कुष्ठरोगीको पीडा : रोगभन्दा पनि आफन्तले दिएको पीडा ठूलो
गौर : कुष्ठ रोगले ग्रस्त ६० वर्षीय इन्द्रदेव राम रौतहटको परोहा नगरपालिका–५ स्थित सडक किनारमा तीन वर्षदेखि बसिरहेका छन् । उनको घर यही नगरपालिकाको नमनगरा टोलमा थियो । आफन्त अहिले पनि छन् तर उनी रोगका कारण पराइ भएका छन् । आफन्त नै पराइ भएपछि छिमेकीले पनि उनलाई हेला गर्छन् ।
उनीसँग सम्पत्ति केही छैन । त्यसमाथि कुष्ठरोगी, पीडा बुझिदिने कोही नभएको उनको दुखेसो छ ।
३० वर्ष भारतको पञ्जाबमा मजदुरी गरेर बिताएका उनलाई ६ वर्षअघि रोग लाग्यो । पञ्जाबमै केही समय उपचार गराए तर निको भएन । काम गर्न नसक्ने भएपछि उनी घर फर्किए तर छिमेकी र आफन्तले ‘कोर (कुष्ठ) आएको’ भन्दै गाउँमा बस्न दिएनन् । गाउँ निकालामा परेपछि केही पर सडक किनारमा बस्न थालेको उनको भनाइ छ ।
तीन वर्ष अवधिमा उनी कसैको नजरमा पर्न सकेनन् । ‘भाइकी छोरीको बिहेको कुरा थियो’, उनले दुखेसो पोख्दै भने, ‘घरमा बस्दा विवाह नहुने र रोग अरूलाई सर्छ भन्दै गाउँबाट निकाले ।’
भतिजीको बिहेमा समस्या हुने भन्दै स्थानीयको दबाबमा भाइले सडक किनारमा सानो झुपडी बनाएर छाडिदिएको सम्झिँदै उनले आँखाभरिका आँसु पुछे । उमेर र बल छँदा कमाएको पैसा भाइको परिवारलाई दिएको सुनाउने उनले अहिले बेवारिसे भएर सडक किनारमा ‘मृत्यु पर्खिएर’ बाँचिरहेको बताए ।
रोगभन्दा पनि आफन्तले दिएको पीडा ठूलो भएको उनको भनाइ छ । चार छोरा, एक छोरी सानैमा उपचार नपाएर बिते । कलिलै उमेरका ५ सन्तानको वियोग सहन नसकेर उनकी पत्नीको पनि ज्यान गयो । विगत सम्झिँदै उनले भने, ‘चिने–जानेकाले रोग सर्छ भन्दै धारामा पानी भर्न दिँदैनन् । लुकेर भए पनि पानी भर्ने गरेको छु ।’ उनलाई गाउँमा खानेकुरा माग्न जाँदा केटाकेटीले पनि जिस्क्याउँछन् । ‘कोडी आयो भन्दै गाली गर्छन्’, उनले भने, ‘रोग सर्ने डरले सबैले छिःछिः दुरदुर गर्छन् ।’
मागेको पैसाले होटलमा बसेर चिया तथा खाजा खान मन लागे पनि उनलाई रोग सर्ने भन्दै कसैले खान दिँदैनन् । करिब सय मिटर टाढा रहेको धारामा पानीसमेत नपाएपछि उनी दिक्क छन् । हिँड्नेलाई झुपडीछेउ धारा गाडिदिन आग्रह गर्छन् तर कसैले सुन्दैनन् । केही मनकारीले छाप्रो बनाउन बाँस र खर दिएका छन् । नगरपालिकाले सात थान जस्तापाता दिएको छ । उनले यसपालिको वर्षामा भिज्नु नपरेको सुनाए ।
उनको नाजुक अवस्था देखेपछि गौरका केही युवाले उपचारमा सहयोग गरेका थिए । कुष्ठ रोग अस्पताल आनन्दवन गई जँचाएर औषधि खाएका उनी अहिले निको हुने तर्खरमा छन् । रोग निको भयो भने पनि छिमेकी र आफन्तले दिएको चोट कहिल्यै निको नहुने उनको भनाइ छ ।
औषधि सेवन गर्दा गाउँ गए पनि बस्ने वातावरण कसैले नबनाइदिएपछि उनी पुनः सडक किनारमै फर्किन बाध्य भए । उनका हात र खुट्टाका केही औंला झरिसकेका छन् । ‘कसैले दयाले दिए खान्छु नत्र भोकै सुत्छ’ु, उनले भने, ‘के गरौं ? , तपाईंहरू नै भन्नुस् ।’
झुपडीमा एकसरो पुरानो ओढ्ने–ओछ्याउने तथा केही थान कपडा छन् । नागरिकता छ, मतदाता परिचयपत्र छ, रोगले अपांग बनाएको शरीरको परिचयपत्र पनि छ तर राज्यले दिने सेवा–सुविधा केही छैन । जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकारी उनका विषयमा जानकार रहेछन् । कार्यालयका क्षयकुष्ठ निरीक्षक महेश साहले उनलाई गाउँ फर्किन आग्रह गरे पनि जान नमानेको बताए ।
०००
तीन वर्षदेखि सडक किनारमा बस्दै आएका इन्द्रदेव राम । फणि महत