रजतका लागि २० वर्ष
जकार्ता (इन्डोनेसिया) : प्रतियोगिताको उत्तराद्र्धतिर पुगिसक्दा पनि आफ्ना खेलाडीले एकपछि अर्को पराजय ब्यहोर्दै आएपछि निरास बनेको नेपाली टोलीलाई १८औं एसियाली खेलकुदको १२औं दिन बुधबार प्याराग्लाइडिङ खेलाडीले गतिलै खुशी दिएका छन् ।
जारी एसियाडबाट रित्तो हात घर फर्कनु पर्ने आशंकाबीच बुधबार प्याराग्लाइडिङ खेलाडीले नेपाललाई पदकको खडेरीबाट मुक्त बनाएका हुन् । अघिल्लो दिन नै सफलताको निकै नजिक पुगेका नेपाली खेलाडीले पुरुष टिम क्रसकन्ट्री स्पर्धामा रजत पदक जिते ।
स्वर्ण पदकको निकै नजिक पुगेको नेपाली टोली अन्तिम समयमा आएर जापानसँग केवल २७ अंकले चुकेपछि रजत पदकमा चित्त बुझाउन बाध्य भयो । यद्दपि, एसियाली खेलकुदमा यही रजत पदक जित्न पनि नेपालले २० वर्ष लामो प्रतिक्षा गर्नु पर्यो ।
नेपालले एसियाली खेलकुदमा जितेको यो दोस्रो ऐतिहासिक रजत पदक हो । यसअघि सन् १९९८ मा थाइल्यान्डको राजधानी बैंककमा भएको एसियाली खेलकुदमा नेपालका लागि तेक्वान्दो खेलाडी सविता राजभण्डारीले पहिलो पटक रजत पदक जितेकी थिइन् ।
यसैगरी आफ्नो एसियाली खेलकुदको इतिहासमा आफ्नो पहिलो सहभागितामै प्याराग्लाइडिङ खेल नेपाललाई पदक दिलाउने चौथो खेल बन्न पुगेको छ । यसअघि एसियाली खेलकुदमा नेपालका लागि तेक्वान्दोले एक रजत र १३ कांश्य, बक्सिङले ६ कांश्य र कराँतेले तीन कांश्य पदक जितेका छन् ।
प्रतियोगिताको पहिलो चरणमा नेपाल तेस्रो स्थानमा थियो । दोस्रो चरणको खेल सकिँदा पनि नेपाली टोलीले आफूलाई तेस्रो स्थानमा यथावत राखेको थियो । यसैगरी सोमबार तेस्रो चरणको खेल सकिँदा नेपाल चौथो स्थानमा झरेको थियो । अघिल्लो दिन मंगलबार चौथो चरणको खेल सकिँदा भने नेपाली टोली उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थानमा उक्लिएको थियो ।
चौथो चरणको खेल सकिँदा जापान पहिलो, दक्षिण कोरिया तेस्रो, आयोजक राष्ट्र इन्डोनेसिया चौथो र मलेसिया पाँचौं स्थानमा थिए । तर, नेपालले तेस्रो स्थानमा रहेको कोरिया र चौथो स्थानमा आसिन इन्डोनेसियासँग ठूलो अन्तरको अग्रता लिएको थियो ।
तर, मंगलबार जीपीएस प्रणालीमा समस्या आएको कारण देखाउँदै अचानक इन्डोनेसियाको ६ सय २४ अंक बढाइएपछि नेपाली टोली पनि दबाबमा परेको थियो । आयोजक इन्डोनेसियाको अंक बढाइएका कारण बिबाद बढेपछि बुधबार पाँचौं चरणको खेल पनि निकै ढिलो सुरु भएको थियो । उक्त निर्णयको विरोधमा दक्षिण कोरियाले प्रोटेस्ट पनि हालेको थियो । दक्षिण कोरियाको प्रोटेस्टमा नेपाललगातका राष्ट्रले समेत सहमति जनाएका कारण बुधबार लामो समय विवाद सृजना भएको थियो ।
‘इन्डोनेसियाको अंक बढाइएपछि हामी पनि दबाबमा आयौं । अंक नबढाएको भए हामीले सजिलै कम्तिमा कांश्य पदक जित्ने सम्भावना थियो । यस्तो स्थितिमा हामी बुधबार स्वर्ण पदकका लागि भिडन्त गर्ने थियौं । तर, अचानक इन्डोनेसियाको अंक बढाइएपछि जुनसुकै भए पनि पदक जित्नै पर्ने दबाबका कारण हामीले स्वतन्त्र भएर स्वर्ण पदकका लागि भिडन्त गर्न सकेनौं’, नेपाली टोलीका ब्यवस्थापक शैलेन्द्र रावत भन्छन् ।
