रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन
काठमाडौं : रेडियो नेपालका पहिलो गायक, चर्चित नाट्यकर्मी तथा रेडियो नेपालका प्रस्तोता हरिप्रसाद रिमालको मृत्यु भएको छ । ९३ वर्षीय रिमालको शुक्रबार बिहान १ बजे आफ्नै निवास नयाँ बानेश्वरमा मृत्यु भएको छोरा अरुण रिमालले जानकारी दिएका छन् ।
छोरा अरुणका अनुसार स्वर्गीय रिमाल करीव १७ वर्ष पहिलादेखि दमको रोगका कारण पीडित थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । वि.सं १९८२ सालमा काठमाडौंको लगन टोलमा जन्मिएका रिमाल नेपालका चर्चित रंगकर्मी मान्निछन्, रिमालले रेडियो नेपालको स्थापना अगाबै थुप्रै गीत गाएका थिए । रिमालको शंकर लामिछानेको रचना रहेको ‘मेरो दिल टुक्रा बनेर आज....’ बोलको गीत रेडियो नेपालबाट बज्ने पहिलो गीत बनेको थियो ।
उनको ‘फगत एक नजरमा कसैले लियो मन..’ ‘बिना बादल असिनापानी....’ जस्ता गीत निकै चर्चित छन् । स्वर्गीय रिमालले थुप्रै गीत गाएको भएपनि हाल रेकर्डमा ६/७ वटा मात्रै भेटिने रिमालका चेला कलाकार सम्राट सापकोटाले जानकारी दिए । उनले गायन र रंगकर्मका अलवा रेडियो नेपालमा थुप्रै कार्यक्रमहरु सञ्चालन गर्थे ।
रिमालको मुख्य कलाकारिता भने अभिनय र रंगमञ्च रहेको कलाकार सापकोटाले बताए। रिमालले जीवनको धेरै समय नाटक अभिनय र निर्देशन मै खर्चिएको सापकोटाले जनाए।
रेडियो नेपाल स्थापनापछि रंगमञ्चका साथै रेडियो नाटक निर्देशन र अभिनयमा पनि सक्रिय भएका रिमाल रेडियो नाटकका हस्ती कै रुपमा लिइन्छ । नाटकका अलवा उनले चलचित्रमा पनि अभिनय र निर्देशन गर्ने गरेको कलाकार सम्राट सापकोटाले जानकारी दिए । रिमालले सपना चलचित्रको निर्देशन गरेका सापकोटाले बताए ।
स्वर्गीय रिमालको अन्त्यष्टिका लागि शुक्रकार १० बजे पशुपति आर्यघाट लाने तयारी भएको छोरा अरुण रिमालले जानकारी दिएका छन् ।