वीरगन्ज कोलाज
गमलाका फूल गोडमेल गर्दै थिएँ। मेरो १० वर्षे छोरो दौडिँदै आयो र मेरो एकाग्रता तोड्यो, ‘मामु ! मलाई रिमोट कन्ट्रोलवाला हेलिकोप्टर चाहियो।’
मैले भनेँ, ‘अस्ति नै दुईपटक किन्देको हैन। अब म फेरि किन्न सक्दिनँ।’
उसले त्यो बिग्रिनमा अनेक बहाना बनायो, आफ्नो गल्ती नभएको सिद्ध गर्न प्रयास गरिरह्यो, आफ्नो माग पूरा गराउन अनेक तर्क गर्दै मलाई फकाइरह्यो। मैले उसका प्रतिक्रियामा चासो नदेखाएपछि उसको नयाँ माग आयोे, ‘त्यसो भए मलाई ड्रोन किनिदिनोस् न त।’
मैले त्यो पनि हँदैन भनेँ।
आफ्नो माग पूरा नहुने भएपछि जंगिँदै भन्यो, ‘जाबो त्यति पनि नकिनिदिने, मलाई किन जन्माउनुभयो त ? ’ ऊ रिसले रातोपिरो हुँदै थियो। मलाई चाहिँ उसको रिसमा हाँसो लागिरहेको थियो।
हिजोआजका केटाकेटीहरू आमाबाबुलाई केही भन्न पनि डराउँदैनन्। उनीहरूको फर्माइस पूरा नगरिदिँदा केही उपद्रो वा बदमासी गर्लान् कि भन्ने पीर बाबुआमालाई भइरहन्छ। सानो छोरा रिसाएर गएपछि मलाई आफ्नो बाल्यकालको सम्झना गाढा भएर आयो।
हामी सानो छँदा बुवासँग बोल्न पनि डराउँथ्यौं। ठूलो काम नपरी हत्तपत्त बुवालाई केही भन्दैन थियौं। सानोतिनो काम त आमालाई भन्दा नै भइहाल्थ्यो।
म बुवाआमाको पहिलो सन्तान। मलाई केही चिजको आवश्यकता पर्यो भने बुवाआमालाई त्यो किन्न मनाउन अनेक उपाय अपनाउनुपर्थ्यो। भाइबहिनीहरूले भने मैलेजस्तो समस्या अलि भोग्नु परेन।
अहिले आएर लाग्छ, सानो छँदाका इच्छाको आयु पनि सानै हुँदै रहेछ। इच्छाहरू केही पछि पूरा हुँदा त्यसले सन्तुष्टि नहुँदो रहेछ। सोचेको बेला त्यो पूरा भए कस्तो हुन्थ्यो होला भनेर मनले सधैं भनिरहँदो रहेछ। छोरो हेलिकोप्टरको इच्छाले एकाहोरिएझैं म पनि मनभरि एउटा इच्छाको छटपटीमा थिएँ, घर र स्कुलबाट टाढा कतै शैक्षिक भ्रमणमा जाने।
त्यति बेला स्कुलबाट ९ र १० कक्षाका विद्यार्थीलाई शैक्षिक भ्रमण लाने गरिन्थ्यो। हाम्रो स्कुल पूर्वी चितवन, जयमंगलाबाट विराटनगर वा पोखरातिर। अहिले पनि त्यो परम्परा जारी नै छ। तर, हाम्रै पालोमा शैक्षिक भ्रमण लगिएन। २०४६ सालको जनआन्दोलन चलिरहेको थियो। विद्यार्थीलाई सुरक्षा दिन सकिँदैन भनेर स्कुलले शैक्षिक भ्रमणको कार्यक्रम बनाएन। भ्रमणको सट्टा स्कुल बन्द गरेर झन्डा बोक्दै आन्दोलनमा नारा लगाउन हिँडियो। उक्साउने क्रान्तिकारी दाइदिदीहरू छँदै थिए। आन्दोलन किन र केका लागि, केही थाहा थिएन। ठूला दाइदिदीहरूले झन्डा समाउन भन्नुहुन्थ्यो। खुब उत्साही भएर हामी बोक्थ्यौं र कराउन थाल्यौं, प्रजातन्त्र जिन्दावाद ! न प्रजातन्त्र के हो थाहा थियो, न त यसरी कराउँदा आउने परिणाम नै। तर, खुब रमाइलो हुन्थ्यो।
