इन्डोनेसियामा गज्जबको खेलसंस्कृति
जकार्ता (इन्डोनेसिया) : करिब ६५ वर्षको हाराहारी उमेरकी सुप्रीति सुतोनो ६ देखि १२ वर्ष उमेरका तीनजना बालबालिकालाई डोर्याएर गेलोरो बुङ कार्नो खेल परिसरस्थित ब्याडमिन्टन हलको दर्शकदीर्घामा पुग्न आफ्नो उमेरकै तालमा भर्याङ उक्लँदै छिन् । आफूले डोर्याएका तीनैजना बालबालिकाको मुहारमा खुसी र उत्साह देखेरे उनी आफैं पनि मक्ख परेकी छन् ।
केही समयअघि मात्र उनले निकै लामो लाइनमा बसेर आफू र केटाकेटीका लागि टिकट किनिसकेकी थिइन । खासमा उनी आफ्ना नाति÷नातिनाको करबलका कारण जकार्तामा जारी १८औं एसियाली खेलकुदमा ब्याडमिन्टन हेर्न आइपुगेकी हुन् । करिब २० मिनेट लाइनमा बसेर टिकट किनेकी सुप्रीति भर्याङ उक्लिएर दर्शकदीर्घाका लागि छुट्याइएको गेटमा पुग्नै लागिसक्दा पनि टिकटका लागि बाहिर उत्तिकै ठूलो लाम देखिन्छ ।
‘इन्डोनेसिया विन’ टुटेफुटेको अंग्रेजीमा उनी भन्छिन् । सँगसँगै केटाकेटी पनि चिच्याउँछन्, ‘इन्डोनेसिया विन’ । वास्तवमा अधिकांश इन्डोनेसियन आफ्नै भाषा र संस्कृतिलाई बढी माया गर्छन् । त्यसैले ढल्कँदो उमेरका त परको कुरा, युवा र तन्नेरीसमेत हम्मेसी अंग्रेजी बुझ्दैनन् वा बोल्नै चाहँदैनन् । भित्र खेल सुरु भएकै छैन, गेट बाहिरैबाट उनीहरूले भने आफ्नो देशका खेलाडी विजयी भएको घोषणा गरिसकेका छन् । कभर्डहलभित्र पनि इन्डोनेसियाको समर्थनमा उत्तिकै चर्को हल्ला छ ।
एथलेटिक्सका स्पर्धाहरू भइरहेको मुख्य रंगशालाको अवस्था त झनै अचम्मको छ । चर्को गर्मीका कारण एथलेटिक्सका स्पर्धाहरू साँझ ६ बजेपछि मात्र सुरु हुने भए पनि टिकटका लागि लागेको लाम भने दिउँसो ३ बजे नै विशाल रंगशालाको गेटभन्दा बाहिर पुगिसकेको छ । ४५ वर्षीय मोहम्मद अहसान पसिना पुछ्दै लाइनको मध्य भागसम्म पुगिसकेका छन् । परिवारका ६ जना सदस्यलाई लिएर सहरको दक्षिणी भागबाट एथलेटिक्स हेर्न आएका अहसानलाई टिकट सकिएला भन्ने पनि उत्तिकै चिन्ता छ ।
अधिकांश इन्डोनेसियन आफ्नै भाषा र संस्कृतिलाई बढी माया गर्छन् । त्यसैले ढल्कँदो उमेरका त परको कुरा, युवा र तन्नेरीसमेत हम्मेसी अंग्रेजी बुझ्दैनन् वा बोल्नै चाहँदैनन् ।
मूल रंगशालाको छेउमै दर्शकको मनोरञ्जनका लागि छुट्टै व्यवस्था गरिएको छ । कोही आफ्नै धुनमा नाच्न व्यस्त छन् भने कोही अनुहारमा आफ्नो देशको झन्डा बनाउन । स्टलहरूमा आफ्नो रुचिको परिकार खान लाम लाग्नेको पनि कमी छैन । थुप्रै केटाकेटी खेलौनाको स्टलमा झुम्मिएका छन् भने युवा र तन्नेरी सांगीतिक कार्यक्रममा व्यस्त देखिन्छन् । यही भीडमा कतै रमाउँदै होलान्, मोहम्मद अहसानको परिवारका बाँकी ६ सदस्य पनि ।
इन्डोनेसियाको राजधानी सहर जकार्ता र पालेम्बाङमा जारी एसियाली खेलकुदको १८औं संस्करण उत्तराद्र्धतिर पुगिसक्दा पनि समर्थकको उत्साहमा भने कुनै कमी देखिँदैन । खेलाडी पदकका लागि मैदानमा भिडिरहेकै छन्, अनि दर्शकको उत्साह पनि त्यत्ति नै छ, जति प्रतियोगिता सुरु हुँदाको पहिलो दिन थियो । समग्रमा भन्नुपर्दा करिब एक करोड जनसंख्या धानिरहेको इन्डोनेसियाको यो राजधानी सहर पछिल्लो १४ दिनदेखि पूरै खेलमय बनेको छ ।
