अरूले छोएको नखानु धर्म हो ?
कतिपय मानिस अरुले छोएको खाँदैनन्। कतिपय स्वयंपाक्य छन्। कतिपय आफ्ना सम्प्रदायका मानिसले पकाएर दिएको खानेकुरा मात्र खान्छन्। यस्तो किन गरेको होला ? यसको विज्ञान के हो ?
एउटा नकारात्मक विचार छ, अर्को सकारात्मक विचार छ, अर्को निर्विचार छ। ध्यान गर्ने प्रत्येक व्यक्तिलाई विचारका तीनवटै अवस्थाका बारेमा थाहा हुनुपर्छ र हुन्छ। मानिसहरू भन्छन्, निर्विचारमा जानै सकिन्न, तर ध्यानको अभ्यास गर्नेहरूले निर्विचारको अनुभव गरेका छन्। त्यसैले भन्न सक्छौं– निर्विचार अवस्था पनि छ। त्यहाँ कुनै प्रकारको विचार रहँदैन।
यसैगरी खानेकुरामा पनि तीनवटा स्थिति छ। पहिलो, अस्वस्थकर या अशुद्ध खाना। खाना पकाउँदा कस्तो स्थितिमा बनाइयो, त्यो जान्नुपर्छ। बाहिर जाँदा लगाइएका कपडा लगाएर खाना बनाएको छ भने त्यो खाना दूषित हुन सक्छ। बाहिर, शौचालय गएका लुगा फुकालेर धोएको लुगा लगाई खाना बनाउनु उपयुक्त हुन्छ। फोहोर ठाउँमा बसेर, फोहोर लुगा लगाएर, फोहोर सामान प्रयोग गरेर खाना बनाउँदा त्यसले नकारात्मक ऊर्जा दिन्छ। हाम्रो मन र शरीर दुवैलाई अस्वस्थ बनाउँछ र भावचित्त पनि अस्वस्थ हुन्छ। अस्वस्थ र फोहोर ठाउँमा बसेर कुनै पनि मानिसको भाव शुद्ध हुँदैन। त्यसैले खाना बनाउने ठाउँ र खाना बनाउने मानिस पवित्र, शुद्ध र स्वस्थ हुनुपर्छ।
अब एक तहमाथि उठौं। एक तह माथि उठ्नु भनेको विकसित हुनु हो। नकारात्मकबाट सकारात्मकमा आउनु हो। पहिले नकारात्मक विचार चल्थ्यो भने अब राम्रा कुरा खेल्न थाल्छ र सद्विचार आउन थाल्छ। शुद्ध खानेकुरा बनाउन मन लाग्छ। हातखुट्टा धोई सफा भएर मात्र खानेकुरा बनाउन थालिन्छ। भान्सा सफा गरिन्छ। भाँडाकुँडा पनि सफा राखिन्छ। खाद्यपदार्थहरू केलाएर मात्र खान बनाइन्छ। यसले हाम्रो मन र शरीर शुद्ध गर्छ र हामी स्वस्थ हुन्छौं। यो स्वस्थ बन्ने विधि हो।
केही सम्प्रदायले सकेसम्म आफैं बनाउने, नत्र आफूले जस्तैगरी सफा गरेर बनाएको खाना खाने नियम बसाले। यो नियमको पालना गर्नु एक सिँढी चढ्नु हो। त्यसो गर्दा मानिसका मन र शरीर दुवै स्वस्थ हुन्छन्। सबैले यसैगरी स्वस्थकर खाना खानु उपयुक्त हुन्छ। विभिन्न सम्प्रदायले आफ्नो सम्प्रदायका मान्छेले मात्र बनाएको खाने तर अरु सम्प्रदायले बनाएको नखाने नियम बसाले। योचाहिँ यसको विज्ञान नबुझेर हो।
