एसिया कपमा नेपाललाई मुस्किल
काठमाडौं : लगातार दुई खेलमा पराजय बेहोरेपछि अर्काे महिना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कप खेल्ने नेपालको सम्भावना मुस्किल देखिएको छ। नेपाल बिहीबार भएको खेलमा संयुक्त अरब इमिरेट् (यूएई) सँग ७८ रनको भारी अन्तरले पराजित हुन पुग्यो।
यससँगै भारत र पाकिस्तानका सिनियर राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्ने नेपालको योजना पनि मुस्किल देखिएको छ। आफ्नो पहिलो खेलमा बुधबार ओमानसँग सात विकेटले पराजित भएको नेपाललाई छनोट सम्भावना सहज बनाइराख्न मलेसियामा जारी छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बिहीबार यूएईलाई पराजित गर्नुपर्ने बाध्यता रहेको थियो।
अब नेपाललाई छनोट प्रतियोगिताको फाइनल खेल्दै एसिया कपको छनोट पक्का गर्न बाँकी रहेको आफ्नो सबै खेलमा जित हात पारेर मात्रै पनि पुग्ने छैन, अन्य टोलीको खेलमा पनि निर्भर पर्नु पर्नेछ। राउन्ड रोबिन लिगमा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेलेपछि विजेता एक टोली आगामी सेप्टेम्बरको १५ देखि ३० तारिखसम्म यूएईमा हुने एसिया कपमा छनोट हुनेछन्।
मलेसियाको किनारा ओभल एकेडेमीमा भएको खेलमा बलिङतर्फ सन्तोषजनक प्रदर्शन गरे पनि ब्याटिङतर्फ कमजोर प्रदर्शन गर्दा नेपाल पराजित हुन पुग्यो। टस हारी पहिले फिल्डिङको निर्णय गरेको नेपालले यूएईलाई निर्धारित ५० ओभरमा नौ विकेट लिँदै दुई सय ५४ रनको योगफलमा रोकेको थियो। जवाफी ब्याटिङमा आएको नेपाल ४८.५ ओभरमा एक सय ७६ रनमै समेटिए पछि भारी अन्तरको पराजय बेहोर्न बाध्य भएको हो।
नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेलले ५० रनको अर्धशतकीय योगदान दिए। एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा आफ्नो पहिलो अर्धशतक प्रहार गरेका सुवासले ९७ बल खेल्दै एक छक्का र दुई चौका प्रहार गरेका थिए। त्यसपछि दीपेन्द्रसिंह ऐरीले ४० रन तथा सोमपाल कामीले अविजित २७ रन जोड्दा अन्य नेपाली खेलाडी सस्तो योगफलमै आउट हुन पुगेका थिए। आफ्नो पालीमा ३२ बल खेलेका सोमपालले एक÷एक छक्का र चौका प्रहार गरेका थिए।
नेपालले खेलको सुरुवातबाटै विकेट गुमाउन सुरु गरेको थियो। खेलको पहिलो ओभरमै प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल चार रनमा आउट भए। सुरुवाती चार बलमा पहिलो विकेट गुमाउँदा नेपालको खातामा मात्र चार रन थियो। त्यसपछि कप्तान पारस खड्का १६ रन जोड्दा अहमेद राजाको बलमा विकेट किपर अब्दुल सकुरद्वारा कट बिहाइन्ड भए। पारस आउट भएलगत्तै अघिल्लो दिन ओमानविरुद्ध ८३ रनको आकर्षक पाली खेलेका सागर पुन पनि मात्र तीन रन जोड्दा आउट भएपछि नेपालले ठूलो झड्का बेहोरेको थियो। त्यसबेलासम्म नेपालले तीन महत्वपूर्ण विकेट गुमाउँदा खातामा मात्र ४३ रन थियो।
त्यसपछि सुवास र दीपेन्द्रले चौथो विकेटका लागि ५८ रनको साझेदारी गर्दै नेपालको योगफल एक सय (१०१ रन) कटाएका थिए। यद्यपि उनीहरूको जोडी टुटेपछि फेरि नेपालको खातामा रन जोडिन रोकिएको थियो। आरिफ शेख तीन, रोहितकुमार पौडेल नौ, वसन्त रेग्मी १२ तथा सन्दीप लामिछाने दुई रनमा आउट हुँदा करण केसीले कुनै पनि रन जोड्न सकेनन्।
यूएईका अहमेद राजा एक्लैले चार तथा मोहम्मद नाभिदले तीन विकेट लिँदा नेपाली ब्याट्सम्यान एकपछि अर्काे गर्दै आउट भएका थिए। त्यसअघि सन्दीप लामिछाने एक्लैले चार विकेट लिँदा नेपालले पनि यूएईलाई मध्यम योगफलमा रोकेको थियो। किफायती बलिङ गरेका सन्दीपले १० ओभरमा दुई मेडन निकाल्दै २४ रन खर्चिएका थिए। उनीबाहेक वसन्त रेग्मी र सोमपाल कामीले पनि दुई÷दुई विकेट लिएका थिए।
यूएईका लागि प्रारम्भिक ब्याट्सम्यान चिराग सुरीले ६५ तथा अद्नान् मुफ्तीले ५७ रनको अर्धशतकीय योगदान दिएका थिए। यस्तै अस्फाक अहमेदले थप ४५ रन जोडेका थिए। प्रतियोगितामा यूएईको यो लगातार दोस्रो जित हो। बुधबार सिंगापुरलाई दुई सय १५ रनले पराजित गरेको यूएई ६ टोली सम्मिलित प्रतियोगिताको अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।