समाजलार्इ हाँक दिँदै ह्विलचेयर सुन्दरीहरू
पृष्ठभूमिमा बजिरहेको थियो गीत, ‘पूर्वको मेची नि हाम्रै हो, पश्चिम महाकाली नि हाम्रै हो।’ स्टेजमा नाचिरहेका थिए, पाँच युवती। हातमा थियो नेपाली झन्डा। नाच अलि फरक थियो। अरू नाचजस्तो उनीहरू उभिँदैन थिए। हातको हाउभाउ र अनुहारले गीतको लय र ताल पछ्याइरहेका थिए। ‘फेस स्प्रेसन’ हेर्दा यस्तो लाग्थ्यो, उनीहरू पारंगत नृत्यांगना हुन्। दर्शक मन्त्रमुग्ध थिए। कोही हुटिङ गरिरहेका थिए।
अगस्ट ९ अर्थात् विश्व आदिवासी दिवस। यही दिवस मनाउन राष्ट्रिय सभागृहमा जम्मा भएका थिए, हजारौं मानिस। त्यहीँ देखिएको दृश्य थियो त्यो। परम्परागत पहिरनमा सजिएर नृत्य गर्दै थिए पाँच युवती, ह्विल चियरमा। सवलांगझैं उनीहरू स्टेजमा नाचिरहँदा दर्शकदीर्घा रोमाञ्चित बनेको थियो।
स्टेजमा थिइन्, बागलुङकी गंगा छन्त्याल (२७)। बालाजु बस्दै आएकी उनी स्नातक तेस्रो वर्ष पढ्दै छिन्। रामेछापकी रजिता खड्का (२७) गोठाटार बस्छिन्। सिन्धुपाल्चोककी जमुना तामाङ (२४) ग्वार्कोमा बस्छिन्। उनले स्नातक तह उत्तीर्ण गरिसकिन्। कमर्समा फेरि ब्याचलर पढ्दै छिन्। जाउलाखेल बस्ने अर्की नृत्यांगना सोनिका लामा (२८) मकवानपुर हेडौंडाकी हुन्। गोरखाकी २९ वर्षीया संगीता सिलवाल (२९) पनि जाउलाखेल नै बस्छिन्।
एउटै उमेरसमूहका उनीहरूको मुहार युद्ध जितेर फर्किएका योद्धाको जस्तै चम्किएको थियो। झरीपछि खुलेको आकाशजस्तै सङ्लो देखिन्थ्यो, उनीहरूको चेहरा। नाचिसकेपछि ह्विल चेयरको पांग्रा हत्केलाले धकेल्दै उनीहरू बाहिरिए।
उनीहरू भन्दै थिए, ‘मञ्च साँघुरो भयो। सोचेजस्तो प्रस्तुति दिन सकिएन। अपांगमैत्री बनेन मञ्च।’ मञ्च सानो भएकोमा आयोजकप्रति गुनासो गर्दै थिए उनीहरू। ‘तर, मज्जाले नाचियो। खुसी छु।’ जमुनाले खुसी व्यक्त गरिन्।
आजभोलि उनीहरू जम्मै चोट बिर्सिएर ह्विलचेयरमै नाचिरहेका छन्। बास्केटबल खेलिरहेका छन्। यस्तो लाग्छ, उनीहरू दुनियाँलाई हाँक दिँदैछन्। नृत्यको तालसँगै भनिरहेझैँ लाग्छ, ‘हामी पनि सक्छौं।’
दुई साता तयारी गरेर उनीहरूले हजारौं दर्शकका अघि सामूहिक रूपमा नृत्य देखाएको त्यो नै पहिलोपटक थियो। अरू दुईवटा सामूहिक नृत्य र केही एकल नृत्य पनि तयार थियो। तर, त्यस दिन धेरै देखाउने अवसर पाएनन्।
उनीहरू आफ्नो नृत्य मनोरञ्जनका लागि मात्रै नभई जनचेतनाका लागि भएको बताउँछन्। गाउँगाउँमा गएर नृत्य देखाउन चाहन्छन् उनीहरू। जमुना भन्छिन्, ‘सहयोगी हात पायौं भने गाउँगाउँमा गएर नृत्य देखाउन तयार छौं। हाम्रो नृत्यको सन्देश अपांगता भएका व्यक्तिलाई हेला र घृणा होइन साथ र माया दिनु भन्ने हो।’ गंगा भन्छिन्, ‘हामीलाई दया चाहिँदैन। अवसर र सहयोगी साथ पायौं भने हामी जे पनि गर्न सक्छौं।’
उनीहरू बास्केटबल प्लेअर पनि हुन्। ह्विल चेयरमै वास्केटबल खेल्छन्। जाउलाखेल ह्विलचेयर स्पोर्ट क्लबमा आबद्ध छन् उनीहरू। आठजनाको टिम छ। बास्केटबल मात्रैले अपुग लाग्यो उनीहरूलाई, अनि नाच्ने अभ्यास पनि थाले।
सहर कि कहर ?