कुनै पनि व्यक्तिले शुद्धसँग खाना बनाएको छ भने खान हुन्छ। अशुद्धसँग, फोहोरमा बनाएको छ भने खानु हुँदैन। आफ्नो सम्प्रदायका मानिसले फोहोर तरिकाले खाना बनाएको पनि खान हुने तर अर्को सम्प्रदायका मानिसले चाहिँ शुद्धसँग बनाए पनि खान नहुनु अज्ञानता हो। जो आफ्नो सम्प्रदायमा छन्, उनीहरूप्रति एउटा भरोसा जन्मिएको हुन्छ– मेरो सम्प्रदायका मानिसले अशुद्ध गरेर बनाउँदैनन् भन्ने। अरुले बनाउलान्, अरुका विषयमा थाहा छैन, तर मेरो सम्प्रदायका मानिसले अशुद्ध बनाउँदैनन् किनभने म पनि बनाउँदिनँ। मजस्तै हुन् उनीहरू पनि। मेरैजस्तो नियम र आचरणमा बसेका छन्। मेरै धर्मको पालना गर्छन् भन्ने भरोसा हुन्छ। यस्तो भरोसा भएकै कारणले आफ्नो सम्प्रदायका मानिसले बनाएको मात्र खाना खाने परम्परा बनेको हो।
शुद्ध र स्वस्थकर खानाले शरीर र मनलाई स्वस्थ बनाउँछ। ठीक हो तर स्वस्थ शरीरलाई केमा योग गर्ने, त्यतितिर पनि ध्यान दिनु जरुरी हुन्छ। नकारात्मक विचारबाट सकारात्मक विचारमा आएर पुग्दैन। जानु छ निर्विचारमा। निर्विचारमा अद्वैत फलित छ, जहाँ द्वैत विचार नै छैन। एउटा र दुइटाको भेद विचारले गर्ने हो। विचार नभएपछि न एउटा न दुइटा। सबै कुराको जानकारी छ, तर भेदभाव गर्ने विचार छैन, यो राम्रो, यो नराम्रो अनि यो तल, यो माथि भनी विभाजन गर्ने विचार समाप्त भयो भने निर्विचार हुन्छ। विभाजन गर्दासम्म अध्यात्म छैन। निर्विचारमा गएपछि मात्र परमात्माको दुनियाँ सुरु हुन्छ।
प्रेमले वस्तुलाई रूपान्तरण गर्न सक्ने र अस्वस्थकर खानालाई स्वस्थकर बनाउने सामर्थ्य राख्छ।
अरुले छाएको खाना नखानु स्वास्थ्यसँग सम्बन्धित छ, तर अरुले छोएको खाँदैमा धर्म हुन्छ भन्ने छैन। स्वस्थकर शुद्ध खानालाई पनि यसले छोएको र उसले छोएको भनेर विभाजन गर्नु बुद्धिमानी हुँदैन। तर फोहोर र सफामा विभाजन गर्न सकिएन, राम्रो अनि नराम्रोलाई छुट्ट्याउन सकिएन भनेचाहिँ संकटमा परिन्छ। त्यसकारण जात, धर्म, लिंगका आधारमा शुद्ध अशुद्ध छुट्ट्याउनुभन्दा फोहोर र सफाका आधारमा शुद्ध, अशुद्ध छुट्ट्याउनु उपयुक्त हुन्छ।
अब त्यसभन्दा एक तहमाथि उठ्नुपर्छ, जहाँ समानता छ। हाम्रा पूर्वजले यस्तो समानता सिकाएका छनु, जहाँ छुवाछूत छैन। जहाँ चोखो पनि रहेन। बिटुलो पनि रहेन। फोहोर पनि रहेन र सफा पनि रहेन। राम्रो र नराम्रो केही रहेन। किन रहेन भने जहाँ सदा उज्यालो छ, त्यो ठाउँमा उज्यालोको कुरा गर्नु अर्थहीन हुन्छ। अँध्यारो भइदिए पो उज्यालोको कुरा गर्नु।
अँध्यारो नै छैन र सदा उज्यालो मात्र छ भने त्यो ठाउँमा कसले अँध्यारोको चर्चा गर्छ र ? त्यसकारण उज्यालो र अँध्यारो भन्नै मिलेन। उज्यालोको व्याख्या गर्न अँध्यारो नै चाहिन्छ। राम्रोको व्याख्या गर्न नराम्रो चाहिन्छ। नराम्रो हुँदै नभएपछि राम्रोको चर्चा गर्नु आवश्यक रहेन। त्यसैलाई अद्वैत भनियो। अद्वैत कसरी फलित हुन्छ भन्ने कुरामा खानाबाटै जाऊँ। एउटा अशुद्ध र अस्वस्थकर खाना, अर्को शुद्ध र स्वस्थकर खाना। स्वस्थकर कसले बनाउँछ ? एउटा यस्तो तत्व छ, जसले अस्वस्थकरलाई पनि स्वस्थकर बनाउँछ, अशुद्धलाई शुद्ध बनाउँछ। त्यो तत्वलाई लिएर हिँडेका छौं भने कुनै कुरा अशुद्ध हुँदैन।