‘हाम्रा खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका छन्, त्यसैले उनीहरूको हौसला बढाउनु हाम्रो दायित्व हो’, ४० वर्षीय पेभी पुत्र भन्छन् । उनी रंगशाला परिसरमै रहेको पौडी पोखरीमा इन्डोनेसियाली महिला वाटरपोलो टोलीको हौसला बढाउन आएका हुन् । स्वस्थ मनोरञ्जनका लागि खेलकुद सबैभन्दा गतिलो माध्य हो भन्ने उनको बुझाइ छ ।
स्थानीय स्कुलका शिक्षक पेभी बिदाको मौका छोपेर खेल हेर्न रंगशाला पुगेका रहेछन् । संसारकै सबैभन्दा बढी ट्राफिक जाम हुने सहरहरूमा पर्ने जकार्तामा सरकारले एसियाली खेलकुदका लागि भनेर विद्यालयहरूमा बिदा दिएको छ । एसियाली खेलकुदका क्रममा सडकमा सवारीको चाप कम गराउने सरकारको यो पनि एउटा जुक्ति हो । यसदेखि बाहेक सडकमा ट्राफिक जाम कम गराउन सवारीसाधनमा जोर÷बिजोर प्रणाली लागू गरिएको छ भने अधिकांश सडकलाई एकतर्फी बनाइएको छ ।
‘हामी चलचित्र हेर्न वा सर्कस हेर्न पैसा खर्चन्छौं । सांगीतिक कार्यक्रम हेर्न पनि टिकटमा ठूलै धनराशि खर्च गर्छौं तर देशको गौरव बढाउन मैदानमा पसिना बगाउने खेलाडीको खेल हेर्न किन कञ्जुस्याइँ’, पेभी प्रश्न गर्छन् । उनका अनुसार इन्डोनेसियाली बालबालिका र युवामाझ ठूलो संख्यामा खेलाडीहरू पनि ‘रोल मोडेल’का रूपमा स्थापित छन् ।
‘पछिल्लो समय हाम्रो देशमा खेलकुदको सुन्दर संस्कृति विकास हुँदै गएको छ । ठूलो संख्यामा बालबालिका पनि खेल क्षेत्रमा होमिएका छन् । खेल क्षेत्रमै लागेर नाम र दाम कमाउन चाहनेको जमात पनि बढ्दो छ । अधिकांश खेलाडी समाजमा रोल मोडलका रूपमा स्थापित भएका छन् । त्यसैले सरकारले पनि खेलकुद क्षेत्रको विकासमा ठूलो धनराशि लगानी गरेको छ’, उनी भन्छन् । लाग्छ, खेलकुद क्षेत्रको प्रशंसाका लागि खर्च गर्न पेभीसँग शब्दको कमी छैन । आफ्ना खेलाडीको मनोबल बढाउन रंगशाला पुगेका पेभी हङ्कङका खेलाडीले गोल गर्दा पनि ताली बजाउन पछाडि पर्दैनन् । सायद यही होला, स्वस्थ खेल भावना र खेलसंस्कृतिको विशेष रूप ।
मध्य जकार्तास्थित गेलोरो बुङ कार्नो खेल परिसरमात्र होइन, एसियाली खेलकुदका खेलहरू भइरहेको हरेक भेन्यु (खेलस्थल)को अवस्था उस्तै छ । हरेक खेलका ‘भेन्यु’ हरू भव्य, सुविधासम्पन्न र प्रविधिमैत्री छन् । लाग्छ, सरकारले देश विकासको सबै बटेज खेलकुदको पूर्वाधार निर्माणमै रित्याएको छ । गेलोरा बुङ कार्नो खेल परिसर मात्र पनि भक्तपुर जिल्लाको करिब आधा भूभाग बराबरको क्षेत्रफलमा फैलिएको छ । अनि हरेक खेलस्थलमा दर्शकको उत्तिकै उत्साहपूर्ण सहभागिता देख्न पाइन्छ, चाहे त्यो जकार्ताभन्दा आधा घन्टाको दूरीमा रहेको जीएक्सपो खेल परिसर होस् वा गाडीबाट दुई घन्टाको दूरीमा रहेको पश्चिम जाभास्थित गुनुङ मस पुन्काक (प्याराग्लाइडिङको भेन्यु) ।
