लुम्बिनी तन्दुरी: भरियादेखि भिआइपीसम्मको रोजाइ
काठमाडौं : शेषकान्त पोखरेल २०५३ सालमा पहिलो पटक काठमाडौं आउँदा यहाँ ‘तन्दुरी रोटी’ पकाउने होटल उति देखिँदैनथे । प्रायः होटलमा चिया, सेलरोटी पाइन्थ्यो । खाजाका परिकार धेरै थिएनन् । ‘तन्दुरी भोजनालय छन् कि भनेर मैले काठमाडौंमा निकै खोजेँ । तर भेटिनँ’, उनले भने, ‘त्यसपछि ०५३ सालमा मैले नै टंकेश्वरमा तन्दुरी पकाएर बेच्न थालेँ ।’
अर्घाखाँची घर भएका शेषकान्त तन्दुरी रोटी बनाउन सिपालु थिए । ‘गाउँमा काम नपाएपछि भारत पुगें । नयाँ दिल्लीमा ढावामा काम पाएँ । त्यतिबैलै हो, तन्दुरी बनाउन सिकेको’, उनले सम्झिए । पछि दिल्लीमा आफैं ढावा खोलेँ । तर व्यापार खासै फस्टाएन ।’ त्यहाँका पुराना होटलसँग प्रतिस्पर्धा गर्नै गाह्रो भयो उनलाई । त्यसपछि उनले सोचे— अब आफ्नै देश गएर ढावा चलाउँछु । तन्दुरी बनाउने सामान गाडीकाे छतमा राखेर उनी सीधै काठमाडौं हिँडे ।
०५३ कात्तिक २३ गते शेषकान्तले कालिमाटी टंकेश्वरमा तन्दुरी भोजनालय खोले । होटलको नाम राखे, ‘भैरव लुम्बिनी तन्दुरी भोजनालय ।’ गौतम बुद्धको जन्मथलो हो– लुम्बिनी । अर्थात् शान्तिक्षेत्र । अर्घाखाँचीको एउटा प्रसिद्ध मन्दिरको नाम, भैरव । उनले भने, ‘दुवै पवित्र स्थल ।’ पवित्र स्थललाई आफ्नो होटलसँग गाँसे उनले ।
शेषकान्तले सुरुवात गरिदिए, अर्घाखाँचीवासीले काठमाडौंमा ‘लुम्बिनी तन्दुरी भोजनालय’ थप्दै गए । चूडामणि पोखरेलले कुलेश्वरमा यही नाममा दोस्रो होटल सुरुगरे । त्यसपछि पणेनी गाउँपालिकाका थुप्रैको रोजाइ बन्न थाल्यो, तन्दुरी भोजनालय । हिजोआज काठमाडौंमा लुम्बिनी तन्दुरी भोजनालय चलाएर बसेका धेरै साहुजीको एउटै दाबी छ, ‘काठमाडौंमा लुम्बिनी तन्दुरी भोजनालय पहिलो पटक खोल्ने मानिस शेषकान्त पोखरेल नै हुन् ।’ यही दाबी गर्नेमा थपिए बानेश्वरस्थित लुम्बिनी तन्दुरी भोजनालय चलाइरहेका कपिल पोखरेल पनि । उनी भन्छन्, ‘शेषकान्त अंकलले नै पहिलोपटक लुम्बिनी तन्दुरी भोजनालय चलाउनुभएको हो । हामीचाहिँ पछि आएका हौँ ।’ पोखरेलका आफन्त काठमाडौंमा थपिँदै गए । लुम्बिनी तन्दुरी भोजनालयको संख्या पनि बढ्दै गयो ।
अहिले काठमाडौंका गल्लीगल्लीमा माटोको घ्याम्पोमा तन्दुरी पकाइरहेका ‘लुम्बिनी तन्दुरी भोजनालय’ व्यापक भेटिन्छन् । ‘रोटी खान’ ढावामा पसियो भने त्यो ‘लुम्बिनी तन्दुरी भोजनालय’ नै हुने सम्भावना प्रबल हुन्छ । यद्यपि काठमाडौंमा अरू पनि तन्दुरी भोजनालय सक्रिय छन् । जे भए पनि लुम्बनी तन्दुरी भोजनालय एउटा ब्रान्ड नै बनिसकेको छ ।
म काठमाडौंमा ढावा खोल्छु । सालो, भान्जा आउँछन्, केही समय ढावामा काम गर्छन् । आफन्त आएसँगै ढावा पनि बढ्दै जान्छन् ।
कपिल पोखरेल सञ्चालक, बानेश्वरस्थित लुम्बिनी तन्दुरी भोजनालय
सेकाएको रोटी तन्दुरी भोजनालयको विशेष आकर्षण हो । तन्दुरीको अर्थ नै ‘सेकाएको’ भन्ने हुन्छ । लुम्बिनी तन्दुरी भोजनालयका नाममा आफूहरूले संघ नै स्थापना गरेको बताउँछन्, कपिल । यो संघमा अहिले १ सय ५० तन्दुरी भोजनालय दर्ता छन् । यसरी दर्ता भएका तन्दुरी भोजनालय प्रायः अर्घाखाँचीका बासिन्दाले चलाएका छन् । रमाइलो पक्ष त के छ भने यी मध्ये पनि अधिकाश एउटै गाउँपालिकाका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिकाका पोखरेलहरु नै धेरै छन् यो व्यवसायमा । तन्दुरी चलाउनेमा केहीकेही पाल्पा र गुल्मीका पनि जोडिएका छन् । ‘म काठमाडौँ आउँछु, ढावा खोल्छु । मेरा आफन्त आउँछन् । सगै काम गर्दा उनीहरुले पनि यसको सीप सिक्छन् केही समय अरुको काम गर्छन् र आफै नयाँ व्यवसाय सुरु गर्छन् । यसरी आफन्त काठमाडौंमा आएसँग तन्दुरी पसल पनि बढ्दै जान्छन्’, कपिल भन्छन्, ‘के गर्नु, अरू काम पाइँदैन ।’