सबैलाई शुद्ध बनाउने तत्व हो– प्रेम। जुन मानिससँग प्रेम र श्रद्धा छ, त्यसले खानेकुरा बनाएर दियो भने त्यो खाना कहिल्यै अपवित्र हुँदैन। प्रेम गर्ने मानिसले जसरी बनाएर दिए पनि राम्रो, जसरी बोले पनि राम्रो र जसरी हिँडे पनि राम्रो। प्रेम गरिसकेपछि कुनै चीज अशुद्ध हुँदैन। भगवान् रामले यो कुरा सिकाउनुभएको छ। त्यो बेलाको अछूत जातकी थिइन् शवरी। अछूत जातले छोएको खानु हुन्न भन्ने प्रचलन थियो। शवरीले भगवान् रामका लागि बयर टिपेर छुट्ट्याइन् र मीठो छ कि छैन भनी टोकेर मीठोमीठो भगवान्का लागि राखिदिइन्। भगवान् आउनुभयो, शवरीले बयर दिनुभयो र भगवानुले प्रेमपूर्वक सबै बयर खानुभयो। प्रेमले सबै कुरा शुद्ध र पवित्र बनाउँछ। शवरीले पहिल्यै आधा खाएर बाँकी राखेको बयर जुठो थियो होला, फोहोर थियो होला, बूढीमान्छे हुन्, रालसिँगान पनि बगेको थियो होला, तर प्रेमले, भक्तिले फोहोर, अशुद्ध र अवित्र देखेन।
प्रेम, भक्ति मिसिएको खाना वैकुण्ठ हो। शुद्ध खाना खानु स्वर्ग हो। अशुद्ध खाना नर्क हो। अशुद्ध खानाले दुःख दिन्छ, शरीर र मनलाई अस्वस्थ र बिरामी बनाउँछ। त्यस्तो वस्तु प्रयोग गर्नु नर्कलाई आमन्त्रण गर्नु हो। प्रेम त्यो वस्तुजस्तो हो, जो निरन्तर बलिराखेको छ र जसलाई अँध्यारोको कुनै ज्ञान छैन। प्रेम भइसकेपछि कुनै पनि खानेकुरा शुद्ध हुन्छ। प्रेमपूर्वक खाइयो भने विष पनि अमृत हुन्छ। अस्वस्थकर खानेकुरा पनि प्रेमपूर्वक कसैले खायो भने स्वस्थकर बन्छ। प्रेमले वस्तुलाई रूपान्तरण गर्न सक्ने र अस्वस्थकर खानालाई स्वस्थकर बनाउने सामर्थ्य राख्छ। मीरालाई विष खुवाइयो भगवान् कृष्णको प्रसाद हो भनेर। प्रेमपूर्वक, श्रद्धापूर्वक उहाँले विष खानुभयो। त्यही विषले अरु मरे, तर उनलाई केही भएन। प्रेमले विषलाई पनि अमृतमा रूपान्तरण गर्ने सामर्थ्य राख्छ। विषलाई पनि अमृत बनाइदिन्छ।
खानेकुरा भगवान्लाई भोग लगाउने प्रचलन खानालाई भक्तिभावले शुद्ध बनाउने विधि हो। त्यसकारण कुनै पनि व्यक्तिसँग प्रेम छ र उसले बनाएको खानेकुरा छ भने कुनै पनि खानेकुरा स्वस्थकर हुन सक्छ। होइन भने जथाभावी, जहाँसुकै अस्वस्थ हिसाबले बनाएको खानेकुरा नखानु नै हामी सबैका लागि हितकर हुन्छ। त्यसैले हामी सबैले शुद्धता र पवित्रतामा ध्यान दिन जरुरी छ।