प्रदेश सभा अगाडि सामाजिक परिचालकमाथि धरपकड
जनकपुरधाम : विभिन्न माग राख्दै २ नम्बर प्रदेश सभा जाने बाटो छेकेर बसेका सामाजिक परिचालकमाथि प्रहरीले धरपकड गरेको छ ।
आफ्नो माग सम्बोधन गर्न माग गर्दै प्रदेशसभाको कार्यालय अगाडि प्रदर्शनमा उत्रिँदै बाटो छेकेर बसेका सामाजिक परिचालकमाथि प्रहरीले धरपकड गरेको हो । धरपकडपछि दुई पक्षबीच झडपसमेत भएको छ ।
प्रहरीले धरपकड गरेर करिब २० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । बिहीबार प्रदेश सभाको भवन जाने बाटो छेकेर नाराबाजी गरिरहेका उनीहरुमाथि धरपकड गर्दा तनाव भएको हो । धर्नामा प्रदेश नम्बर २ का विभिन्न जिल्लाका सामाजिक परिचालक सहभागी छन् ।
प्रदेश सभा जाने बाटो नै बन्द हुने गरी प्रर्दशनमा उत्रिएपछि उनीहरुलाई धरपकड गर्नुपरेको प्रहरीको भनाइ छ । स्थानीय निकायमा कार्यालय सहायकको रुपमा कार्यरत परिचालक पद गत असार महिनाबाट सरकारले खारेज गर्ने निर्णय गरेपछि उनीहरु आन्दोलित भएका हुन्।
माग पूरा हुने आश्वासन दिए पनि अहिले कुनै चासो नदेखाएपछि आन्दोलन गर्न बाध्य भएको सामाजिक परिचालक संघर्ष समितिका अध्यक्ष शिवशंकर मेहताले बताएका छन् ।