पप्पुले ठेक्का पाएका पुल म्याद सकिँदा पनि अलपत्र

पप्पुले ठेक्का पाएका पुल म्याद सकिँदा पनि अलपत्र

काठमाडौं : संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले ठेक्का पारेका तीन दर्जन पुल अलपत्र अवस्थामा छन्। ठेक्का सम्झौताअनुसार २३ वटा पुल निर्माण गर्नुपर्ने अवधि सकिसकेको छ तर यसमा प्रगति करिब ३५ प्रतिशत मात्र छ।

पप्पुले निर्माण गरिरहेका पुलको संख्या करिब तीन दर्जन छ। राष्ट्रिय राजमार्गमा पप्पुले सडक र पुल गरी ४० वटाको ठेक्का हात पारेर धमाधम काम गरिरहेको छ। पप्पु वा यसले जेभिमा ठेक्का लिएका पुलमध्ये ३३ वटाभन्दा बढी भर्खरै निर्माण सुरु भएकादेखि अन्तिम चरणमा पुगेर रोकिएकासम्म छन्।

यी पुलमध्ये राष्ट्रिय राजमार्गमा निर्माण गरिरहेका सात पुलमध्ये पाँचवटा र स्थानीय सडकमा निर्माण गरेका २६ वटा पुलमध्ये १८ वटाको ठेक्का सम्झौता सकिएको छ। ठेक्का सम्झौता एक वर्ष अघिदेखि गत असार मसान्तसम्म सकिएका यस्ता सडकको भौतिक प्रगति न्यून भएका कारण निर्माण नै अलपत्र छ। सडक विभाग र अन्य निकायले ठेक्का लगाएका यस्ता पुलमा अधिकांश निर्माण अलपत्र रहेको सडक विभागले अन्नपूर्णलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।

विभागका अनुसार पप्पुले हात हालेका अधिकांश पुल अलपत्र अवस्थामै छाडेको पाइएको छ। यो कम्पनीले कालिगण्डकी करिडोरको बेनी– जोमसोङ–कोरला सडक निर्माणको जिम्मादेखि राष्ट्रिय राजमार्गका पुल र राजधानीकै टेकु र तीन कुनेका पुल निर्माणको जिम्मा पाएको छ।

पप्पुले हात हालेका पुल निर्माण नै नगरेको, निर्माण गरेका स्थानमा पनि कमजोर गुणस्तर भएको, आधा निर्माण गरेर अलपत्र छाडेको तथा कामै सुरु नगरेको अवस्थामा छन्। नेपालको पुल निर्माणमा वर्चश्व कायम गरेको यो कम्पनीले हात हालेका अधिकांश पुल र सडक समयमा नसक्ने, काम गरेका अयोजनामा पनि गुणस्तरमै प्रश्न लाग्ने र कमजोर काम गरेकै कारण क्षतिसमेत भएको सडक विभागको पुल महाशाखा प्रमुख अर्जुन थापाले जानकारी दिए।

पप्पु कन्स्ट्रक्सनले ढिलासुस्ती गरेको पछिल्लो उदाहरण तीन कुनेमा निर्धाणाधीन बागमती पुल पनि हो। ‘काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ४२ महिना अघि अर्थात् २०७१ पुसमा ठेक्का लगाएको यो पुलको गत असार मसान्तमा निर्माण गर्नुपर्ने थियो। तर, यो पुल निर्माण गरिसक्नुपर्ने समयमा २० प्रतिशत पनि काम नभएको र म्याद पनि थप नभएका कारण अलपत्र अवस्थामै रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले जानकारी दिए।

पप्पुले तोकिएको समयमा काम नगर्ने, राजनीतिक आडमा काममा ढिलासुस्ती गर्ने र धेरैवटा काम हातमा लिएका कारण एकपछि अर्को अलपत्र हुँदै जाने गरेको अवस्था देखिएको श्रेष्ठको बुझाइ छ। यो कम्पनीले विभिन्न बहाना बनाएर समय थप गर्दै जाने र वर्षौसम्म काम नगर्ने कम्पनीको रूपमा पनि चिनिएको छ।

पप्पु वा यसले जेभिमा ठेक्का लिएका पुलमध्ये ३३ वटाभन्दा बढी भर्खरै निर्माण सुरु भएकादेखि अन्तिम चरणमा पुगेर रोकिएकासम्म छन्।

नेपालकै पहिलो नेटवर्क आर्क ब्रिजका रूपमा ठेक्का लागेको बागमती खोला (तीन कुने) पुल निर्माण आरम्भ गर्दा साइट पहिले क्लियर नभएको भन्दै काम ढिलो गरेको थियो। आफैले डिजाइन गर्ने र निर्माण पनि गर्ने जिम्मा पाएको यो पुल सुरु गर्ने समय लागेको भन्दै पप्पु पन्छिने गरेको छ। २१ करोड रुपैयाँमा ठेक्का लागेको यो पुलमा देखाउन लायक काम ४२ महिनाको समय सकिँदा पनि भएको छैन।