मैदानमा खेलाडीको तँछाडमछाड र प्यारापिटमा दर्शकको चर्को होहल्ला त छँदैछ, त्यसबाहेक आफ्नो सरकारले आँटेको एसियाली खेलकुद आयोजनाको जिम्मेवारीलाई सफल पार्न निजी क्षेत्रले समेत उत्तिकै जोडतोडका साथ होस्टेमा हैंसे गरेको देख्न पाइन्छ । सहरका मुख्य सडक छेउमा रहेका विशाल व्यावसायिक भवनमा मात्र होइन, सहरको भित्री भागमा रहेका आवासीय क्षेत्रका प्रत्येक घरमा समेत १८औं एसियाडका ठूल्ठूला होर्डिङ बोर्ड, ब्यानर र डिजिटल डिस्प्ले राखिएका छन् । विमानस्थलबाट करिब ४५ मिनेटको दूरीमा रहेको मुख्य जकार्ता सहर पुगुन्जेलसम्म यस्ता घर सायदै भेटिन्छन् जहाँ १८औं एसियाडका ब्यानर र इन्डोनेसियाको राष्ट्रिय झन्डा राखिएको नहोस् ।
‘देशका हरेक नागरिक सरकारको एउटा रूप हो । त्यसैले सरकारले आँटेको यत्रो ठूलो जिम्मेवारी पूरा गर्नु हाम्रो पनि कर्तव्य हो’, केबायोरन बारुस्थित भलिबल कभर्ड हलमा भेटिएका अनगुन विजया भन्छन्, ‘त्यसैले यो एसियाली खेलकुदलाई सफल बनाउन हरेक नागरिकले आआफ्नो स्थानबाट सक्दो योगदान पुर्याएका छन् ।’ १८औं एसियाडमा एसियाका ४५ राष्ट्रका १६ हजारभन्दा बढी खेलाडी, प्रशिक्षक, निर्णायक, खेल पदाधिकारी र सञ्चारकर्मीको सहभागिता छ ।
पक्कै पनि समग्र एसियालाई समेट्ने यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सरकारको आँटसँगै नागरिकको स्वतस्फूर्त सहयोग र छुट्टै खेलसंस्कृतिको लहर पनि चाहिन्छ भन्ने उदाहरण इन्डोनेसियाले प्रस्तुत गरेको छ । त्यसैले त भियतनाममा गर्ने भनिएको १८औं एसियाड आयोजनाको जिम्मेवारी अन्तिम समयमा आफ्नो काँधमा आएको चार वर्षभित्रै इन्डोनेसियाले त्यो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेर देखाएको छ ।
सँगसँगै इन्डोनेसियाली सरकार र यहाँका नागरिकले यति बेला १८औं एसियाडको नारा ‘इनर्जी अफ एसिया’ अर्थात् ‘एसियाको ऊर्जा’लाई समेत साकार पारेर देखाएका छन्; समग्र एसियाको फरकफरक संस्कृति, रहनसहन र भेषभूषालाई एउटै थलोमा आफूभित्र समाहित गरेर । अनि यो ऐतिहासिक अभियानलाई सफल तुल्याउने मुख्य पात्र हुन्, इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो । उनकै विशेष रेखदेख र अभिभावकत्वमा थुप्रै टापुहरूको देश इन्डोनेसियाले यो अभियानलाई मूर्त रूप प्रदान गरेको हो ।
राष्ट्रपति विडोडो तिनै व्यक्ति हुन्, जसले प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिको भूमिका निर्वाह गर्न मोटरसाइकल स्टन्ट गर्दै आयोजना स्थलसम्म पुगेर रंगशालामा उपस्थित हजारौं विदेशी पाहुनालाई पनि आश्चर्यमा पारेका थिए । प्रतियोगिताको उद्घाटन समारोहपछि पनि हरेक दिनजसो उनी प्रतियोगिताको कुनै न कुनै खेल स्थलमा निरन्तर धाइरहे, चाहे त्यो आफ्ना खेलाडीको मनोबल बढाउन होस् वा आफ्नै देशमा आयोजना भएको एसियाली खेलमेलाको साक्षी बन्न ।