापार वार्ताकारहरूले नाफ्टालाई अद्यावधिक र पुनर्लेखन गर्न झण्डै एक वर्ष लगाइसकेका छन् । अमेरिका र मेक्सिकोले क्यानडालाई बाहिरै राखेर दुई मुलुकबीचका विवाद सुल्झाउन पहिलो प्रयत्न गरेका थिए । ट्रम्पले नयाँ सम्झौतामा क्यानडालाई छाडेर पनि अघि बढ्न तयार रहेको जानकारी गराएका थिए ।
‘हामीबीच नयाँ सम्झौता हुन सक्छ वा नयाँ सम्झौता पनि हुन सक्छ’, ट्रम्पले भने । उनले क्यानडासँग सवारीसाधन र दुग्धजन्य पदार्धको करका विषयमा कठोर धारणा सार्वजनिक गर्दै आएका छन् । यो नै दुवै छिमेकी राष्ट्रबीचको सबैभन्दा पेचिलो प्रश्न हो ।
मेक्सिकोका अधिकारीहरूले नाफ्टालाई त्रिपक्षीय सम्झौताकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । ‘हाम्रो इच्छा नै यो सम्झौतामा क्यानडा साथमा आओस् भन्ने हो’, मेक्सिकोका राष्ट्रपति पेना नीतोले ट्रम्पलाई भने । पेना नीतोले आफूले यस विषयमा क्यानडाका प्रधानमन्त्रीसँग पनि कुराकानी गरेको जानकारी दिए ।
सोमवार राति नै क्यानडाका प्रधानमन्त्री जस्तिन त्रुदो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अमेरिका र मेक्सिकोबीचको पछिल्लो व्यापार सहमतिका बारेमा कुराकानी भएको छ । ‘प्रधानमन्त्रीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताको सम्बन्धमा रचनात्मक वार्ता भएको छ’, क्यानडाली प्रधानमन्त्रीको कार्यालयले उल्लेख गरेको छ । मेक्सिकोसँगको वार्तामा भएको प्रगतिप्रति दुबै नेताले सन्तोष व्यक्त गरेको र क्यानडासँग अमेरिकाको वार्ता पनि तार्किक निष्कर्षमा पुग्ने त्रुदोले जनाएका छन् ।
क्यानडालाई पनि समेट्न मेक्सिकोको जोड
मेक्सिकोका नवनिर्वाचित राष्ट्रपति आन्देस म्यानुएल लोपेस ओब्रादोरले अमेरिका र क्यानडासँगै त्रिपक्षीय सम्झौता गर्नुपर्नेमा जोड दिएका छन् । अमेरिका र मेक्सिकोबीचको सम्झौता पहिलो कदम भएको पनि उनले चर्चा गरे । ‘क्यानडालाई पनि समावेश गरिनु आवश्यक छ’, वामपन्थी विचारधाराका राष्ट्रपति ओब्रादोरले भने, ‘विगतमा झैं स्वतन्त्र व्यापार सम्झौताकै स्वरूपमा अबको सम्झौता गरिनु आवश्यक छ ।’