इन्टरनेटका कारण परम्परागत मिडिया अप्ठेरोमा

इन्टरनेटका कारण परम्परागत मिडिया अप्ठेरोमा

पेरिस : युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजले बताएका छन् ।

गुगल र फेसबुकजस्ता ठूला इन्टरनेट कम्पनीहरूले परम्परागत मिडियाका सामग्रीहरू निःशुल्क लिएर आफूले विज्ञापनमार्फत राजस्वको ठूलो हिस्सा बटुल्न थालेपछि विज्ञहरूकै भनाइमा गुणस्तरीय पत्रकारिता धर्मसंकटमा पर्न थालेको छ ।

‘यतिमात्र होइन, द्वन्द्वग्रस्त क्षेत्रहरूमा समाचार खोजी गर्नु अत्यन्त खर्चिलो र खतरनाक पनि छ’, युरोपेली फोटोपत्रकारिता समारोह भीसा पोरइमेजका प्रमुख जाँ–फ्रान्को लिरोएले भने । ‘भियतनाम र युगोस्लाभ युद्धको समाचार संकलनका क्रममा धेरै पत्रकारले ज्यान गुमाए, तर पत्रकारहरू द्वन्द्वरत पक्षको वास्तविक निशानामा थिएनन् । अहिले परिस्थिति पूरै फेरिएको छ’, उनले भने ।

आरएसएफ (रिपोर्टर्स विदाउट बोर्डर्स) का अनुसार यही सन् २०१८ मा मात्र ५० जना पत्रकार मारिइसकेका छन् । पत्रकारहरूलाई हत्या गर्ने मात्र होइन, विद्रोही र आपराधिक समूहले उनीहरूबाट फिरौती समेतका लागि अपहरण गरेका थिए । ‘इराक जस्ता द्वन्द्व प्रभावित क्षेत्रमा समाचार संकलन गर्नु अति महँगो हुँदै गएको छ’, लिरोएले भने, ‘सुरक्षा खर्चको अनुमान नै गर्न कठिन भइसक्यो । कुरा मिलाउने बिचौलिया, अंगरक्षक, अनुवादक र ड्राइभर पनि जरुरी हुन्छ ।’

परम्परागत मिडियाको रिपोर्टिङ निकै खर्चिलो भएको उनले चर्चा गरे ।

‘केही वर्षअघि न्युयोर्क टाइम्सले इराकको बगदादमा एउटा समाचार संकलनका लागि १० हजार अमेरिकी डलर (करिब रु. एक लाख १२ हजार) खर्च लाग्ने अनुमान गरेको थियो’, उनले भने । मूलधारका मिडियाको आर्थिक ढाँचा नै ठूला प्रविधि कम्पनीको कोपभाजनमा परेका कारण खोज पत्रकारिता पनि खुम्चिएको वासिङटनस्थित खोज पत्रकारिताको अन्तर्राष्ट्रिय कन्सोर्टियम (आईसीआईजे) का प्रमुख गेरार्ड राइलेले बताए । यो संस्थाले विश्वचर्चित पनामा पेपर्सको घटना भण्डाफोर गरेको थियो ।

राइलेले भने, ‘पत्रकारिता नै जीवनमरणको दोसाँधमा पुगेको छ । यो मृततुल्य हुँदै छ । विज्ञापनको ढाँचाले रिपोर्टिङलाई धानेको थियो र अहिले त्यो भत्किएको छ । मिडियाले त्यस पुरानो कुरालाई पुनर्जीवन दिन सकेका छैनन् ।’ यसबाट व्यापार घटेको र त्यसमा मिडियाको पहिलो तारो खोजमूलक समाचार पर्ने गरेको उनले खुलासा गरे । खोज पत्रकारिता निकै खर्चिलो हुने र समय बढी लाग्ने हुनुका साथै त्यत्तिकै जोखिम भएको पनि उनको कथन छ ।

उनले भने, ‘खोजेको समाचार भेटिन्छ नै भन्ने पनि होइन र कथम् भेटिए यसविरुद्धको कानुनी लडाइँ निकै महँगो हुन्छ । तपाईंले अदालतमा मुद्दा हार्ने सम्भावना पनि त्यतिकै प्रबल हुन्छ किनभने ठूला संस्थाले सत्यलाई ढाकछोप गर्न जति पनि पैसा खर्च गर्न सक्छन् ।’

ज्यादै कम पत्रकारले बढीभन्दा बढी काम गर्नुपर्दा ठूला घटनाक्रम छुट्नु स्वाभाविकै भएको र यो नै लोकतन्त्रका लागि सबैभन्दा ठूलो चिन्ताको विषय भएको राइलेको स्पष्टोक्ति छ । राइलेका अनुसार पनामा पेपर्स अनुसन्धानमा आईसीआईजेले २० लाख अमेरिकी डलर खर्च गर्नुपरेको पनि जानकारी दिए । विश्वभरका ८० मुलुकमा ३ सयभन्दा बढी पत्रकार परिचालन गरेर मात्र पनामा पेपर्सको घटना भण्डाफोर गर्न सम्भव भएको थियो । उनले भने, ‘विश्वमा केही सानो संख्याका पत्रकारले खोज पत्रकारिता धानिरहेकाले उनीहरू धन्यवादका पात्र हुन् ।’ अमेरिकी राष्ट्रपतिले ‘भ्रमपूर्ण समाचार’ (फेक न्युज) को नाममा आमसञ्चारमाथि चुनौती दिइरहेको अवस्थामा विश्वसनीयता निर्माण गर्नुपर्ने चुनौती पनि प्रेसमाथि भएको उनीहरूले जानकारी दिए । एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.