यो पुल निर्माणमा सडक विभागले हालसम्म समय थप गरेको छैन। पुल निर्माण अलपत्र भएको र समय थप गर्नुको विकल्प नरहेको भन्दै फाइल उठाएको विभागले जानकारी दिएको छ। विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठले भने यो पुल बनाउने समय थपको विषयमा कुनै जानकारी नभएको बताए। सम्बन्धित आयोजनाबाट फाइल नआएकाले निर्णय भइनसकेको जानकारी श्रेष्ठले दिए।

आयोजनाले ठेक्का लगाएको नेटवर्क आर्क ब्रिजकै रूपमा बिजुलीबजार अगाडिको धोवीखोला पुलमा अर्काे कम्पनी जेई कन्ट्रक्सनले जिम्मा पाएको पुलको भने करिब ५० प्रतिशत निर्माण भएको छ। यो पुल निर्माण पनि गत पुसमै सक्नुपर्नेमा सरकारले एक वर्षको समय थपेर काम लगाएको सुधार आयोजनाका श्रेष्ठले जानकारी दिए। १३ करोड १३ लाखमा ठेक्का लागेको यो पुल पप्पुको तुलनामा सन्तोषजनक काम भएको छ।

टेकु पुलमा पनि पप्पुको बदमासी

सडक विभागको काठमाडौं दिगो सहरी यातायात आयोजनाले २०७१ को असारमा ठेक्का लगाएको टेकु–डल्लु पुल बनाउने जिम्मा पप्पुले नै पाएको छ। यो पुल निर्माण पूरा भएको भनेर सवारी चलाउन थालिएको भए पनि आयोजनाले भने अलपत्र छाडेको दाबी गरेको छ। आयोजनाका तत्कालीन इन्जिनियर लालबहादुर नेपालीले अन्नपूर्णसँग भने, ‘यो आयोजना खारेजीमा परेको छ। डिभिजन सडक कार्यालय मिनभवनमा मर्ज भएको आयोजनाले ठेक्का लगाएको पुल पप्पुले नै बनाएको हो। तर, यो पुल न हस्तान्तरण भएको छ न तोकिएको मापदण्डमा नै बनेको छ। नेपालीका अनुसार सवारी नचलाउन ट्राफिक प्रहरीलाई पत्र नै लेखिएको यो पुलमा हाल सवारी चलिरहेको छ, रोक लागेको छैन।

पप्पुले २० करोड २३ लाख रुपैयाँमा ठेक्का पाएका यी दुई पुलमध्ये डल्लु पैदलयात्रु पुल हो। यो पुल निर्माण सकिएको भए पनि एउटै प्याकेजमा परेको टेकु कालिमाटी जोड्ने विष्णुमती खोला पुल अलपत्र पारेकाले भुक्तानी दुई करोड रुपैयाँको भुक्तानी माग भए पनि निकास नभएको उल्लेख छ।

पप्पुले भने आफ्नोतर्फबाट काम सकिसकेको र भुक्तानी लिन मात्रै बाँकी रहको भन्दै पछिल्लो समय दुई करोडको बिल पेस गरको छ। यसले विभिन्न चरणमा गरेर १३ करोड पाइसकेको भए पनि पुल निर्माण नै अलपत्र पारेकाले बाँकी भुक्तानी पाएको छैन। यो पुल निर्माणको ठेक्का लगाउने आयोजना भने गत साउन १ गतेबाट खारेजीमा परेको छ।

पप्पुले बनाएको टेकुको ६२ मिटरको यो पुलको बीच भागमा कम गुणस्तरको निर्माण सामग्री प्रयोग गरेको, आयोजनाको निर्देशन अटेर गरेको, जानकारी र अनुमति बिना काम गरेको उल्लेख छ। पुल डिजाइन तथा निरीक्षण गर्ने परामर्शदाताको कुनै पनि आग्रह वा निर्देशन पालना नगर्दा पुल कमजोर भएको दाबी दिगो सहरी विकास अयोजनाका अधिकारीको छ। आयोजनाका अधिकारीका अनुसार इन्जिनियरिङ भाषामा पप्पुको यो विष्णुमती पुलको बीचभाग जतिबेला पनि झर्न सक्छ। पप्पु कन्स्ट्रक्सनले गरेका काम र यसका अलपत्र पुलको सम्बन्धमा अन्नपूर्णले पटकपटक प्रयास गरेको भए पनि सम्पर्क हुन सकेन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.