उसुका अलराउन्डर

उसुका अलराउन्डर

काठमाडौं, तारकेश्वर नगरपालिका-२ का स्थायी बासिन्दा सिद्धार्थ लामा सानैमा कराँते भनेपछि हुरुक्क हुन्थे। मामाका छोरा सुनील लामाले दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक जितेपछि उनलाई पनि कराँते खेल्ने हुटहुटी जाग्यो।

सिद्धार्थलाई मामा मिलन लामाले पनि कराँते खेल्न प्रेरित गर्दै उनको प्रशिक्षणको व्यवस्थासमेत मिलाइदिए। त्यसपछि उनले ध्रुवविक्रम मल्लसँग केही समय ‘काता’ पनि सिके। तर छोरो खेलकुदमा लागेको उनका बुवाआमालाई पटक्कै मन परेन। बुवाआमा छोराले राम्रो पढोस् र राम्रो अंक ल्याएर पढाइ पूरा गरोस् भन्नेमा थिए। आफ्नो चाहना हुँदाहुँदै पनि उनले खेल्न छाड्नु पर्‍यो। यसरी कराँतेको कातालाई बिर्सेर किताबका पाना पल्टाउन व्यस्त भए।

सिद्धार्थ उच्च शिक्षा पूरा नगरुन्जेलसम्म उनले कतै ध्यान दिएनन्, पढाइमा मात्र एकाग्र भए। पढाइ सिध्याउँदासम्म सिद्धार्थले अरू पेसा पनि रोजिसकेका थिए। तर अधिकांश साथी खेलकुदमा सक्रिय देखेपछि उनलाई खेलकुदमै लाग्ने हुटहुटी पलायो। खेलकुदमा दोस्रो इनिङ सुरु गर्दा सिद्धार्थले कराँते होइन, उसुलाई रोजे। उसुको ‘ताइची’मा आफूलाई केन्द्रित गराए। उनलाई उमा नेपाल संघका अमिनेशलाल श्रेष्ठ, कुमार पौडेललगायतले ताइची कला सिकाए। उनले खेलाडीका साथै उसुको रेफ्री कोर्स पनि पूरा गरे।

उनले खेलाडीका रूपमा विभिन्न प्रतियोगितामा सहभागिता जनाए। उनी उसुको क्षेत्रीय, राष्ट्रियदेखि खुला प्रतियोगितामा पनि सहभागी भए। थुप्रै पदक पनि जिते। धेरै पछि सक्रिय खेलाडी बनेका उनले लामो समयसम्म खेल्न उपयुक्त देखेनन्। त्यही भएर अर्को पेसा रोजे-रेफ्रीको। सिद्धार्थले युनाइटेड मार्सल आर्ट्स कमिटीबाट रेफ्री कोर्स गरे। त्यसलगत्तै थाइल्यान्डमा आयोजित प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरे।

सिद्धार्थले सक्रिय खेलाडी जीवनलाई टुंग्याएर रेफ्री बनुञ्जेलसम्म उमा नेपाल कङ्फु संघ निष्क्रिय भयो। संघ निष्क्रिय भएपछि सिद्धार्थलगायतका साथी मिलेर उसुकै अर्को संगठन खोल्ने निर्णयमा पुगे। त्यसबेला नेपालमा कङ्फु खेल थिएन, उसु मात्रै खेलिन्थ्यो। उमा उसुका केही साथी मिलेर उसुभन्दा केही फरक खेल भित्र्याउने विचार गरे। त्यसपछि उनीहरूले बेलायतबाट स्वीकृति लिएर उमा कङ्फु संघ स्थापना गरे। उनीहरूले बेलायतबाट स्वीकृति लिए पनि राष्ट्रिय खेलकुद परिषद्मा दर्ता गर्न लामो समय संघर्ष गर्नुपर्‍यो। विभिन्न बहाना देखाउँदै परिषद्ले दर्ता गर्न मानेन। अन्ततः लामो गृहकार्य र पहलपछि २०७० सालमा उमा कङ्फु संघ राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भयो।

सिद्धार्थले संस्था स्थापनासँगै संस्थाको सचिव भएर काम गरे। गत चैतमा भएको संघको पहिलो अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका छन्। अहिले उमा कङ्फुको १६ जिल्लामा कमिटी बनिसकेको छ। विभिन्न विद्यालय, कलेज र डोजोमा यसको नियमित प्रशिक्षण भइरहेको छ। संघले हरेक वर्ष राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता र सेमिनारमा पनि खेलाडी र प्राविधिकलाई सहभागी गराउँदै आएको छ। उमा कङ्फु संघले खेलाडी उत्पादनमा मात्र ध्यान दिएको छैन। प्राविधिक उत्पादनमा पनि उत्तिकै भूमिका खेलेको छ। टेक्निकल कमिटी नै गठन गरेर प्राविधिक जनशक्ति उत्पादन पनि गरिरहेको छ। अहिले करिब दुई हजार खेलाडीले विभिन्न विद्यालय, कलेज र डोजोमा नियमित कङ्फु सिक्दै आएको सिद्धार्थको दाबी छ।