‘हामीलाई यो सहरमा धेरै गाह्रो छ’, गंगा गम्भीर देखिइन्। ‘जागिर पाइँदैन। कोठा पाइँदैन। गाडी चढ्न पाइँदैन। सडकको पेटीमा हिँड्नसमेत मुस्किल छ। आक्रोशित हुँदै भन्दै थिइन्, ‘कतिपटक ठोकिएँ। कतिपटक लडेँ। कतिपटक चोट लाग्यो। कुनै हिसाब छैन।’ सहरमा सही नसक्नुको दु-ख खेपेका छन् उनीहरूले। सिलवाल भन्छिन्, ‘यो सहर सक्नेहरूका लागि मात्रै राम्रो छ।’
सोनीको मत फरक छ। भन्छिन्, ‘गाउँघरमा जस्तो उकालो ओरालो गर्नु परेको छैन। आफ्नो अधिकारको कुरा सहरमा गर्दा सुनिन्छ कि भन्ने आशा लाग्छ। त्यो अर्थमा सहर राम्रै छ।’ तर, जमुनालाई सहरसँग झोंक पनि चल्छ। भन्छिन्, ‘सहर हाम्रो लागि बनेको छैन। बाटोमा लड्दै हिँड्नुपर्छ। अपांगमैत्री केही छैन।’ छेउमै कुरा सुनिरहेकी रञ्जिता बीचैमा कुरा काट्दै भन्छिन्, ‘जिन्दगी बिताउने घर त अपांगमैत्री छैन। सहर कसरी हुनु ? ’ उनी भन्दै थिइन्, ‘डेरा पाइँदैन। बल्लबल्ल पाए पनि घस्रिँदै तलमाथि गर्नुपर्छ। जागिर त झन् कहाँ हो कहाँ ? ’
उनीहरूको सरकारप्रति आशा छ तर भरोसा देखिँदैन। एकै स्वरमा भन्छन्, ‘खै के भरोसा गर्नु, अहिलेसम्म केही पनि गरेको छैन। दिने भनिएको भत्ता पनि कटौती गरियो।’ उनीहरूको सानो माग छ। त्यो हो, अपांगता भएका व्यक्तिले काम गर्न सक्ने एउटा फ्याक्ट्री सरकारले खोलिदेओस्, जहाँ सबै अपांगले काम गर्न सकून्। बाटोमा मागेर बस्न नपरोस्। गंगा भन्छिन्, ‘साथीहरू बाटोमा माग्न बसेको देख्दा नरमाइलो लाग्छ। सबै अपांगले क्षमताअनुसारको काम गर्नसक्ने एउटा उद्योग राज्यले खोलिदिए राम्रो हुन्थ्यो। तर, के गर्नु नगरपालिकाले उल्टै सडकबाट उठाएर लग्छ।’
एनजीओका तालिमसँग उनीहरूलाई भरोसा छैन। सोनिका भन्छिन्, ‘तालिम मात्रैले हुँदैन। रोजगार नै चाहियो। हामी केही गर्न सक्छौं। हाम्रो ऊर्जा र शक्तिलाई राज्यले सदुपयोग गरोस्।’
अपांग संरक्षण तथा कल्याण ऐन २०३९ मा बन्यो। २०६५ मा राज्यले अपांगता भएका व्यक्तिलाई समावेशीकरण र संरक्षण गर्न परिचयपत्र वितरण गर्न निर्देशिका जारी भयो। तर, मुलुकभर कति अपांगता भएका व्यक्ति छन् भन्नेबारे यकिन तथ्यांक छैन। २०६८ को जनगणनाले १.९ प्रतिशत भनेको छ।
चोटैचोटको जीवन
बच्चैदेखि खुट्टा नचल्ने संगीता यात्रा गर्ने क्रममा सबैभन्दा धेरै सकस झेल्छिन्। एकपटक उनी हतारमा थिइन्। चोकमा धेरै बेर गाडी कुरेर बसिन्। तर, गाडी उनलाई देखेपछि तुफान भाग्थ्यो। एउटा गाडी बल्लबल्ल रोक्यो तर उनलाई चढाउन मानेन। त्यसपछि संगीताले पुलिसलाई खबर गरिन्। गाडी प्रहरीचौकी लगियो। प्रहरी, गाडीचालक र संगीताबीच निकैबेर भनाभन भइरह्यो। उनी त्यो क्षण अहिले पनि सम्झन्छिन्।