मलाई सधैं घुम्न मन लागिरहन्थ्यो। तर, शैक्षिक भ्रमणमा जान नपाएकोमा म दुःखी थिएँ। साथीहरूले घुमेको बयान सुनाउँदा मलाई छटपटी हुन्थ्यो, मन अनेक ठाउँमा घुमेको कल्पनामा डुब्थ्यो। पत्रपत्रिका र रेडियोमा चेलीबेटी बेचबिखनका समाचारहरू आइरहन्थे। यस्ता समाचारले मेरो इच्छामा लगाम तानिहाल्थ्यो, कतै म पनि यस्तैमा पर्ने त होइन ! अनि मेरा रहर डरमा परिणत हुन्थे। चुपचाप बस्नुबाहेक मसँग केही विकल्प थिएन।
एसएलसीको रिजल्ट पनि आयो। पास भइएछ। भुइँमा खुट्टै थिएन, संसारै जितेजस्तो ! मेरो मनले भन्यो, अब तँ १६ वर्ष पुगिस्, तँ ठूली भइस्। तँ आफ्नो इच्छा पूरा गर्न सक्छेस्। साहस बटुलेर आमालाई भनेँ, ‘आमा म वीरगन्जतिर घुम्न जान्छु है !’ आमाको अनुहारभरि डर, आशंका र रिस देखेँ। झन्डै पिट्नुभएन। तैपनि धेरैैपटक करकर गरिरहेँ। आमाको मन न हो। केही पग्लिएर भन्नुभयो,
‘हुँदैन, जाने भए पहाडी क्षेत्र गोर्खा, धादिङतिर आफन्तकहाँ जा, तर वीरगन्ज त हुन्न।’
मैले भनेँ, ‘गोर्खा त धेरैपटक गइसकेको ठाउँ हो, कति त्यहीँ मात्र जाने। म त नयाँ ठाउँ जान्छु।‘
तर, आमा मान्दै मान्नुभएन। गोर्खा जान हुने, वीरगन्ज किन नहुने, मैले बुझिनँ र बुझ्न खोजिनँ पनि। मेरो मनमा नयाँ ठाउँ जाने धुन सवार थियो। गोर्खा मेरो लागि नयाँ ठाउँ थिएन। तर पनि मैले आमालाई हुन्छ, म गोर्खा भए पनि जान्छु भनेँ। १२ वर्षकी साहिँली बहिनी सुनितालाई सँगै जान मनाएँ र लुगाफाटा झोलामा हालेर घरबाट निस्कियौं। बस चढ्न सौराहा चोक पुग्यौं। एकछिन कुर्यौं। बहिनीले भनी, ‘दिदी गोर्खा जाने बस आयो त।’ मैले भनेँ, ‘अब हामी गोर्खा हैन, वीरगन्ज जाने।’ मैले यसो भन्दा गर्दा उसको अनुहारभरि भय र आशंका पोतियो।
मलाई बसपार्कबाट मालपोत कार्यालय एकदमै टाढा लाग्यो। कतै रिक्सावालाले रक्सौल लगिरहेको त छैन भन्ने डर लागिरह्यो। केटीहरूलाई भारतमा लगेर बेचेको समाचार मनमा आउँदा त सातोपुत्लै उड्यो।
हामी वीरगन्ज जाने बस चढ्यौं। बसको पछाडिको सिट खाली थिए। दिदीबहिनी त्यहीँ गएर बस्यांै। बहिनी डराएर कालो नीलो भइसकेकी थिई। मेरो नजर यसो दायाँ बायाँको सिटमा पर्यो। बसभित्र हामीले यसअघि देखेका मानिसहरूभन्दा फरक रंगढंगका थिए। आफूले चिनेका, आफ्ना गाउँ ठाउँतिरका जस्ता पनि कोही थिएनन्। त्यसपछि चाहिँ बहिनीभन्दा म पो डरले बढी कालोनीलो भएँ। कहिले नगएको ठाउँ। घरमा ढाँटेर हिँडेका दुईजना केटीमात्र। हामी कहिल्यै यसरी एक्लै हिँडेका थिएनौं।
