आचार्यको उपन्यास ‘अप्रिल फुल’मा ‘ककटेल’को स्वाद
काठमाडौं : लेखक एवम् पत्रकार कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ भदौ २३ गते सार्वजनिक हुने भएको छ । यो उपन्यास किशोर-किशोरीको प्रेममा आधारित छ ।
लेखक आचार्यले उपन्यासमार्फत आफूले ‘ककटेल’को स्वाद पस्कन खोजेको बताएका छन् । ‘उपन्यासले सिंगो जीवन चित्रण गरेकाले यो विभिन्न घटना, परिघटना, विषय तथा सन्दर्भको मिश्रण हो’ लेखक भन्छन्, ‘उपन्यासको कुनै पात्रमा या कथामा जो-कोहीले पनि आफू र आफ्नो सामाजिक परिवेश महसुस गर्नेछन् ।’
उपन्यासमा प्रेमलाई विभिन्न उप-कथामार्फत चित्रण गर्न खोजिएको छ । प्रेमले खुसीसँगै कसरी पीडा पनि दिन्छ भन्ने कुरा उपन्यासमार्फत् बुझ्न सकिन्छ । सरल भाषा, शैली र रोचक कथाबस्तु भएका कारण पाठकले उपन्यास रुचाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।
विभिन्न सञ्चारमाध्यममा कथाहरु लेख्दै आएका आचार्य विगत एक दशकदेखि पत्रकारिता गर्दै आइरहेका छन् । नयाँ पत्रिका दैनिकमा उप-सम्पादकको रुपमा कार्यरत आचार्यको उपन्यास यूरिका पब्लिकेशनले बजारमा ल्याउँदैछ ।