‘बेटी पढाउनुअघि बेटी बचाऊ’
जनकपुरधाम : प्रदेश २ सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान जारी राख्दै गर्दा देशैभरि बलात्कारका घटना अत्यधिक हुन थालेपछि सर्वप्रथम बेटी बचाउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने प्रदेशसभा सांसदहरूले माग गरेका छन् ।
प्रदेशसभाको शुक्रबार बसेको २८ औं बैठकको विशेष समयमा बोल्दै राजपा नेपालका सांसद मनिष सुमनले भने ‘प्रदेशमा भइरहेका बलात्कारका घटना सुन्दा लज्जाबोध हुन्छ’, उनले थपे, ‘छोरीचेली बलात्कृत हुनु निकै दुर्भाग्यपूर्ण रहेकाले बलात्कारीलाई फाँसीको सजाय दिँदा पनि कमै हुन्छ’, उनले थपे, ‘म पनि एक छोरीको पिता हुँ तर मलाई पिता हुनुमा गर्व छ ।
बैठकमा बलात्कार घटनाप्रति निकै आक्रोशित भई प्रस्तुत भएकी कांग्रेसकी सांसद शोभा लामाले बलात्कारीको हदैसम्मको कारवाही गर्नुपर्ने माग गरिन् । उनले मुख्यमन्त्री राउतले ल्याएको बेटी पढाऊ बेटी बचाऊ अभियान विधिवत् रूपमा प्रारम्भ भइसकेकाले पहिला छोरीलाई सुरक्षा दिनुपर्नेमा जोड दिइन् ।
नेकपाकी सांसद रुबीकुमारी कर्णले पनि बलात्कारीहरूलाई नपुंसक बनाई आजीवन कैदको सजाय हुने खालको कानुन बनाउन प्रदेश सरकारसँग माग गरिन् । बलात्कारका घटना अत्यधिक बढेकाले बलात्कारीलाई फासीको सजाय दिने कानुन बनाउने भन्दा पनि बलात्कारीलाई नपुंसक नै बनाएर आजीवन काराबास दिने कानुन बन्नुपर्ने धारणा राखिन् ।
राजपा नेपालकी सांसद सुरिता साहले महोत्तरीको औरहीमा सात वर्षीय दूधे बालिकामाथि भएको घटनाको निन्दा गर्दै दोषीलाई कडा कारवाहीको माग गरिन् । लागुऔषधको प्रयोगका कारण बलात्कारजस्तो जघन्य अपराध बढेको भन्दै प्रदेश सरकारले लागुऔषध सेवन तथा यससम्बन्धी कार्यमा संलग्नलाई कारवाही गरी पूर्णतः नियन्त्रित गर्नुपर्ने साहले माग गरिन् । त्यस्तै सांसद प्रमिलादेवी दासले महोत्तरीको औरहीमा भएको घटनाबारे प्रदेश सरकारले छानबिन गरी सत्यतथ्य सदनलाई जानकारी गराउनुपर्ने माग गरिन् । उनले घरेलु हिंसा तथा दाइजोका कारण यातना भोग्न विवश महिलाहरूको प्रदेश सरकारले उद्धार गर्नु अति आवश्यक रहेको औंल्याइन् । सदनमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले महोत्तरीको औरही नगरपालिकामा सातमहिने शिशुको अपहरणपश्चात् भएको हत्या निकै दुखद् र निन्दनीय रहेको बताए । उनले भने, ‘यो मानवीय प्रवृत्ति हुनै सक्दैन, तथापि हामीले यो सत्यलाई स्वीकार गर्नैपर्ने हुन्छ ।
घटनामा संलग्न दोषीलाई पक्राउ गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समेतले विभिन्न अभियान जारी राखेको सदनमा जानकारी गराउँदै मन्त्री यादवले भने, ‘प्रतिवादी लुकेर बसेका भए पनि चाँडै पक्राउ पर्नेछन् । बलात्कारीलाई सजाय दिन कडाभन्दा कडा कानुन पनि प्रदेश सरकारले बनाइराखेको मन्त्री यादवले सदनमा जानकारी गराए । औरहीमा भएको बालिका अपहरण र हत्या घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति पनि बनाएर छानबिन गर्नुका साथै दोषीलाई कडाभन्दा कडा कारवाही गरिने मन्त्री यादवले सदनमा जानकारी गराए । प्रदेशसभाको दैनिक कार्यसूचीअनुसार मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाको सर्तसम्बन्धी बनेको विधेयक २०७५ बहुमतले पारित गरिएको छ । प्रदेशसभाको बैठक शनिबारसम्मको लागि स्थगित गरिएको छ ।