बस अघि गुड्दै गयो, डरको मात्रा बढ्दै गयो। बहिनी त उसै पहिलेदेखि नै डराइरहेकै थिई। उसलाई पनि मैले केही भन्न सकिरहेको थिइनँ। हामीबीच कुनै कुरै भएन। चियानास्ताका लागि बस रोक्दा पनि हामी सिट नछोडी बसमै बसिरह्यौं। झ्यालबाहिर हेर्ने सोचसम्म आएनछ। बेलाबेलामा अगाडि पछाडिका सिटका मान्छेहरूले हेर्थे, हामी झन् निराश हुन्थ्यौं।
कसोकसो आँखाले बस बाहिर हेर्न भ्याएछ। बाहिरको स्वर्गलाई त हामीले यादै गरेका रहेनछौं। आँखाले भ्याएसम्म जताततै हरिया फाँटहरू थिए। चराहरू उडिरहेका थिए। गाईबाख्रा चउरमा चरिरहेका देखिन्थे। बल्ल मनलाई केही राहत भयो।
बाटो सीधा भएकाले हामी छिटै वीरगन्ज पुग्यौं। बसपार्कमा गाडी रोकियो। त्यसपछि हामी डराएका दुई आत्मा लुसक्क एउटा रिक्सामा चढ्यौं। त्यो रिक्सावाला त्यस्तै ४५–५० वर्षको थियो होला। उसले भाडा यति लाग्छ भन्यो। हामी दुवैले एकैचोटि एकै सासमा हुन्छ भन्यौं।
वीरगन्ज नै जाने बस चढ्नुको मेरो मुख्य आत्मविश्वास त्यहाँ दाइ (ठूलो बुवाको छोरा) हुनुहुन्थ्यो। उहाँ मालपोत कार्यालयमा काम गर्नुहुन्थ्यो। हामी कहिल्यै वीरगन्ज गएका थिएनौं र दाइलाई हामी आउँदै छौं भनेर खबर पठाएका पनि थिएनौं। तर पनि डर केही कम हुँदै थियो। रिक्सावालालाई मालपोत कार्यालय लैजाऊ भनेर रिक्सा त चढ्यौं। तर मेरो डर सकिएको थिएन, रिक्सावालाले मालपोत नलगेर अन्तै लग्यो भने के गर्ने ? न ठाउँ थाहा छ, न सम्पर्क गर्ने कुनै माध्यम। मालपोत कार्यालय भन्नेसम्म थाहा थियो।
मलाई बसपार्कबाट मालपोत कार्यालय एकदमै टाढा लाग्यो। कतै रिक्सावालाले रक्सौल लगिरहेको त छैन भन्ने डर लागिरह्यो। केटीहरूलाई भारतमा लगेर बेचेको समाचार मनमा आउँदा त सातोपुत्लै उड्यो। बाटोका साइनबोर्डहरूमा नेपालकै ठेगाना देखेपछि भने मन ढुक्क हुन्थ्यो। यसै पनि वीरगन्जको साँघुरा बाटा, त्यसमाथि ट्राफिक जाम। गाडी, रिक्सा, गाई, गोरु, ठेला सबै एउटै तीर्थयात्राका सहभागीजस्ता। त्यसैले १५ मिनेटको बाटो छिचोल्न ४५ मिनेट लागिसकेको थियो। यसअघि मैले त्यस्तो भीड कहिल्यै देखेको थिइन। चितवनमा त्यस्तो भीड कहिल्यै हुँदैन थियो। भीड देख्दैमा मेरो सातो गइसकेको थियो। यहाँ हराइयो भने हामीलाई कसले खोज्ला ?
