स्ल्याङ संसार
बसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयको मुन्तिर ६ जना युवायुवती गफिरहेका छन् । गत आइतवार, बेलुकीको साढे ६ बजेको छ । उनीहरु क्लब जान खोजिरहेका छन् । कुन क्लब जाने भन्नेमा विवाद चलेको छ । एक युवतीको तीखो आजाव सुनिन्छ, ‘जो भुक्कड छ, उसलाई चाहिँ महंगो ठाउँमा जानुपर्ने । खुरुक्क अस्ति गएको ठाउँमा जाऊँ ।’ केटोको जवाफ, ‘चुप सुइरी । यो कस्ती घामट छे भने नि, भनेको केही मान्दिन ।’ उनीहरुको विवाद बढ्दै जान्छ ।
तीनकुने पेट्रोलपम्प नजिकैको एउटा चियापसलमा कलेजका बिद्यार्थीहरुको आउजाउ बाक्लो छ । सोमबार, बिहानको ११ बजिसकेको छ । भर्खर कलेज छुट्टी भएर क्याफेमा आएकाहरु चिया, खाजा खाँदैछन् । आफ्नो ‘ग्याङ’मा उनीहरु ठूल्ठूलो स्वरले कराउँछन् । ‘धेरै ल्याङल्याङ नगर है तोर्पे,’ एउटा युवतीको आवाज सुनिन्छ । त्यतिबेलै उनीहरुले मगाएको खाजा आइपुग्छ । केटी भन्छे, ‘अब, हसुरे भइहाल्यो नि !’
किशोर किशोरीहरुको ग्याङमा पुग्ने हो भने उनीहरुले सामान्य बोलचालभन्दा फरक शब्द प्रयोग गरिरहेको सुनिन्छ । ‘भुक्कड’, ‘घामट’, ‘ल्याङल्याङ’, ‘हसुर्नु’ जस्ता शब्द केही उदाहरण हुन् । तन्नेरीहरु नजिकका साथीसँग कुराकानी गर्दा यस्ता ‘खिचडी’ शब्दहरु बोल्छन् ।
बालै भएन, सोम, च्वाँक, तोप, सिक, ढ्याब्रे, गिलास बाणी, गोटिया, गिद्धि, ल्याङल्याङ, पात, घण्टा, तोरीलाउरे, टेरिया, मुरली बजाउने, आँपे, ठूल्कान्छा, भेजा, टिटि, गोलखाडी, पाचके, घच्ची, कच, मामा, चार्ज, पत्रु, लम्फू, हरिलठ्ठक, बाबाजीको ठुल्लुजस्ता शब्द युवा अड्डामा सुन्न सकिन्छ । यस्ता शब्दलाई अंग्रेजीमा ‘स्ल्याङ वर्ड’ भन्छन् । किशोर किशोरीको साथीसर्कल र ग्याङमा सुनिने यस्ता शब्दको अर्थ धेरैले बुझ्दैनन् । कतिपय अवस्थामा आफ्ना साथीसर्कलभन्दा बाहिरकाले नबुझुन् भनेरै स्ल्याङ वर्ड बोल्ने गरेको बताउँछन्, प्रयोगकर्ता।
बालाजु बस्दै आएका संसार कार्की भन्छन्, ‘कहिलेकाहीँ ‘भल्गर’ कुरा बोलिन्छ । अरुले थाहा पाए भने गाह्रो हुन्छ । स्ल्याङ प्रयोग गरेपछि कसैलाई पत्तै हुँदैन ।’ त्यसैले ग्याङअनुसार, यस्ता स्ल्याङ वर्डहरु फरक-फरक हुन सक्छन् । कहिलेकाहीँ साथीहरुबिचमै पनि स्ल्याङ वर्ड नबुझिने उनले बताए । कार्की भन्छन्, ‘धेरै शब्द चाहीँ बानी लागेपछि बोल्दै गइन्छ । कहिलेकाहीँ कुनै साथीले नयाँ ‘वर्ड’ ल्याइदिन्छ र गाह्रो पर्छ ।’
आलु जस्तो (काम नलाग्ने), कच (कचकच गर्नु), गाँडे (रिस उठ्दो), चार्ज हान्यो (प्रहार गर्यो), खोया जस्तो (काम नलाग्ने), लन्ठु (काम नलाग्ने), घामट (असजिलो), बतासे हान्ने (जिस्क्याउने), सर्के (गाँजा खाने मान्छे), बुलेट (राम्रो), हन्तकाली (धेरै खाने), पङ्गु (खत्तम), गिल्ला गर्नु (जिस्क्याउनु), बकं हान्नु (छाड्नु), लफडा (तनाब दिनु), भुकड (पैसा नभएको), चोराखन्ती (बद्मास), साईको (अरुभन्दा फरक हुन खोज्ने), सुइरी (पातली)जस्ता शब्द पछिल्लोे समय किशोर-किशोरी अत्याधिक प्रयोग गर्छन् ।
कलंकी बस्दै आएका संजय न्यौपाने यस्ता स्ल्याङ वर्डले ‘प्लेजर’ दिने बताउँछन् । ‘यस्ता शब्द बोल्दा मजा हुन्छ । भीडभाडभन्दा फरक देखिन पनि यस्ता शब्द बोलिन्छ,’ न्यौपाने भन्छन्।