यसदेखि वाहेक बुधबार पाँचौं चरणको खेलमा नेपालका पाँचमध्ये तीनजना खेलाडीले मात्र ‘गोल’ (दिइएको लक्ष्य) पूरा गर्न सके । विजय गौतम, युकेश गुरुङ र विशाल थापाले ‘गोल’ गरे भने टोलीका कप्तानसमेत रहेका विमल अधिकारी र सुशिल गुरुङले दिइएको लक्ष्य हुबहु पूरा गर्न सकेनन् । बाँकी दुई खेलाडी विमल र सुशिलले पनि लक्ष्य पूरा गर्न सकेको भए नेपालले जापानलाई ठूलो अन्तरले पछि पार्दै स्वर्ण पदक जित्ने पक्का थियो ।
‘हामीले नेपालको भन्दा नितान्त फरक परिवेशमा खेल्नु पर्यो । प्याराग्लाइडिङका लागि यो ठाउँ खासै उपयुक्त होइन । त्यसमाथि यहाँको मौसमले पनि हामीलाई अप्ठ्यारो पार्यो’, नेपाली टोलीका कप्तान विमलको भनाई छ । विमलसँगै नेपाली टोलीका अन्य खेलाडीको धारणा पनि यस्तै छ ।
यद्दपि, पाँचौं तथा अन्तिम चरणको खेलमा सहभागी १० वटै टोलमध्ये नेपालले नै सबैभन्दा बढी अंक ल्याएको थियो । पाँचौं चरणमा नेपालले कूल दुई हजार सात सय ९७ अंक ल्यायो भने इन्डोनेसियाले दुई हजार ६ सय ३२ अंक बटुल्यो ।
जापानले भने पाँचौं चरणमा दुई हजार ५७ अंकमात्र जोड्न सकेको थियो । तर, अघिल्ला चार चरणको अंकलाई समेत जोड्दा नेपाली टोली जापानसँग झिनो अन्तरले पछाडि पर्न पुग्यो । उक्त स्पर्धामा आयोजक इन्डोनेसिया तेस्रो भयो ।
यसैगरी महिलातर्फ दक्षिण कोरिया पहिलो, जापान दोस्रो र इन्डोनेसिया तेस्रो भए । महिलातर्फ नेपाल छैटौं स्थानमा रह्यो । नेपाली महिला टोली पहिलो चरणमा चौथो, दोस्रो चरणमा तेस्रो, तेस्रो चरणमा छैटौं र चौथो चरणमा पनि छैटौं स्थानमा थियो । १० वटै टोली सहभागिता रहेको महिलातर्फ प्रतिभा भुजेल, तृषा तामाङ र सविता तामाङले नेपालको प्रतिनिधित्व गरेका थिए ।
नेपाली टोलीका प्रशिक्षक योगेश भट्टराईले छोटो समयको तयारीका बावजुद नेपालले पहिलो सहभागितामै रजत पदक जित्दा खेलाडीको उत्साह निकै बढेको प्रतिक्रिया दिए । ‘हाम्रो यो जितले भविष्यमा नेपालका प्याराग्लाइडिङ नतिजामुख खेल बन्न सक्छ भन्ने सन्देश दिएको छ । सरकारले पनि अब साहसिक खेलको विकासमा बढी ध्यान केन्द्रित गर्नु आवश्यक छ’, उनले भने । नेपाली खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पुरस्कार वितरण गरे ।
पोखरेली ठिटोको चर्चा
प्रतियोगितामा नेपालले रजत पदक जितेपछि १७ वर्षीय पोखरेली किशोर युकेश गुरुङ चर्चाको विषय बन्न पुगे । नेपाली समथर्कमाझ मात्र नभई उनी आफ्नो उत्कृष्ट प्रदर्शनका कारण विदेशी खेलाडी र सञ्चारकर्मीको प्रशस्तै प्रशंसा बटुल्न पनि सफल भए ।
