परिवार पर्खिरहेका भारतीय युवक
स्याङ्जा : बजारमा ओहोरदोहोर गरिरहन्थे । एउटै सहिदचोकलाई दिनमै ५० चोटि फन्को मार्थे । घर एउटा कुनामा बसेर घरी कागज चपाउँथे घरी ढुंगा कोपर्थे । नालीकै पानी पिइदिन्थे । एक व्यक्तिको त्यस्तो क्रियाकलाप ८÷९ महिनाअघिसम्म स्याङ्जा सदरमुकाम पुलतीबजारको सामान्य लाग्थ्यो । अचेल त्यस्तो दृश्य देखिन छाडेको छ । दृश्य बदलिएको छ र ती व्यक्ति पनि ।
अभियानपथका बासिन्दाले ती मान्छेको बारेमा खोजीनिति गरे । भारतीय मूलको जस्तो देखिने उनको घर ठेगाना पत्तो पाउन कठिन भयो । राष्ट्रियताको नाता नखोजी मानवीय नाताले तिनको औषधोपचार गर्नपट्टि लागे । डक्टरको औषधिले २० दिनमै नतिजा दिन थाल्यो । आफ्नोबारेमा भन्न थाले । उनी रहेछन् भारत मिर्जापुरका जितेन्द अग्रहरी ।
अहिले पनि होटल व्यवसायी हिमलाल ढकाल र राजकुमार आचार्यले उपचार र रेखदेख गरिरहेका छन् । बिहानदेखि चियादेखि साँझसम्मको खानाको व्यवस्था आचार्यले गरेका थिए भने औषधोपचार लगायत रेखदेखको व्यवस्था ढकालले गरे । ‘भर्खरको केटो । एकोहोरो हिँडिरहने । अरु मानसिक असन्तुलित व्यक्तिको भन्दा फरक व्यवहार देखेपछि आफ्नै भाइ,छोरो जस्तो लागेर खानेबस्ने व्यवस्थामिलाएँ’, ५६ वर्षे ढकालले भने, ‘डा. लुमेश्वर आचार्यलेपरीक्षणपछि दिएको औषधीले २० दिनमै धेरै परिवर्तन देखियो ।
’निर्माणाधीन सहभागृहमा अग्रहरीको बास छ । बोल्दै नबोल्ने र एक्लै बस्न रुचाउने उनी अचेल अहिले निकै कुरा गर्न खोज्छन् । आफूलाई घरबाट लिन आइदिए हुन्थ्यो भन्ने उनको चाहना छ । तर उनी स्याङ्जामा छन् भन्ने उनको परिवारलाई सूचना पु¥याउने माध्यम सहयोगीहरुले पनि भेटेका छैनन् ।