सानोमा ज्वरो बिग्रिएपछि गंगालाई पोलियो भयो। पोलियो अपांगताको कारण बन्यो। अपांग जीवन जवान भयो। सिन्धुपाल्चोकका सांग कुशल तामाङसँग आठ वर्षसम्म लभ पर्यो। बिहे गर्ने बेला दुवैतिरको परिवारले फिटिक्कै मानेन। अन्तत- परिवारको हार भयो। प्रेमको जित भयो।
जमुनाका पाँच दिदीबहिनी र एक दाइ छन्। सानैमा आगोमा परेर उनको खुट्टा जल्यो। सबैजना स्कुल जान्थे। जमुना पनि उनीहरूसँगै स्कुल जान चाहन्थिन्। साथीहरूसँगै स्कुलको चौरमा खेल्ने, उफ्रिने चाहना अधुरै रह्यो। अचेल पनि किताब च्यापेर रुँदै घरमा बस्नु परेको क्षण जमुनाको मस्तिष्कमा बारम्बार ठोकिन्छ।
संकटकालको समय। रञ्जिताको घरमा विद्रोहीहरू आउनेजाने गर्थे। उनी ६ महिनाको शिशुदेखि आगोले पोलेको खुट्टा बोकेर बाँचिन्। एक दिन साँझपख विद्रोहीहरू घरभित्र पसे। रञ्जिता चुलो लोटाउँदै थिइन्। एकजना विद्रोहीले उनको अपांग खुट्टा देखे। उसले अचम्मित हुँदै अर्कोलाई देखायो। उनको अघि तमासा हेर्नेको भीड जम्मा भयो। विद्रोहीको त्यो व्यवहार उनको दिमागमा नमेटिने घाउ बनेर बस्यो। अपमान महसुस गरिन्। ‘म बाँचेर पनि यसरी नै गिल्ला गरिने रहेछ’ भन्ने ठानिरहिन्। त्यस दिन खाना खाइनन्। धेरै बेर रोइरहिन्।
सोनिकालाई बाल्यकाल निकै तीतो लाग्छ। परिवारले ‘किन जानु पर्यो यस्तो मान्छे स्कुल’ भन्दै गाली गर्थे। तर, उनी बामे सर्दै स्कुल जान्थिन्। बामे सरेरै ९ कक्षासम्म पुगिन्। परीक्षाको दिन थियो। त्यस दिन ठूलो पानी पर्यो। सोनिका बामे सर्दै स्कुल जाँदै थिइन्। सहयोगी कोही पनि पाइनन्। परीक्षा हलमा पुग्दा एक घन्टा बितिसकेको थियो। उनी रुझ्दै भित्र पसिन्। समय त थपियो तर राम्रोसँग लेख्न सकिनन्। भन्छिन्, ‘त्यो घटनाले मलाई आज पनि झस्काइरहन्छ।’
अहिले उनीहरू आफ्ना सबै चोट बिर्सिएर ह्विलचेयरमै नाचिरहेका छन्। बास्केटबल खेलिरहेका छन्। यस्तो लाग्छ, उनीहरू दुनियाँलाई हाँक दिँदैछन्। नृत्यको तालसँगै भनिरहेँझै लाग्छ, ‘हामी पनि सक्छौं।’ तर बेलाबेला झस्काइदिन्छ सवलांग दुनियाँले।
कुराकानी सकेर उनीहरू आआफ्ना गन्तव्यतिर सोझिए। भृकुटीमण्डपको चोकमा उभिए। कोही ट्याक्सी बोलाउन थाले। पाँच ह्विल चियर पाँचतिर छरियो। र, साँझको भीडमा ओझेल पर्यो।