नेपाललाई उपाधिसम्म डोर्याउन पनि उनको भूमिका महत्वपूर्ण रह्यो । यसै वर्ष एसईई परीक्षा उत्तिर्ण भएका युकेशले पाँच चरणको खेलमध्ये चार चरणमा दिइएको लक्ष्य जस्ताको त्यस्तै पूरा गरेर नेपाली टोलीको अंक बढाएका थिए ।
जारी प्रतियोगितामा यस्तो सफलता हात पार्ने उनी एकमात्र नेपाली खेलाडी हुन् । उनकै स्तरीय प्रदर्शनका कारण नेपालले अंकका लागि कुनै पनि चरणमा ठूलो दबाब झेल्नु परेन । पोखरा महानगरपालिका वडा नम्बर १८ घर भएका युकेशले पहिलो सहभागितामै राष्ट्रका लागि एसियाली खेलकुदमा पदक दिलाउन पाउँदा गौरव लागेको बताए ।
युकेशका पिता भुपालसिंह गुरुङ पनि प्याराग्लाइडिङका पाइलट हुन् । सायद त्यसैले होला, सानै उमेरदेखि युकेशलाई पनि प्याराग्लाइडिङले लोभ्यायो । ‘म सानै उमेरदेखि प्याराग्लाइडिङ भनेपछि हुरुक्कै हुन्थें । नौ वर्षको उमेरमै म प्याराग्लाइडिङमा रमाउने भइसकेको थिएँ’, युकेश भन्छन्, ‘उमेर सानो भएकाले घरमा मलाई प्याराग्लाइडिङ गर्ने अनुमति थिएन तर, सबैको आँखा छलेर म आफ्नो रहर पूरा गरेरै छाड्थेँ ।’
उनले सन् २०१२ देखि प्याराग्लाइडिङमा प्रतिस्पर्धा गर्न लागेका हुन् । एसियाली खेलकुदमा रजत पदक जित्नु आफ्ना लागि निकै ठूलो उपलब्धि भएको उनी बताउँछन् । ‘एक दिन विदेशी भूमिमा राष्ट्रको प्रतिनिधित्व गर्दै पदक जित्छु भन्ने मैले कल्पनासम्म गरेको थिइन’, उनी भन्छन्, ‘यो जितले भविष्यमा अझ राम्रो प्रदर्शन गर्न निकै हौसला बढाएको छ ।’
युकेशले यो जित आफ्नो देशसँग पिताप्रति पनि समर्पित गरेका छन् । ‘यो जित सबैभन्दा पहिले म मेरो देशप्रति समर्पित गर्न चाहन्छु । मेरो यो सफलतामा बुवाको पनि निकै ठूलो योगदान छ त्यसैले उहाँलाई पनि यो जितको हिस्सेदार बनाउन चाहन्छु’, युकेश भन्छन् ।
उनी भविष्यमा पनि प्याराग्लाइडिङ खेलले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक जित्न सक्ने पर्याप्त सम्भावना रहेको बताउँछन् । ‘सरकारले पनि आफ्नो परिवेश अनुसारको सम्भावना बोकेको खेलमा लगानी गर्नु पर्छ । सरकारको सहयोग रहने हो भने भविष्यमा यो खेलबाट हामीले थुप्रै पदक भित्र्याउने सम्भावना छ’, युकेशको बुझाई छ ।
प्याराग्लाइडिङकी महिला खेलाडी प्रतिभा भुजेल पनि युकेश भविष्यको प्रतिभाशाली खेलाडी भएको बताउँछिन् । ‘युकेशलाई म सानैदेखि चिन्छु । उ बहुमुखी प्रतिभा भएको किशोर हो । उपयुक्त वातावरण र प्रशिक्षण पाउन सक्यो भने युकेशबाट भविष्यमा अझ स्तरीय प्रदर्शनको आशा गर्न सकिन्छ’, प्रतिमा भन्छिन् । युकेशको घरमा आमा, बुवा, एक दिदी र एक बहिनी छन् । प्याराग्लाइडिङमा सहभागी अधिकांश खेलाडी पोखराकै छन् ।
पदकपछि मधुकरको सम्झना
१८औं एसियाली खेलकुदका लागि वैशाख २३ गतेदेखि पोखरामा प्याराग्लाइडिङको प्रशिक्षण सुरु गरिएको थियो । समय समयमा काठमाडौंमा आयोजना हुने एसियाली खेलकुदको तयारीको समिक्षा बैठक पनि भइरहन्थ्यो ।
राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसँगको यस्तै बैठकमा सहभागी भएर वैशाख २३ गते प्याराग्लाइडिङका तीनजना पदाधिकारी निजी कारमा काठमाडौंबाट पोखरा जाँदै थिए, प्रशिक्षण कार्यक्रममा सहभागी हुन् ।
तर, शैलेन्द्र रावत, प्रशिक्षक सानुबाबु सुनुवार र नेपाल प्याराग्लाइडिङ संघका कोषाध्यक्ष मधुकर सुवेदी चढेको कार धादिङको गुजरी नजिक घाटबेसीमा दुर्घटनामा पर्यो । एउटा ट्रकलाई साइड दिने क्रममा कार सडकबाट सिधै त्रिशुली नदीमा खस्यो ।
कार नदीमा डबे पनि तीनैजनाले त्यहाँबाट निस्कने सक्दो प्रयास गरे । सास छउन्जेल आश रहन्छ भनेझैं अन्नतः शैलेन्द्र र सानुबाबु कारको सिसा फोडेर त्रिशुली नदीबाट बाहिर निस्कन सफल भए । तर, कोषाध्यक्ष मधुकर भने त्यति भाग्यमानी सावित हुन सकेनन् ।
सोही दुर्घटनामा परी उनको निधन भयो । उक्त दुर्घटनाबाट जोगिएका शैलेन्द्र अहिले इन्डोनेसियामा जारी एसियाली खेलकुदमा नेपाली प्याराग्लाइडिङ टोलीका ब्यवस्थापक छन् । एसियाली खेलकुदमा पहिलो सहभागितामै प्याराग्लाइडिङले रजत पदक जितेपछि यतिबेला शैलेन्द्रसँगै धेरै खेल पदाधिकारीले मधुकरलाई सम्झिएका छन् ।
‘उहाँ प्याराग्लाइडिङकै प्रशिक्षणमा सहभागी हुन पोखरा जाँदै हुनुहुन्थ्यो । एसियाली खेलकुदमा टोलीले पदक जितेको हेर्ने उहाँको ठूलो चाहना थियो । आज उहाँको सपना साकार भएको छ तर, त्यो हेर्न उहाँ हामीबीच हुनुहुन्न’, शैलेन्द्र भन्छन्, ‘आजको हाम्रो यो जित उहाँप्रति सच्चा श्रद्धाञ्जलि पनि हो ।’
जुडोमा कमजोर प्रदर्शन
१८औं एसियाली खेलकुदमा जुडोको स्पर्धा बुधबारदेखि सुरु भएको छ । पहिलो दिन भएको खेलमा नेपालका दुवैजना खेलाडी पराजित भएका छन् । पुरुषतर्फको ६६ केजीभन्दा मुनिको तौलसमूहमा नेपालका इन्द्रबहादुर श्रेष्ठ उत्तर कोरियाका खेलाडीसँग पराजित भए ।
इन्द्रलाई उत्तर कोरियाका किम ह्युन उनले पराजित गरे । महिला ५२ केजीमुनिको तौलसमूहमा पनि नेपाली खेलाडी देविका खड्का पराजित भइन् । उनलाई जापानी खेलाडी सुनोदा नात्सुमीले पराजित गरिन् ।
यसैगरी सेपाकताक्रोको प्रारम्भिक चरणमा सिंगापुरले नेपाललाई २—० ले हरायो । टेबुलटेनिसमा भने नेपालले मि िश्रत नतिजा निकाल्यो । टेबुलटेनिसको मिक्स डबल्स स्पर्धामा नेपालका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडीले पहिलो खेलमा मंगोलियन खेलाडीलाई १३—११, ११—७, ११—९ ले हराए ।
दोस्रो खेलमा भने स्यान्टु र नविताको जोडी चिनियाँ खेलाडीसँग पराजित भए । यसैगरी मिक्स डबल्सतर्फ नै नेपालका अमरलाल मल्ल र स्वेच्छा नेम्वाङको जोडीले कतारका खेलाडीलाई ८—११, ७—११, ११—५, ११—६, ११—४ ले हराए । दोस्रो खेलमा उनीहरु हङकङका खेलाडीसँग पराजित भए । स्क्वासको पुरुष टिम स्पर्धामा फिलिपिन्सले नेपाललाई ३—० ले हरायो ।००००
रजत पदक लिएपछि सामूहिक तस्बिर खिचाउँदै नेपाली प्याराग्लाइडिङ खेलाडी । सौजन्य ः लोकेन्द्रकुमार बस्नेत÷राखेप