के पढ्छन् युवा ?

के पढ्छन् युवा ?

त्रिचन्द्र कलेजमा बीएस्सी अध्ययनरत महेश कार्कीले कक्षा ११ पढ्दैदेखि कोर्स बाहिरका किताब पढ्ने मौका पाए। किताबका सोखिन उनका मामा भान्जालाई पनि नयाँ किताब पढ्न उक्साइरहन्छन्। उनको रुचि राजनीति र समाजशास्त्रमा छ। उनी किताब पढ्दापढ्दै मन परेको कुरा नोटमा टिप्छन्। बेलाबेला नोट पनि पल्टाउँछन्।

बीपी कोइरालाका सबैजसो साहित्यिक किताब कार्कीले छिचोलेका छन्। बीपीको ‘आत्मवृत्तान्त’ र कार्ल माक्र्सको ‘कम्युनिस्ट मेनिफेस्टो’ पटकपटक पढेका छन्। हिन्दीमा अनूदित महात्मा गान्धीको ‘आत्मवृत्तान्त’ पढेपछि कार्कीले भारत र ब्रिटिस उपनिवेशबारे समेत बुझ्ने मौका पाए।

पछिल्लो समय उनलाई पढाइको भोक झनै बढ्दै गएको छ। ‘कोर्सका किताब मात्र पढेर केही सिकिँदो रहेनछ। समाज बुझ्न नयाँ किताब पढ्न जरुरी रहेछ। आफ्नो रुचिका जुनसुकै किताब पढ्दा पनि ज्ञानार्जन हुन्छ। दुईजना मान्छेका अगाडि आत्मविश्वासी भएर बोल्ने भइन्छ’, कार्कीले भने।

फुर्सद हुनासाथ उनी किताब फुकाइहाल्दा रहेछन्। सामाजिक सञ्जालमा अल्मलिने उनको बानी छैन। कलेजको पढाइ कमजोर हुन दिएका छैनन्। उनले तीन वर्ष अघिको दसैंमा महिनाको एउटा किताब किन्ने योजना बनाएका थिए। ६ महिना जति योजना कार्यान्वयन पनि गरे। साथीहरूले किताब लगेर फिर्ता नगरेपछि उनलाई किन्ने जाँगर चल्न छाड्यो।

त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी विषय लिएर स्नातकोत्तर गरिरहेका कैलालीका अमर कार्की नियमित पुस्तकालय धाउँछन्। कोर्ससँग सम्बन्धित साहित्यका किताब खोजीखोजी पढ्छन्।

‘हामी विद्यार्थीसँग भनेका बेला हातमा पैसा कहाँ हुन्छ र ? आजकल नयाँ किताब मागेर पनि पढिन्छ। कोठामा साथीहरू आइरहन्छन्। किताब लगेर फिर्ता गर्दैनन्।’ विगतमा भेटेजति किताब पढेको र छानेर पढ्न नजानेका प्रति उनलाई खासै गुनासो छैन। ‘कतिपय किताब पढेर समय मात्र बर्बाद गरिएछ। तर, नेपाली भाषामा सुधार गरेको छु’, उनले भने।

स्नातकोत्तर पढ्दै गरेका सुमन जीसी लोकसेवाको तयारी पनि गर्दैछन्। अघिल्ला वर्षहरूमा सफलता हासिल गर्न नसके पनि उनले कति पनि हरेश खाएका छैनन्। उनलाई कोर्स बाहिरका किताब पढ्ने पटक्कै रुचि छैन। लोकसेवाको तयारी गर्ने पनि दुइटा किताब मात्र छन् उनीसँग। उनी कलेजका किताब पनि खासै किन्दैनन्। गेसपेपर र गाइडले काम चलाउँछन्। ‘पहिल्यैदेखि परीक्षाको समयमा मात्र पढ्ने बानी लाग्यो। रुटिन नआई पढ्ने जाँगर नै चल्दैन’, जीसीले भने।

उनकै जिल्लाका साथीले दिएको गजलको किताबसमेत उनले छिचोलेका छैनन्। फुर्सदको समयमा उनी सामाजिक सञ्जालमा भुलिन्छन्। लोकसेवाको साइट पनि राम्रोसँग हेर्न जानेका छैनन्। भन्छन्, ‘नेटमा पनि फेसबुक मात्र चलाउन आउँछ।’

त्रिभुवन विश्वविद्यालयमा अंगे्रजी विषय लिएर स्नातकोत्तर गरिरहेका कैलालीका अमर कार्की मैतीदेवीमा डेरा गरी बस्छन्। नियमित पुस्तकालय धाउँछन्। कोर्ससँग सम्बन्धित साहित्यका किताब खोजीखोजी पढ्छन्। यो एकडेढ वर्षमा धेरै किताब पढे। यसले उनको अंग्रेजी भाषाको स्तर माथि उठ्यो। ‘कोर्सका मात्र किताबले धेरै सिकिँदो रहेनछ। सबै किताब किनेर पढ्न पनि सकिँदैन।’

यसपालि भने उनले मदन पुरस्कार गुठीले पुरस्कारका लागि छनोट गरेका किताब पढ्ने योजना बनाएका छन्। मदन पुरस्कार घोषणा भएलगत्तै नीलम कार्की ‘निहारिका’को ‘योगमाया’ किनेर ल्याए। केही महिनाअघि उनले नेपालीमा अनुवाद गरिएको ‘गीता’ पनि किनेर ल्याएका थिए। साथीले पढ्न लगेको उक्त किताब फिर्ता गरेनन्। उनले पनि खोजीनीति गरेनन्। पछिल्लो समय उनले पुस्तकालयमै बसेर जोन फवेल्सको ‘द फ्रेन्च लेफ्टिनेन्ट उमन’ पढेर सके। किताबमा कथा भन्ने नयाँ शैली पाएर उनी निकै उत्साहित बने।

इन्जिनियरिङ अध्ययन गरिरहेका मुकेश यादव कोर्स बाहिरका किताब पढ्न नपाएर दिक्क छन्। उनी दर्शनका र गैरसाहित्यिक किताब पढ्न रुचाउँछन्। अंग्रेजी भाषामा उनको पकड छैन। प्राय- हिन्दीका अनुवाद पढ्छन्। यादव व्यवस्थापन विषय लिएर पढ्न चाहन्थे। पारिवारिक दबाबले उनको रुचि छायामा पर्‍यो।

‘दिल्लीमा बस्ने मामाले किताब पठाइदिनुहुन्छ। समयको व्यस्थापन गरेर पढिरहेको छु। सामाजिक सञ्जालमा खासै अलमल गर्दिनँ। बिहान सबेरै उठेर पढ्छु। बिहानको पढाइ सम्झिन सजिलो हुन्छ। कक्षामा पनि मेरो पोजिसन रामै छ’, यादव भन्छन्।

यादव साथीहरूलाई पनि कोर्स बाहिरका किताब पढ्न सल्लाह दिन्छन्। हरेक विषयवस्तुमाथि उनको पकड देखेर आमाबुवा दंग छन्। साथीहरू पनि ‘के पढ्ने’ भनेर उनलाई प्रश्न गर्न थालेका छन्। उनी खाजा खर्च उबारेर किताब किन्छन्। आफूसँग भएका किताब व्यवस्थित गरेर राख्न नसकेकोमा थकथकी लाग्छ। भन्छन्, ‘हामी विद्यार्थीको सम्पत्ति भनेकै किताब रहेछ। दराजमा किताब सजाएर राख्ने धोको छ। कहिले पूरा हुने हो, थाहा छैन।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.