विद्यार्थीले बनाए भोटिङ मेसिन र ड्रोन

विद्यार्थीले बनाए भोटिङ मेसिन र ड्रोन

इटहरी : ‘यो विद्युतीय भोटिङ मेसिन हो’, मोरङस्थित मनमोहन पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थी आदित्य खनाल भन्दै थिए, ‘यसलाई चुनावमा प्रयोग गर्न सकिन्छ।’ उनीसहित ६ जनाको समूहले दुई पार्टीमध्ये एउटा छान्नका लागि उपयोगी हुने किसिमको मेसिन बनाएको थियो। ‘यहाँ थिचेर आफ्नो पार्टीलाई भोट दिन सकिन्छ। अन्य पार्टीको अप्सन जति पनि थप्न सकिन्छ’, उनले मेसिन प्रयोगबारे खुलाए, ‘यहाँ थिचेपछि कम्प्युटरमा गएर डाटा बस्छ र कुन पार्टीले कति भोट पायो, त्यो गन्न सकिन्छ।’ उनले कम्प्युटरमा गएर डाटा कसरी बस्छ, त्योसमेत देखाए।

उनले यति भनेलगत्तै इन्स्टिच्युटका प्रिन्सिपल सुवास पोख्रेलले मेसिनको सुरक्षाबारे शंका गरे। ‘तर, यो कत्तिको सुरक्षित छ ? ’, उनले प्रश्न गरे, ‘सोर्स कोड चोरी गरेर आफूअनुकूल यो मेसिन प्रयोग गर्न सक्ने सम्भावना कत्तिको हुन्छ ? ’

इन्स्टिच्युटका इलेक्ट्रोनिक विभाग प्रमुख सर्वेस चौधरीले ‘फायरवाल’ प्रयोग गरी सुरक्षित गर्न सकिने सुनाए। विद्यार्थीको अर्को समूहले बनाएको प्रविधिबारे पनि उनले व्याख्या गरिदिए। त्यो प्रविधिमा मोबाइल एप्लिकेसनबाट घरको पंखा, बिजुली आदि नियन्त्रण गर्न सकिन्छ। ‘घरलाई स्मार्ट बनाउने प्रविधि हो यो’, उनले भने।

इन्स्टिच्युटका विद्यार्थीले गरेको ‘प्रोजेक्ट वर्क’को प्रयोगात्मक प्रदर्शनीले आगन्तुकको ध्यान तानेको थियो। इलेक्ट्रोनिक्स, मेकानिकाल, सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङ गरी चार विभागका विद्यार्थीले बनाएको प्रविधि तथा उपकरण प्रदर्शन गरिएको हो।

फूलदेव मण्डलको समूहले ‘सेफ्टी डिभाइस विथ लोकेसन ट्र्याकिङ’ बनाएको थियो। यो उपकरणको बटन थिचे निश्चित मोबाइलमा म्यासेज जान्छ। कोही समस्यामा परे तत्काल प्रहरीको सहयोग माग्न यो प्रविधि उपयोगी हुने उनले सुनाए। यो उपकरणले लोकेसनसहित म्यासेज पठाउँछ। जीएसएम लोकेसनलाई यो मोबाइलले ‘ट्र्याक’ गर्ने उनले बताए।

मेकानिकल इन्जियनियरिङका विद्यार्थीले पनि विभिन्न उपकरण तथा प्रविधि विकास गरेका थिए। योगेश निरौलाको समूहले दुई किलोमिटर माथिसम्म रिमोटको क्षमताअनुसार उड्न सक्ने पेट्रोल इन्जिन ड्रोन बनाएको थियो। मोटरसाइकलको इन्जिन प्रयोग गरिएको ड्रोनको पंखा चले पनि प्रदर्शनीका बेला उड्न सकेन। ‘केही समस्या आयो तर यो उडेको हो’, उनले भने।

६ जना मिलेर दुई महिना लगाएर हेलिकोप्टर आकारको ड्रोन बनाइएको उनले जानकारी दिए। उनका अनुसार व्यावसायिक रूपमा बनाउँदा अन्य इन्जिन प्रयोग गर्नुपर्छ।

सन्देश यादवसहित ६ जनाको समूहले ‘ब्लुतुथ बेस्ड इलेक्ट्रोनिक ह्विलचेयर’ बनाएको थियो। १५ हजार रुपैयाँ खर्च गर्दा ह्विलचेयरलाई मोबाइलले नियन्त्रण गर्न सकिने गरी तयार भएको उनले सुनाए। ‘अपांगता भएकाहरूले यो ह्विलचेयर मोबाइलबाट सजिलै चलाउन सक्छन्’, उनले भने।

स्वस्तिक मि श्रसहित ६ जनाको समूहले काठलाई विभिन्न आकारमा काट्न सक्ने मेसिन बनाएको थियो। मेकानिकल इन्जिनियरिङ पढेका उनीहरूले प्रदर्शनीमा आएका पत्रकार, शिक्षक, जनप्रतिनिधिलाई प्रयोग गरेरै देखाएका थिए।

प्रिन्सिपल पोख्रेलका अनुसार चारवटा विभागका २४ समूहले आफूले गरेको अध्ययनलाई प्रयोगका रूपमा उतारेका हुन्। पोलिटेक्निकले व्यावसायिक सीपमूलक तालिम दिने गरेको उनले सुनाए। ‘७० प्रतिशत प्रयोगमै आधारित कोर्स हुन्छ’, उनले भने, ‘विद्यार्थी परीक्षामा फेल नै भए पनि जागिर पाउँछन्।’ यहाँ पढेका विद्यार्थीले नेपालका साथै भारतका विभिन्न शैक्षिक संस्थामा जागिर पाउने दाबी उनले गरे। ‘भारतबाट पनि रोजगारदाता आइपुग्छन् र उपयुक्त लागेका विद्यार्थीलाई अफर गर्छन्’, उनले भने, ‘कुरा मिले रोजगारी दिन्छन्।’

विद्यार्थीले हाइड्रोपावरदेखि सहरलाई सोलारले झिलिमिली बनाउने प्रविधि तथा सवारी साधनको स्पिड नाप्ने उपकरण प्रयोगात्मक रूपमा प्रस्तुत गरेका थिए। अटोमेटिक रूपमा सवारी चापसँगै बल्ने ट्राफिक लाइटसम्मका प्रविधि पनि प्रयोगात्मक रूपमा प्रस्तुत गरिएको थियो।

इन्स्टिच्युटमा एक सातादेखि तीन वर्षसम्मका प्राविधिक विषय पढाइ हुन्छ। सरकारले यो शैक्षिक संस्थालाई प्राविधिक विश्वविद्यालय बनाउने तयारी थालेको छ। विद्यार्थीले न्यूनतम शुल्कमा अधिकतम सुविधाका साथ पढ्न पाउनुका साथै छात्रवृत्तिको अवसरसमेत रहेको जानकारी उनले दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.