कपिल २०६० मा अध्ययनका लागि काठमाडौं आएका थिए । यहाँ उनको अंकल (चुडामणी पोखरेल)को तन्दुरी भोजनालय थियो । अंकललाई व्यवसायमा सघाउँदै उनले शंकरदेव क्याम्पस पढ्न थाले । पढ्दापढ्दै उनले नयाँ तन्दुरी भोजनालय खोले, त्रिपुरेश्वरमा २०६३ सालमा । अहिले काठमाडौंमा उनले तीनवटा लुम्बिनी तन्दुरी भोजनालय चलाइरहेका छन् । उनले भने 'मेरो पसलमा सामान्य मजदूरी गर्ने भरियादेखि भिआइपीसम्मकाले आएर खाएका छन् । आधा दर्जनबढी मन्त्री त मेरै पसलमा आएर खाएका छन् ।' पूर्व रक्षामन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री सोमनाथ पाण्डे, पूर्वमन्त्री बीरबहादुर बलायरलगायतका नेताहरु उनका नियमित आउने गरेको उनले बताए ।
तन्दुरी रोटी घ्याम्पामा पकाइन्छ । पीठोलाई पातलो बनाएर बेलेपछि त्यसलाई घ्याम्पोभित्र सेकाइन्छ । धेरैले यसलाई ‘एकोहोरो रोटी’ (एकापट्टि मात्रै पकाइएको रोटी) पनि भन्छन् । काठमाडौंमा हिजोआज निकै चर्चित छ– तन्दुरी रोटी र तरकारी । यसले स्वास्थ्यलाई पनि फाइदा पु¥याउने भएपछि खाजाका रूपमा तन्दुरी खानेको जमात बढ्दै छ । डाक्टरले पनि बिरामीलाई ‘स्वस्थ रहन रोटी खानू’ भनेपछि तन्दुरीको माग झनै बढ्न थालेको छ ।
तर ०५१ सालतिर आफूले ढावा खोल्दा तन्दुरी रोटी खान आउनेहरू कम हुने गरेको शेषकान्त सुनाउँछन् । ‘एकोहोरो रोटी खानुहुँदैन भन्थे मान्छेहरू’, उनले भने, ‘बिक्दै नबिक्ने पनि होइन । त्यहीँबाट कमाएको पैसाले घरपरिवार धानेको थिएँ ।’ त्यतिबेला शेषकान्त दैनिक १०÷१२ आइटम पकाउँथे । तरकारीको परिकार नै धेरै हुन्थ्यो ।
समय बदलियो । ‘एकोहोरो रोटी’को खासै वास्ता हुँदैन । बस्, रोटी चाहिन्छ । शेषकान्त अनुमान गर्छन्, ‘अहिले त तन्दुरी बनाउन छाडेँ । तर अहिले त तन्दुरी खानेहरू बीसौं गुणा बढे जस्तो लाग्छ ।’ शेषकान्त हिजोआज तन्दुरी बेच्न छाडेर उनी तन्दुरी पसलकै लागि आवश्यक खाद्यान्न सप्लाई व्यवसायमा लागेका छन् ।
तन्दुरी रोटी बेचेरै अहिले राम्रो कमाइ गर्न सकिने अवस्था छ, काठमाडौंमा । बिहान, दिउँसो, बेलुकी तीनै समय प्रायः तन्दुरी भोजनालयमा मानिसको उपस्थिति बाक्लो हुने गर्छ । तन्दुरी बेचेर काठमाडौंमा सुबिस्ताकै जिन्दगी गुजार्न पुग्ने बताउँछन्, व्यवसायी । कपिल भन्छन्, ‘कामदारलाई तलब दिन पनि पुगेकै छ । खानलाउन पनि पुगेकै छ ।’
तन्दुरी भोजनालयको विशेष आकर्षण ‘तन्दुरी रोटी’ नै हो । केही तन्दुरी भोजनालयले खानालगायत अन्य स्वाद पनि पस्किन्छन् । बानेश्वरस्थित ‘लुम्बनी तन्दुरी भोजनालय’मा सयभन्दा बढी परिकार पाक्ने गरेको त्यहाँका कमर्चारी रवि कार्की बताउँछन् । रवि त्यस ‘तन्दुरी भोजनालय’का कुक हुन् । बिहान ७ देखि बेलुकी १० बजेसम्म उनी तन्दुरी र अन्य परिकार पकाउनै व्यस्त हुन्छन् । ‘मान्छेहरू आइरहन्छन् । खानेकुरा अर्डर गर्छन् । दिउँसोमा त सास फेर्ने फुर्सद पनि हुन्न,’ उनले भने ।