निर्मलालार्इ सम्झिएर झस्किइरहन्छन् सहपाठीहरू

निर्मलालार्इ सम्झिएर झस्किइरहन्छन् सहपाठीहरू

महेन्द्रनगर : कञ्चनपुरको सरस्वती माविको कक्षा ९ मा अध्ययनरत जानकी भट्ट स्कुलमै बेलाबेलामा झस्किन्छिन्। झस्किने मात्र होइन, हिजोआज उनलाई पढाइमा पनि मन गएको छैन।

कक्षाकोठामा प्रवेश गर्नेबित्तिकै निर्मला बस्ने ठाउँमा उनको दृष्टि परिहाल्छ। किनभने निर्मला र जानकी एउटै बेन्चमा बस्थे। ‘३७ दिन भयो, निर्मलाको सम्झनाले सताइरहन्छ। पढ्न मनै लाग्दैन’, जानकीले मलिन अनुहार लगाउँदै भनिन्, ‘निर्मला नहुँदा कक्षा अँधेरो लाग्छ।’ कक्षा २ देखि सँगै पढेकी जानकीलाई मिल्ने साथी निर्मलाको यादले राति निद्रासमेत पर्न छाडेको छ।

‘मेरो साथीको बलात्कारपछि हत्या भएको महिना दिनभन्दा बढी भइसक्यो’, उनले भनिन्, ‘अहिलेसम्म हत्यारालाई पक्राउ गरिएको छैन, हत्यारालाई छिटो पक्राउ गरी हाम्रो साथीले न्याय पाउनुपर्छ।’

कक्षा १ देखि सँगै पढ्न थालेकी पूजा चन्द पनि निर्मलाको बलात्कारपछि हत्या भएको घटनाबाट त्रस्त छिन्। कक्षामा बसेर पढ्दा उनको मस्तिष्कमा बेलाबेला निर्मलाको अनुहार झल्किइरहन्छ। ‘निर्मलासँगै छु कि भन्ने आभास हुने गर्छ। तर एकैछिनमा निराश हुन्छु’, उनले भनिन्, ‘मिलनसार र पढाइमा समेत अब्बल साथी गुमाउदाँ नरमाइलो लागिरहन्छ।’

निर्मलासँग सानैदेखि सँगै पढेकी साथी गीता जोशी पनि हुन्। ‘हत्यारा अहिलेसम्म पक्राउ नपर्दा कतै न्याय नपाइने हो कि भन्ने चिन्ता लागेको छ’, उनले भनिन्। अहिलेसम्म निर्मलाका वास्तविक हत्यारा फेला परेका छैनन्। उनलाई पनि निर्मलाले न्याय नपाउने हुन् कि भन्ने चिन्ता लागिरहेको छ।

घटनापछि बालबालिकामा मनोवैज्ञानिक असर परेको विद्यालयले जनाएको छ। ‘कतिपय बालबालिका स्कुल आउनै मानिरहेका छैनन्, आउने पनि त्रस्त देखिन्छन्’, विद्यालयका प्राचार्य जगन्नाथ पाण्डेयले भने, ‘निर्मलाका हत्यारा पक्राउ नपर्दा झनै बालबालिका मानसिक रूपमा तनावमा परेका हुन्।’ निर्मलाका हत्यारालाई छिटो पक्राउ गरेर कडाभन्दा कडा सजाय हुनुपर्नेमा उनको पनि जोड छ।

निर्मलाको शव भेटिएको निम्बुखेडा खोलानजिकैको उखुबारी क्षेत्र भएर विद्यालय आउजाउ गर्ने बालबालिका स्कुल आउन डराउने गरेको पाण्डेयले बताए। कक्षा ११ मा नयाँ भर्ना हुन आउने विद्यार्थी पनि घटनापछि घटेको उनको भनाइ छ।

निर्मलाका साथीले सोधे, प्रधानमन्त्रीज्यू, कारबाही खै ?

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका सहपाठीले प्रधानमन्त्री केपी ओलीलाई चिठी लेखेका छन्। चिठीमा उनीहरूले आफ्नो साथीको बलात्कारपछि हत्या गर्ने दोषी पक्राउ नपरेको भन्दै प्रधानमन्त्रीसमक्ष गुनासोसमेत गरेका छन्।

निर्मलाका साथी जानकी भट्ट, लक्ष्मी बडू, पूजा चन्द र गीता जोशीले प्रधानमन्त्रीलाई पत्र लेखेका हुन्। उनीहरूले साथीका हत्यारा कहिले पक्राउ पर्छन् ? भनेर प्रधानमन्त्रीसमक्ष प्रश्न गरेका छन्। साथीको हत्या भएको ३७ दिन बितिसक्दा पनि हत्यारा पक्राउ नपर्दा उनीहरू चिन्तित छन्।

हत्यारा पक्राउ नपर्दा आफूहरू मानसिक तनाव र असुरक्षामा रहेको उनीहरूको भनाइ छ। त्यसैले छिटोभन्दा छिटो हत्यारा पक्राउ गरेर कारबाही गर्न उनीहरूको आग्रह छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.