रोकिएन कर्णालीको कटान
टीकापुर : कर्णाली नदीले करिब ३० बिघाभन्दा बढी जमिन कटान गरेको छ । कर्णाली आधारभूत विद्यालयका शिक्षक शेरबहादुर बुढाले यस वर्ष कर्णाली नदीले दीपेन्द्र भण्डारी, गोपाल साउँद, पुनिराम चौधरी, धरम बहादुर चौधरी, कर्ण चौधरी, बिन्तीराम चौधरी, खड्गप्रसाद भण्डारीलगायतको ३० बिघाभन्दा बढी जमिन कटान गरेको बताए ।नदीले कटान गर्दै जाँदा स्थानीय त्रसित बनेका हुन् । उनीहरूले नदी कटान नियन्त्रणका लागि पहल गरिदिन आग्रह गर्दै आएका छन् । चारैतिरबाट कर्णाली नदीले घेरिएको टापु, त्यसैमा भारतको सीमासँग जोडिएको, त्यसैले त्यसलाई श्रीलंका भनिन थालिएको हो । हिउँदमा भारतको जंगलबाट हात्तीले त्रसित हुने श्रीलंकावासी वर्षायाममा कर्णालीको कहरका कारण रातभर सुत्दैनन् । टीकापुर नगरपालिका– ८ मा पर्ने श्रीलंकामा कर्णाली नदीले एक महिनादेखि सुरु गरेको कटान अझै रोकिएको छैन ।
निकै उर्वर भूमि बर्सेनि कटान हुँदै आएपछि अधिकांश स्थानीयले श्रीलंका छाडिसकेका छन् । विपन्न परिवारका नेपाली र लामो समयदेखि श्रीलंकामा बसोवास गर्दै आएका केही भारतीयमूलका करिब ३ सय स्थानीय त्यहाँ बसेका छन् ।
आकाशमा कालो बादल लाग्दा र नदीमा धमिलो पानी बगेको दिन प्रायः रातभर सुत्दैनन उनीहरू । कर्णाली नदीमा ०४० सालमा आएको पहिलो बाढीले तीन बिघा जग्गा बगाएपछि घरवारविहीन भएकी सुन्तली दमार्इं श्रीलंकामा बसोवास गर्दै आएकी छन् । वर्षायाममा श्रीलंकाका अधिकांश रातभर जाग्राम बस्ने गरेको उनले बताइन् ।
‘०४० सालमा बाढी आउँदा धेरै मान्छे बगे, जग्गा बग्यो, गाईबस्तु केही रहेनन्’ सुन्तलीले भनिन्, ‘नदीले कतिबेला बगाउने हो भन्ने डरले हामी रातभर जागै बस्छौं ।’ नदीमा पानीको सतह बढेपछि टोलवासी एकै ठाउँमा गएर बस्ने गरेको उनले बताइन् ।
तराईमा पानी परोस् वा नपरोस, कर्णालीको बाढीसँग तराईको वर्षाको खासै साइनो हुन्न तर उत्तरको पहाडमा कालो बादल मडारियो भने श्रीलंकावासीको होस उड्न थाल्छ ।
जतिबेला पनि नदी गाउँ पस्ने खतरा रहेका कारण वर्षायाममा राति जागै बस्ने गरेको स्थानीय पदमे लुहारले बताए । ‘केटाकेटी, वृद्धवृद्धाबाहेक नदी बढेको समयमा समुदायलाई सचेत गराउन हामी सुत्दैनौं’, लुहारले भने, ‘हरेक वर्षामा रातभर जागा बस्ने ड्युटी नै बनेको छ ।’
नदीमा पानीको सतह बढेर बाढी आउने अवस्था आएपछि कतिपय नेपाली सँगै रहेको भारतीय गाउँमा जाने गर्छन् । भारतको सिमानामै केही अग्ला घर छन् । चारैतिरबाट नदीले घेरेको हुनाले ज्यान जोगाउन त्यतै जाने गरेको स्थानीय बताउँछन् । ‘नदीमा पानी बढेर बाढी आउन थालेपछि हामी भारततिर लाग्छौं’, स्थानीय हरिकला बुढाले भनिन्, ‘ज्यान जोगाउन केही त गर्नै पर्यो ।’
बर्सेनि नदीको बाढी पस्ने गरेको भए पनि श्रीलंकामा राम्रो अन्न फल्छ । अधिकांशले खेती त्यहाँ गरे पनि घर अन्तै सारिसकेका छन् । भएको जग्गा नदीले कटान गरेपछि अन्त जाने विकल्प नहँुदा केही अरूको खेतमा टहरा बनाएर बसेका छन् ।
लामो समयदेखि सुरक्षित वासस्थान माग गरे भए पनि कसैले सुनुवाइ नगरेको उनीहरूको गुनासो छ ।
हरेक चुनावका बेला त्यस क्षेत्रमा आउने नेताको चुनावी मुद्दा कर्णालीमा पक्की बाँध र घरवारविहीन भएकालाई सुरक्षित वासस्थान हुने गरेको श्रीलंकावासी बताउँछन् । ‘हुनेखाने श्रीलंका छाडेर गइसके, हाम्रो कोही छैन, कहाँ जाने ? ’ हरिकला बुढाले गुनासो गरिन्, ‘चुनावमा नेता आउँछन्, आश्वासन बाँड्छन्, भएको केही पनि छैन ।’
जतिबेला पनि नदी गाउँ पस्ने खतरा रहेका कारण वर्षायाममा राति जागै बस्ने गरेको स्थानीय बताउँछन् ।