स्ल्याङ वर्ड प्रयोग गर्ने विभिन्न आधार हुन्छन् । कहिलेकाही साथीसँग ‘एड्जष्ट’ हुन पनि धेरैले यस्ता शब्द बोल्ने गरेका छन् । कतिपयलाई यस्ता शब्दहरु नै सामान्य लागिसकेको हुन्छ । कसैकसैले नयाँ प्रयोग गर्छन् । ‘भल्गर’ शब्दको सट्टामा पनि यस्ता शब्द बोल्ने गरेको पाईन्छ । यस्ता स्ल्याङ वर्ड अरुभन्दा फरक रहन र हाँसीमजाक गर्न पनि बोलिन्छ । कसै-कसैले यस्ता शब्दहरु अर्काको ध्यानाकर्षण गर्न पनि प्रयोग गर्छन् ।
हिजोआज किशोर किशोरीहरुमाझ ‘माइला’ सम्बोधन चर्चित छ । साथीहरुलाई बोलाउनुपर्यो भन ‘माइला’ भनेर बोलाउने । किन माइला भन्न थालिएको भनेर चाहिँ धेरैलाई थाहै छैन । एकपछि अर्काे गर्दै शब्द प्रयोग गर्ने ट्रेण्ड नै बस्यो । संजय भन्छन्, ‘कान्छा सबैले भन्छन् । कति कान्छा मात्रै भन्ने ? माइला भन्दा मजै हुन्छ ।’
कुलेश्वर बस्दै आएकी समिक्षा श्रेष्ठलाई पनि स्ल्याङ वर्ड प्रयोग गर्न खुबै मन पर्छ । उनी प्रायः तोरी, लिँणे, पात, ग्वाँच शब्दहरु बोल्छिन् । भाइबहिनीलाई गाली गर्दा उनी यस्ता शब्दहरु घरमै पनि बोलिदिन्छिन् । बाआमाले सुने भने ? ‘बालै भएन,’ उनले हाँस्दै भनिन् । उनलाई थोरैमात्र स्ल्याङ वर्डहरु जान्दछिन् । ‘हाम्रा साथीहरु अनेकथरि बोल्छन् । म त केही बुझ्दिन,’ उनले भनिन् ।
ज्याक हान्ने(चोर्ने), छ्याकन(दलाली), सार्कीसट(गिलासको रक्सी एकै पटकमा पिउनु), राजदल्याभिमे(बडेमानको मान्छे) जस्ता स्ल्याङ वर्डहरु किशोर किशोरिमाझ चर्चित छ । गुच्ची, छप्की, चिक्स, सेल्फी, घण्टा, माल हान्ने, ज्याक हान्ने, बोका जस्ता शब्दहरु त बाक्लै सुनिन्छ । गाडीमा होस् या चिया पसलमा, आफ्ना ग्याङमा स्ल्याङ शब्दहरुको प्रयोग कम हुँदैन । बाह्रमासे (तास खेल्ने), पासा (साथी), खलास (सकियो), च्याँसी (पातली), जिग्री (साथी), बामे (डल्ले मान्छे), गल्लरी (रक्सी खाईरहने), झकास (राम्रो), ग्वाँच (केही थाहा नभएको), ट्युलाईट (ढिलो बुझ्ने), मामा (पुलिस), खोया (काम नलाग्ने), पाचके (दही चिउरे), गिदी गर्ने (दिमाग खाने) जस्ता शब्दहरु धेरैले नबुझ्ने तर अधिकांश युवाहरुले प्रयोग गर्ने शब्द हुन् ।
केही समय पहिले फेसबुकको चल्तीको ग्रुपमा एक युवकले पोष्ट गरे, यहाँ एक बट्टा चुरोट भेट्टाईयो । सामान्य होला भनेको त लोडेड रहेछ । आउनुस् खान ।’ कमेन्टहरु आउन थाल्यो । बुझ्नेहरुले ‘लोडेड भए भेटौँ’ भने । नबुझ्नेहरुले ‘लोडेड भनेको के हो ? ’ भन्दै कमेन्ट गर्न थाले । संसार कार्की भन्छन्, ‘म त यस्ता शब्दहरु प्रायः बोल्दिन । तर, चुरोटको सुर्ती निकालेर त्यहाँ गाँजा भरियो भने त्यसलाई लोडेड भन्छन् ।’
ठाउँ र समयअनुसार थरिथरिका स्ल्याङ वर्डको प्रयोग गरिन्छ । कुनै-कुनै स्ल्याङलाई सामान्य रुपमा लिन थालिन्छ । र, धेरैले प्रयोग गर्छन् । तन्नेरी पुस्तासँग यस्ता शब्दहरु प्रशस्तै हुन्छन् । उनीहरुले घर, कलेज, पार्क, सिनेमाहल वा अन्यत्र जहाँतहीँ यस्ता खिचडी भाषा बोल्छन् । न्यौपाने चुरोटलाई ‘सिक’ भन्छन् । कलेजतिर चुरोट खान मन लाग्यो भने उनी साथीहरुलाई ‘सिक खान जाउँ’ भन्छन् । सिक भनेको अरु धेरैले बुझ्दैनन् । उनले भने, ‘कुनै-कुनै शब्दहरु गोप्य रुपमा प्रयोग गर्दा फाइदै हुन्छ ।’