सिद्धार्थले ‘ननफिसियल’ खेल कङ्फुलाई स्थापित गर्न र यसलाई मर्यादित र व्यावसायिक बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए। विभिन्न संस्थासँग सहकार्य गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली खेलाडीलाई सहभागिता गराउन, राष्ट्रका लागि पदक दिलाउन र उनीहरूलाई विश्व बजारमा बिकाउन संघले काम गर्दै आएको छ।

उमा कङ्फु संघको अध्यक्ष भएपछि सिद्धार्थको पहिलो लक्ष्य खेलाडी उत्पादनमा छ। विभिन्न डोजो तथा स्कुल र कलेजमा कङ्फुको प्रशिक्षणलाई तीव्रता दिने र धेरैभन्दा धेरै खेलाडी उत्पादन गर्ने लक्ष्य अनुरूप विभिन्न जिल्लामा उमा कङ्फुको शाखा विस्तारका साथै स्कुल, कलेज र डोजोमा पनि प्रशिक्षण अभियानलाई तीव्रता बनाएको उनको भनाइ छ। यसैगरी उनको अर्को लक्ष्य छ, अन्तर्राष्ट्रिय पदक। सम्पूर्ण नेपालीलाई स्वस्थ राख्नु र उनीहरूलाई खेलकुदमा संलग्न गराउनु उनको अर्को लक्ष्य हो। खेलकुद हरेक उमेर र पेसाका व्यक्तिका लागि आवश्यक छ। त्यसैले स्वस्थ्य रहन खेलकुद अपरिहार्य छ भन्ने कुरालाई स्थापित गराउन सिद्धार्थ लागिपरेका छन्।

सिद्धार्थ नेपालमा कङ्फुको विकासमा मात्र क्रियाशील छैनन्, उनी विभिन्न अन्तर्राष्ट्रिय संस्थामा आबद्ध भएर पनि काम गर्दै आएका छन्। उनी इन्टरनेसनल कङ्फु फेडरेसन अजरबैजानको लाइट सान्दा कमिटीको उपाध्यक्ष छन्। सान्दा कङ्फुको एउटा विधा हो। कङ्फुको प्याट्रन भएकाले यसको छुट्टै कमिटी गठन गरिएको छ। यसैगरी अन्तर्राष्ट्रिय कङ्फु फेडरेसन (आईकेकेएफ) सँग पनि उमा कङ्फुले सहकार्य गरेको छ। कङ्फु खेलको विकास र विस्तार छिमेकी मुलुक चीनबाट नै भएकाले चीनसँग पनि उमा कङ्फुले सहकार्य गर्दै आएको छ। आईकेकेएफले सिद्धार्थलाई नेपाल च्याप्टरको अध्यक्ष पनि नियुक्त गरेको छ। यसैगरी अस्ट्रियामा रहेको वल्र्ड मार्सल आर्टस् कमिटीले पनि उमा कङ्फुलाई सदस्यता प्रदान गरेर विभिन्न सहयोग गर्दै आएको छ।

स्पोर्ट्स ल फर्म सञ्चालन

त्यसो त सिद्धार्थ कानुन व्यवसायी पनि हुन्। खेलकुदका साथै कानुन व्यवसायमा पनि संलग्न रहेकाले उनले ‘स्पोर्ट्स ल फर्म’ खोलेका छन्। खेलकुदमा भएका कानुनी झमेला, वादविवाद र मुद्दामामिला समाधान गर्न स्पोर्ट्स ल फर्म सञ्चालनमा ल्याएको सिद्धार्थले बताए। उनले खेलकुदमा भएका विवाद र मुद्दा मामिला समाधानका लागि आफूले सञ्चालनमा ल्याएको ल फर्म नेपालको खेलकुद इतिहासकै पहिलो स्पोर्ट्स फर्म भएको दाबी गरे। खेलकुदमा विभिन्न कानुनी झमेला र विवाद समाधानका लागि ‘स्पोर्ट्स ल फर्म’ले निःशुल्क परामर्शसमेत दिने गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.