एसियाली खेलकुद : पहिलो खेलमै हारिन् फुपू
जकार्ता (इन्डोनेसिया) : नेपालकी अनुभवी जुडो खेलाडी फुपूल्यामु खत्री १८औं एसियाली खेलकुदको आफ्नो पहिलो खेलमै पराजित भएकी छन्। फुपू दक्षिण एसियाली खेलकुद (साग) की पदकधारी खेलाडी हुन्। २१ वर्षीया फुपूले सन् २०१२ मा भारतमा आयोजना भएको १२औं सागमा स्वर्ण पदक जितेकी थिइन्। उनी नेपालका लागि सागमा स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी पनि हुन्।
जारी एसियाडमा बिहीबार भएको महिला ६३ केजीभन्दा मुनिको तौलसमूहमा फुपू आयोजक राष्ट्र इन्डोनेसियाकी खेलाडीसँग हारिन्। पहिलो चरणमा ‘बाई’ पाएर प्रिक्वार्टरफाइनलमा पुगेकी फुपूलाई इन्डोनेसियाकी फ्रादिभ्था अर्देलियाले पराजित गरिन्।
प्रतियोगिताको १३औं दिन भएको खेलमा जुडोका थप दुई खेलाडी पनि आफ्नो पहिलो खेलमै पराजित भएका छन्। पुरुष ७३ केजीभन्दा मुनिको तौलसमूहमा नेपालका सञ्जित डंगोल साउदी अरेबियाका खेलाडी सुलेमान फाहदसँग पराजित भए।
यसैगरी महिलातर्फको अर्को भिडन्तमा नेपालकी मनिता प्रधान श्रेष्ठ पनि आफ्नो पहिलो खेलमै हार स्विकार्न बाध्य भइन्। ५७ केजीभन्दा मुनिको तौलसमूहमा १९ वर्षीया मनितालाई भियतनामकी खेलाडी थी बिच नेगोकले पराजय स्विकार्न बाध्य पारिन्।
यसअघि जुडोको पहिलो दिन बुधबार पनि दुईजना नेपाली खेलाडीले पराजय व्यहोरेका थिए। पुरुष ६६ केजीभन्दा मुनिको तौलसमूहमा नेपालका इन्द्रबहादुर श्रेष्ठ उत्तर कोरियाका खेलाडीसँग पराजित भएका थिए भने महिला ५२ केजीभन्दा मुनिको तौलसमूहमा पनि देविका खड्का जापानी प्रतिद्वन्द्वीसँग हारेकी थिइन्।
जारी एसियाली खेलकुदमा निकै आशा गरिएका तेक्वान्दो, कराँते र बक्सिङले कुनै पनि पदक जित्न नसकेपछि अर्को महत्वपूर्ण खेल जुडोले पनि निराश पार्ने सम्भावना प्रबल बनेको छ। जारी एसियाडको २९ खेलमा एक सय ८५ जना खेलाडी सहभागी गराएको नेपालका अधिकांश खेल समाप्त भइसकेका छन्। जुडो भने शनिबारसम्म चल्नेछ।
यसैगरी बिहीबार नै भएको पुरुष भलिबलमा नेपाली टोली श्रीलंकासँग ३-१ सेटमा पराजित भएको छ। जारी प्रतियोगितामा नेपाली भलिबल टोली उपाधि होडबाट यसअघि नै बाहिरिइसके पनि वरीयता निर्धारण गर्न यो खेल खेलाइएको हो।
१५ सय मिटरमा दौडेँदै नेपालकी सरस्वती भट्टराई (६३७) । भलिबलमा श्रीलंकाका खेलाडीको सट रोक्दै नेपाली खेलाडी । तस्बिर : अन्नपूर्ण
श्रीलंकाविरुद्घको खेलमा पराजित भए पनि नेपाली टोलीले गतिलो प्रदर्शन गर्यो। पहिलो सेटको नतिजालाई २५-२३ ले आफ्नो पक्षमा पारेको नेपाली टोली त्यसपछिका तीन सेटमा भने लगातार पराजित हुन पुग्यो। नेपाली टोली दोस्रो सेटमा १६-२५, तेस्रोमा २४-२६ र चौथो सेटमा २१-२५ ले पराजित भएको थियो।
यसैगरी बिहीबार सम्पन्न टेबुलटेनिसको पाँच स्पर्धामध्ये नेपाली खेलाडी एउटामा विजयी भए भने चार खेलमा पराजित भए। महिला एकलतर्फको आफ्नो पहिलो खेलमा नेपालकी नविता श्रेष्ठले मकाउकी ताम सुत फीलाई हराइन्। तर, दोस्रो चरणको खेलमा उनी हङकङकी दु ही केमसँग पराजित भइन्। महिला एकलतर्फकै अर्को खेलमा नेपालकी स्वेच्छा नेम्बाङ पहिलो चरणमै पराजित भइन्। उनलाई बेतावायर डोलिन्गुले हराइन्।
यसैगरी पुरुष एकलतर्फको खेलमा नेपालका अमरलाल मल्ल मंगोलियन प्रतिद्वन्द्वी चिनवत एडनबायरसँग पराजित भए। सोही स्पर्धामा अर्का नेपाली खेलाडी स्यान्टु श्रेष्ठ पनि आफ्नो पहिलो खेलमै मकाउका चेओङ ची चेङसँग हारे। योसँगै टेबुलटेनिसमा नेपालको खेल पनि सकिएको छ।
यसैगरी बिहीबार भएको सेपाकताक्रोमा भने नेपालले मि िश्रत नतिजा निकालेको छ। समूह ‘बी’ बाट प्रतिस्पर्धा गरेको नेपालको पुरुष टोलीले पहिलो खेलमा पाकिस्तानलाई २-० ले पराजित गर्यो। दोस्रो खेलमा भने नेपाली टोली इरानसँग ०-२ ले पराजित हुन पुग्यो।
यसैगरी एथलेटिक्सको बिहीबार भएको महिला १५ सय मिटर दौडमा नेपालकी सरस्वती भट्टराई १४औं स्थानमा रहिन्। २४ वर्षीया सरस्वतीले निर्धारित दूरी पूरा गर्न चार मिनेट ३४.२६ सेकेन्ड समय खर्चिइन्। उक्त स्पर्धामा १९ जना खेलाडीले भाग लिएका थिए।
उक्त स्पर्धामा बहराइनकी बेफकादु कल्किदानले स्वर्ण र बहराइनकै बेली टिगिस्टले रजत पदक हात पारे। पहिलो हुने बेफकादुले निर्धारित दूरी चार मिनेट ०७.८८ सेकेन्डमा पूरा गरे। दोस्रो हुने बेलीले निर्धारित दूरी पार गर्न चार मिनेट ०९.१२ सेकेन्डमा पार गरिन्। कांस्य पदक भने भारतीय खेलाडी चित्रा उन्निकृष्णन पालाकिजको पोल्टामा पर्यो। उनले निर्धारित दूरी पार गर्न चार मिनेट १२.५६ सेकेन्ड समय खर्चिइन्।