एक सर्जनको भरमा अञ्चल अस्पताल
जनकपुरधाम : वार्षिक डेढ लाखभन्दा बढी बिरामी उपचारका लागि आउने जनकपुर अञ्चल अस्पताल एक सर्जनको भरमा चलिरहेको छ । अस्पतालमा वर्षौंदेखि दरबन्दीअनुसारका चिकित्सकहरूको पदपूर्ति हुन नसक्दा बिरामीहरूले निकै सास्ती भोग्नुपरेको र महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा उपचार गराउनुपर्ने बाध्यता छ ।
सरकारबाट सय बेडको अनुमति प्राप्त गरेको र सोहीअनुसार अनुदान पनि लिइरहेको अञ्चल अस्पतालमा अस्पताल विकास समितिको तर्फबाट १ सय १५ बेड थप गरी जम्मा ३ सय १५ बेडबाट सेवा प्रदान हुँदै आएको छ । तर बिरामीको चाप अत्यधिक भएपछि पर्याप्त चिकित्सक अभावले गुणस्तरीय सेवा सञ्चालनमा निकै कठिनाइ भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरीक्षण यादवले बताए ।
सरकारबाट अनुमति प्राप्त सय बेडमा प्रथम, द्वितीय र तृतीय श्रेणी गरी जम्मा ४७ जना चिकित्सकहरूको दरबन्दी भए पनि नौ जना मात्र अस्पतालमा हाजिर हुने गरेका छन् । जसमा एक जना प्रथम श्रेणीका सर्जन डा. नागेन्द्रप्रसाद यादवलाई मन्त्रालयबाट अञ्चल अस्पतालमा हाजिर गराइए पनि उनलाई काज सरुवा गरी सिरहा जिल्ला अस्पतालमा प्रमुखको रूपमा खटाइएको छ । मन्त्रालयबाट यसरी भएका एक सर्जनलाई समेत काज सरुवाका नाममा अन्यत्र पठाइएपछि विकास समितिमार्फत नियुक्त गरिएका मेडिकल अधिकृत र सर्जन राकेश साहको भरमा अस्पतालको सर्जरी विभाग सञ्चालित रहेको सुपरिटेन्डेन्ट यादवले बताए ।
विकास समितिले थप गरेको एक सय १५ बेड सञ्चालनका लागि १७ जना मेडिकल अधिकृत भर्ना गरिएका छन् । जसमा केहीले आफ्नो अध्ययनमा विशेषज्ञता हासिल गरेपछि उनीहरूबाटै अस्पतालका सेवा जेनतेन सञ्चालन भइरहेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट यादव भन्छन्, ‘यही ठाउँबाट पढेलेखेका चिकित्सकहरू पनि जनकपुर फर्केर आउन चाहँदैनन् । सबै जना विदेश जान चाहन्छन् । अञ्चल अस्पतालमा अत्यधिक चाप भएकाले काम पनि बढी गर्नुपर्ने हुन्छ । कारण चिकित्सकहरू पनि यहाँ आउन मान्दैनन् ।’ अझ सबैभन्दा प्रमुख कारणको रूपमा अस्पतालमै कार्यरत केही स्थानीय चिकित्सकले क्लिनिकसमेत राम्ररी चलिरहोस भन्ने उद्देश्यले बाहिरका चिकित्सकलाई अस्पतालमा टिक्नै नदिने प्रवृत्तिले दरबन्दी पूर्ति हुन नसकेको पनि बताइएको छ ।
अस्पतालमा प्रथम श्रेणीका एक जना मात्र चिकित्सक प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरीक्षण यादव रहेका छन् । बाँकी प्रमुख कन्सल्टेन्ट एब्स्टेट्रिसियन एन्ड प्रमुख गाइनोकोलोजिस्ट, प्रमुख पेडियाट्रिसियन, प्रमुख जनरल फिजिसियन, प्रमुख जनरल सर्जन, प्रमुख ईएनटी सर्जन, प्रमुख एनेस्थेसियोलोजिस्ट, प्रमुख रेडियोलोजिस्ट, प्रमुख आर्थोपेडिक सर्जन, प्रमुख नर्सिङ प्रशासक, वरिष्ठ प्याथोलोजिस्ट, वरिष्ठ एनेस्थेसियोलोजिस्ट, वरिष्ठ अर्थोपेडिक सर्जन, वरिष्ठ रेडियोलोजिस्ट, वरिष्ठ डेन्टल सर्जन, जनरल फिजिसियन, वरिष्ठ डर्माटोलोजिस्टलगायत कर्मचारीको पद रिक्त छ ।
चिकित्सक, नर्सिङ स्टाफ, हाउस किपर, अनमी, प्रशासकीय कर्मचारीलगायत जम्मा १ सय ३८ जनाको दरबन्दी अञ्चल अस्पतालमा भए पनि त्यसमध्ये ६७ जनाको पद रिक्त छ ।
गत आर्थिक वर्षको तथ्यांकअनुसार अस्पतालबाट प्रसूति सेवा लिनेको संख्या १० हजार १ सय ९८ रहेको थियो, ओपीडी सेवा लिने ७५ हजार ७ सय ७६ बिरामी र इमरजेन्सी वार्डबाट २४ हजार १ सय २५ जना बिरामीले सेवा लिएका थिए ।