'फिल्म चल्नु नचल्नु कलाकारको हातमा हुँदैन'
विभिन्न म्युजिक भिडियोमा अभिनय गर्दै फिल्म ‘स्वर’मार्फत नेपाली फिल्म उद्योगमा पाइला चालेकी नायिका केकी अधिकारी समकालीन नायिकामध्ये ब्यस्त नायिकामा गनिन्छिन् । फूर्सदमा फिल्म हेर्न र किताब पढ्न रुचाउँछिन्, उनी । उनका अतिथि भूमिका रहेको नयाँ फिल्म ‘नाई नभन्नु ल ५’ हाल प्रदर्शनमा छ । यिनै नायिकासँग रामकला खड्काले गरेको कुराकानी ।
‘नाई नभन्नु ल ५’ फिल्मका पहिलेका सिरिजमा पनि तपाईंलाई प्रस्ताव राखिएकोमा काम गर्न मान्नुभएन भन्ने सुनिन्छ नि ?
‘नाई नभन्नु ल’ को बेलामा मेरो पहिलो फिल्म ‘स्वर’को छायांकन थियो । दुवै फिल्मको छायांकनको मिति जुधेकाले मैले गर्न पाइन । एउटा फिल्मको लागि प्रतिवद्धता जनाइसकेपछि अर्कोमा गर्छु भन्नलाई मेरो नैतिकताले पनि दिएन । त्यसैगरी ‘नाई नभन्नु ल ३’ को बेलामा पनि मलाई अफर आएको थियो । तर त्यतिबेला म विदेशमा थिएँ ।
‘नाई नभन्नु ल ५’ मा अतिथि भूमिकामा पनि किन काम गर्न तयार हुनुभयो त ?
आफूले अफर गरेका नायक नायिकाले काम गर्न नमाने उनीहरुप्रति इगो भाव राख्ने चलन नेपाली फिल्म उद्योगमा छ । तर विकास आचार्य अंकलले आफ्नो फिल्मका लागि एउटा राम्रो कलाकार चाहिन्छ भनेर मलाई बारम्बार अफर गरिरहनुभयो । एक त फिल्मको कथा राम्रो, अर्को एउटा चर्चित फ्रेनसाइसअन्र्तगतको फिल्म र विकास अंकलको नम्र भावले मलाई उक्त फिल्ममा काम गर्न प्रेरित गर्यो ।
आफूले निर्माण गरेको पहिलो फिल्म ‘कोहलपुर एक्सप्रेस’बाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
मेरो यो वर्षको पहिलो फिल्म नै ‘कोहलपुर एक्सप्रेस’ हो । महिलालाई केन्द्रमा राखेर बनाइएको फिल्म चल्दैन भन्ने नेपाली फिल्म उद्योगमा रहेको सोचाईलाई हामी चिर्न चाहन्थ्यौं । छैटौं हप्तासम्म फिल्म चलेर महिलालाई लिड रोलमा राखेर बनाइएका फिल्म पनि सफल हुन सक्छन् भन्ने यसले सावित गरेको छ ।
तपाईंको रुचि के मा छ ?
मलाई महिला केन्द्रित फिल्म बनाउन रुचि लाग्छ । अर्को पनि एक फिल्मको कथामा काम गर्दैछु । सायद तिहार पछि यसको छायांकन कार्य शुरु हुन्छ होला ।
तपाईंको उजागर नभएको आफ्नो क्षमता के हो जस्तो लाग्छ ?
यो त म आफैले भन्ने कुरा होइन । हेर्ने मानिसले मूल्यांकन गर्ने हो । दर्शकले मेरो नृत्य मन पराउँछन् । तर मलाई आफू नृत्यमा कमजोर छु जस्तो लाग्छ । त्यसैले अर्को महिनादेखि शास्त्रीय नृत्यको कक्षा लिने सोच छ । जीवन भनेकै गल्ती गर्दै सिक्दै जाने हो । ‘कोहलपुर एक्सप्रेस’मा भएका गल्ती कमजोरीलाई स्वीकार्दै त्यसमा सुधार गरी नयाँ बन्ने फिल्मलाई अझै राम्रो बनाउने हो ।
नाटकमा पनि अभियन गरिसक्नुभएको छ । फिल्म र नाटकमा अभिनय गर्दाको अन्तर के पाउनुभयो ?
अभिनय गर्दाको प्ल्याटफर्म के हो भन्ने कुराले मलाई खासै फरक पर्दैन । कुनै पनि एक पात्रलाई समातेर अभिनय गर्दा त्यसैमा डुब्ने गर्छु म । नाटकमा शारीरिक हाउभाउ, अभिब्यक्तिलगायत अलि बढी हुन्छ । यद्यपी यी दुवैमा अभिनय गर्नु गाह्रै काम हो ।
‘स्वर’देखि ‘नाइ नभन्नु ल ५’ सम्म आइपुग्दा नेपाली फिल्म उद्योगमा तपाईंको अनुभव कस्तो रह्यो ?
अहिले हामी विभिन्न किसिमका प्रयोगलाई पनि ठाउँ दिन सक्ने अवस्थामा पुगेका छौं । एउटै खालको फिल्म मात्रै नभई भिन्न भिन्न विषयमा फिल्म बन्नुपर्छ । अहिले दर्शक र निर्माता दुवै यस्ता विविध विषयका फिल्मका लागि तयार छन् ।
तपाईंका फिल्ममध्ये केही असफल भए पनि निर्माता निर्देशकले लिन छाडेका छैनन्, यसको कारण के होला ?
मैले इमान्दारितापूर्वक काम गरिरहनु नै यसको मुख्य कारण हो । फिल्म चल्नु नचल्नु कलाकारको हातमा हुँदैन । मलाई दिइएको काम मैले कसरी गरेको छु भन्ने मेरो लागि महत्वपूर्ण कुरा हो । फिल्म चलाउनका लागि त्यसको मार्केटिङ र प्रमोसन कसरी गर्ने हाम्रो हातमा हुँदैन ।
समकालीन नायकमध्ये कोसँग काम गर्न सजिलो लाग्छ ?
काम गराई आफूमा पनि भर पर्ने कुरा हो । कति मित्रवत हुनुहुन्छ, त्यसले पनि फरक पार्छ । म सजिलो खालको मानिस हुँ । कहिले पनि आफ्नो मात्रै नभई अर्को साथीहरूको पनि संवाद कसरी सुधार्न सकिन्छ भनेर सोच्ने गर्छु ।
जीवन सहज कसरी बनाउन सकिन्छ ?
उत्कृष्ट कामभन्दा पनि खुसी कसरी हुने भन्नेतर्फ ध्यान दिन सक्यौं भने जीवन सहज हुन्छ जस्तो लाग्छ ।