मैले बहिनीलाई समातेँ। त्यो बेला अहिलेको जस्तो मोबाइल थिएन। मेरो मुटुको गति एकदमै तीव्र भइरहेको थियो। रिक्सावालाले बीचबीचमा अन्य रिक्सावालासँग पनि हिन्दीमा के के भन्थ्यो, म बुझ्दिनथँे। यी दुई रिक्सावाला मिलेर कतै रक्सौल लाने कुरा त गरिरहेका छैनन्, मेरो होश हराउला जस्तो भयो। मेरो मनले आफैंलाई गाली गरिरह्यो, किन म आमाबुवालाई ढाँटेर वीरगन्ज आएँ। मेरो मनले अनेक अनिष्ट सोच्न थाल्यो। बाटोमा देखिने सबै मानिस खराब र गुन्डाजस्ता लाग्न थाले। मानिसहरूले नाकमा लठ्याउने औषधि सुँघाएर बेहोश बनाई भारततिर लान्छन् रे भनेकोे सुनेको थिएँ। कसैको अनुहारमा हेर्न पनि डर लागिरह्यो।
अचानक रिक्सा रोकियो। अकस्मात् केही डरलाग्दो वस्तुले आक्रमण गरेझैं भयो। किन रोकियो भन्नेमा पनि ध्यान गएन। तर कानमा पर्यो, ‘ल मालपोत कार्यालय आयो।’ त्यसपछि त हाम्रो खुसीको सीमा नै रहेन, घनघोर अन्धकारपछि उज्यालो भएजस्तो। अँध्यारो मुख लगाएकी बहिनी उज्याली देखिई। छिटोछिटो रिक्साबाट ओर्लेर पैसा दियौं र ब्याग बोकेर एकै झमटमा गेटभित्र छिर्यौं। गेटबाहिर पाले वा अरू कोही मानिस थिएनन्, अँधेरो र सुनसान थियो। दाजु भनेर बोलाउने होश पनि थिएन। यात्राभरि भय र त्रासमा चुपचाप, एकजना कसैसँग पनि नबोली र गाडीबाट नझरीकन वीरगन्ज पुगिएको थियो।
भित्र बत्ती बलिरहेको देख्यौं। भित्र दाजु, भाउजूलाई देखेपछि ढुक्कको सास फेर्यौं र लामो सास तान्यौं। न फोन, न खबर। न तीज वा तिहार, न त कुनै कार्यक्रम। अचानक हामीलाई देखेर दाजुभाउजू पनि एकछिन त जिल्ल पर्नुभयो। मैले घरमा गोर्खा जाने भनेर ढाँटेर यता आएको कुरा दाजुलाई भनेँ। तर, दाजुले केही भन्नुभएन। गाली पनि गर्नुभएन। ए ल, त्यसो भए तिमीहरू यहाँ आएको खबर त घरमा गरिहाल्न पर्यो भनेर फोन गर्न थाल्नुभयो। त्यसपछि बल्ल हामी ढुक्क भयौं।
वीरगन्जमा एक हप्ता बस्यौं। त्यस बसाइमा रक्सौल गयौं र घरमा सबै जनालाई उपहार किन्यौं। आमालाई राम्रो साडी र सानी बहिनीलाई फ्रक किनेको कुरा ताजै छ। ती सबै अझै पनि फोटोमा सुरक्षित पनि छन्। ती फोटोले हाम्रो वीरगन्ज यात्राको स्मरण अझसम्म पनि ताजा गराइरहन्छ। त्यो केही महिनाअघि मात्रको कुरा हो जस्तो लाग्छ तर ऐनाले त्यो मान्दो रहेनछ।
एक हप्तापछि हामी घर फर्कियौं। बुवाआमा मसँग बोल्नु भएन। बहिनीसँग चाहिँ बोल्नुभयो। ऊ सानी थिई, म ठूली। यो ठूली भएर पनि दुःख दिई भन्ने थियो, बुवाआमालाई। आमाले मलाई ठूल्ठूला आँखाले हेर्नुभयो। वुबाआमा एक हप्तासम्म त मसँग बोल्दै बोल्नुभएन। मैले लगेको उपहार पनि लिनुभएन। पछि विस्तारै रिस शान्त भएपछि आमाले ‘तँ बदमास, केही भएको भए...’ भनेर गाली गर्नुभयो। अहिले पनि कहिलेकाहीँ भाइबहिनीले त्यो कुरा झिके भने आमाले मलाई गाली गर्नुहुन्छ।
त्यसपछि जीवनमा धेरै यात्रा गरियो। तर, वीरगन्ज जाँदाको जस्तो डर, आशंका, कौतूहल, रोमाञ्चकता र सम्झिरहने खालको त्यस्तो यात्रा कहिल्यै भएन।