रोकिएन कर्णालीको कटान, सुत्दैनन् श्रीलंकाबासी

रोकिएन कर्णालीको कटान, सुत्दैनन् श्रीलंकाबासी

टीकापुर : हिउँदमा भारतको जंगलबाट आउने जंगली हात्तीबाट त्रसित हुने श्रीलंकाबासी वर्षायाममा कर्णालीको कहरका कारण रातभर सुत्दैनन्। टीकापुर नगरपालिका-८ मा पर्ने श्रीलंकामा कर्णाली नदीले सुरु गरेको एक महिनादेखिको कटान अझै रोकिएको छैन।

उर्वर भूमि वर्षेनी कटान हुँदै गएपछि अधिकांश स्थानीयले श्रीलंका छोडिसकेका छन्। विपन्न परिवारका नेपाली र लामो समयदेखि श्रीलंकामा बसोबास गर्दै आएका भारतीय मूलका झण्डै ३ सय परिवारको मात्रै त्यहाँ बसोबास छ।

आकाशमा बादल लागेको दिन, नदीमा धमिलो पानी बगेको दिन प्रायः रातभर सुत्दैनन् उनीहरु। कर्णाली नदीमा २०४० सालमा आएको पहिलो बाढीले झण्डै तीन विघा जग्गा बगाएपछि घरबारबिहीन भएकी सुन्तली दमाई अझै श्रीलंकामै बसोबास गर्दै आएकी छन्। वर्षायाममा श्रीलंकाका अधिकांश परिवार रातिभर जागराम बस्ने गरेको उनले बताइन्। 

'०४० सालमा बाढी आउँदा धेरै मान्छे बगे, जग्गा बग्यो, गाईबस्तु केही रहेनन्', सुन्तलीले भनिन्, 'नदीले बगाउने डरले हामी रातभर जागै बस्छौं।' नदीमा पानीको सतह बढेको दिन टोलबासी एकै ठाउँमा गएर बस्ने गरेको उनले बताइन्। 

तराईमा पानी परोस् वा नपरोस, कर्णालीको बाढीसँग तराईको वर्षाको खासै साइनो हुन्न तर उत्तरको पहाडमा कालो बादल मडारियो भने श्रीलंकाबासीको होस उड्न सुरु हुन्छ।जतिबेला पनि नदी गाउँ पस्ने खतरा रहेका कारण रातिको समयमा जागै बस्ने गरेको स्थानीय पदमे लुहारले बताए।'केटाकेटी, वृद्धवृद्धाबाहेक नदी बढेको समयमा समुदायलाई सचेत गराउन हामी सुत्दैनौं', लुहारले भने, 'हरेक वर्षामा रातभर जाग्ने हाम्रो ड्युटी नै बन्ने गरेको छ',

नदीमा पानीको सतह बढ्दा कतिपय नेपाली सँगैरहेका भारतीय गाउँमा जाने गर्छन्। भारतको सीमानामै केही अग्ला घरहरु छन्। चारैतिरबाट नदीले घेरेको हुनाले ज्यान जोगाउन त्यतै जाने गरेको स्थानीय बताउँछन्।'नदीमा बाढी आउन थालेपछि हामी भारततिर लाग्छौं, स्थानीय हरिकला बुढाले भनिन,'ज्यान जोगाउन केही त गर्नै पर्‍यो।'

वर्षेनी नदीको बाढी पस्ने गरे पनि श्रीलंकामा राम्रो अन्न फल्छ। अधिकांशले यहाँ खेती गरेरै अन्तै बास बस्ने गरेका छन् ।भएको जग्गा नदीले कटान गरेपनि अन्त जाने विकल्प नभएकाहरु खेतमा टहरा निर्माण गरेर बसोबास गर्दै आएका छन्।

लामो समयदेखि सुरक्षित बासस्थानको माग गरेपनि कसैले सुनुवाई नगरेको उनीहरुको गुनासो छ। 'हामीले सुरक्षित बास माग्न थालेको धेरै वर्ष भयो, लुहारले भने, 'हाम्रा लागि कसैले सुनुवाई गरेनन्।'

चुनावका बेला त्यस क्षेत्रमा आउने नेताको चुनावी मुद्धा 'कर्णालीमा पक्‍की बाँध र घरबारबिहीनलाई सुरक्षित बासस्थान' हुने गरेको श्रीलंकाबासी बताउँछन्।'हुनेखाने श्रीलंका छाडेर गइसके, हाम्रो कोही छैन, कहाँ जाने ?' हरिकला बुढाले गुनासो गरिन। 'चुनावमा नेता आउँछन्, आश्वासन दिन्छन्, गरेको केही पनि छैन।'
 
कर्णाली नदीले यस वर्ष झण्डै ३० विघा बढी जमिन कटान गरेको छ। कर्णाली आधारभूत विद्यालयका शिक्षक शेरबहादुर बुढाले यस वर्ष कर्णाली नदीले दीपेन्द्र भण्डारी, गोपाल साउँद, पुनिराम चौधरी, धरम बहादुर चौधरी, कर्ण चौधरी, बिन्तीराम चौधरी, खड्गप्रसाद भण्डारीलगायतको ३० विघा बढी जमिन कटान गरेको बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.