तेस्रो विश्वका संगाती
समीर नेपालका हितचिन्तक थिए, यो सानो हिमाली मुलुकका गरिखाने वर्गको संघर्षप्रति उनको सम्मान थियो
‘निश्चय नै भविष्यको ग्यारेन्टी अस्तित्वमा छैन, नेपाल पुरानै बेथितिमा नफर्कला भन्न सकिन्नँ। ...नेकपा (माओवादी) आफ्नै प्रतिद्वन्द्वीहरूको मध्यपन्थी धारसँग अवसरवादी साँठगाँठमा नहेलिएला भन्न सकिन्न। तर, नयाँ प्रयोगमा जाँदै गर्दा सुरुमै विरोध गर्ने अधिकार कसलाई छ, जब पार्टीभित्रै पनि यसबारे गम्भीर बहस छँदैछ र विचारको बहुलता छँदैछ ? ’
सन् २००८ मा नेपालबाट फर्केपछि समीर अमिनले तत्कालीन नेपाली राजनीतिबारे फ्रेन्चमा एउटा लेख लेखे, जसलाई मन्थ्ली रिभ्युले ‘नेपाल, अ प्रोमाइजिङ रिभोल्युसनरी एडभान्स’ शीर्षकमा २००९ को फेब्रुअरी अंकमा अंग्रेजीमा छापेको थियो (२०६५ चैतमा ‘मूल्यांकन’ मासिकले सो लेखको नेपाली अनुवाद छाप्यो)। उनी तिनताका जिज्ञासु र उत्साही मुडमा नेपाल आएका थिए, फर्कंदा पनि नेपालप्रति उनको आशावाद जीवन्त थियो। तर, समीर क्षणिक दृश्यहरूबाट मात्रै प्रभावित थिएनन्।
क्षणिक दृश्य त कस्तो थियो भने, समीर नेपाल आएका बखत पहिलो संविधानसभा भर्खर गठन भएको थियो। १० वर्ष लामो सशस्त्र संघर्षपछि मत–वैधता हासिल गरेको माओवादी पार्टी रक्तिम छविसहित सरकारमा पुगेको थियो। सन् १९९० पछि माओको विचार बोक्ने कम्युनिस्टहरूले संसारभरि हार, हैरानी र निराशा बेहोरिरहेका बेला नेपालमा एउटा अपवादको झिल्को जस्तो थियो, माओवादी युद्ध। र, त्यही युद्ध हाँक्ने शक्तिले र्याडिकल एजेन्डासहित सरकार बनाएको बेला उनी काठमाडौं आएका थिए।
काठमाडौंमा उनले प्रवचनहरू दिए। बौद्धिक–संस्कृतिकर्मीहरूसँग भलाकुसारी गरे। पत्रकारहरूसँग छलफल–अन्तर्वार्तामा बसे। राष्ट्रिय सभामा २०६५ कात्तिक २५ गते भएको ‘एसियामा लोकतन्त्र, विकास र शान्ति’ विषयक सम्मेलनमा वर्तमान पुँजीवादी अर्थतन्त्रको संकटको चिरफार गर्दै समाजवादी क्रान्तिको अनिवार्यताका पक्षमा विचारोत्तेजक धारणा प्रस्तुत गरे। कात्तिक २६ मा ‘वामपन्थ’ पत्रिकाद्वारा आयोजित अन्तक्र्रियामा सहभागी भए। २७ गते एक्सन एडको आयोजनामा भएको भूमिसुधारसम्बन्धी छलफलमा बसे। र, फर्केर नेपाली कम्युनिस्ट आन्दोलनलाई आशावादी दृष्टिले हेर्दै भविष्यका चुनौती भन्दै पाँच प्रश्न उठाए। उनका पाँच प्रश्नमा थिए– भूमिसुधार, सशस्त्र शक्तिको भविष्य, लोकतन्त्रको रूप, संघीयता र आर्थिक स्वतन्त्रता।
समीरले भनेका छन्, ‘इतिहास उदाहरणहरूले परिपूर्ण छ, जो शतप्रतिशत सफल भएनन्, तर ती नगण्य चाहिँ छैनन्।’ उनको भनाइ नेपाली कम्युनिस्ट आन्दोलनका हकमा पनि त्यत्तिकै सान्दर्भिक छ।
समीर क्षणप्रभावी विद्वान् थिएनन् भन्ने नेपालसम्बन्धी उनको सोही लेखनले पुष्टि गर्छ। अहिले पनि नेपाल जुन विभेदी संरचनामा छ, त्यसको जगमा तिनै नसुल्झेका प्रश्नहरू बिझाइरहेका छन्। राजनीतिक परिवर्तन भयो, भूमिसुधार थाँती बस्यो। माओवादी सेना रहेन, सरकारी सेनामा पुनर्संरचना भएन। लोकतन्त्र आयो, ढाँचाकाँचा झन्डै पुरानै रह्यो। संघीयता स्थापित भयो, कार्यान्वयनले कमजोर बनायो। आर्थिक परनिर्भरता हिजो जो थियो, सो अहिले घटेको छैन, उल्टो बढ्दो छ। अनि समीरले ‘प्रयोगको लाभ’ छाडिदिएको माओवादी शक्तिको मूल हिस्सा पनि उनकै शब्दमा ‘अवसरवादी साँठगाँठ’लाई प्रीतिकर ठान्दै गयो।
दस वर्षअघि ‘भविष्यको ग्यारेन्टी’ गर्न नसकिने भन्दै समीरले नेपालबारे जे संकेत गरेका थिए, आज त्यही भएको छ। सिंहदरबारमा रजगज गर्न छिरेको माओवादीको रूप मात्रै फेरिएको छैन, त्यसको गुदीमै हेराफेरी भइसकेको छ। उनले भनेका थिए– व्यापार र खुला व्यापार फरक हो। तर, त्यो फरक देखिन छाडेको छ। खुला बजारमा कि महाशक्तिको राज छ, कि बिचौलियाकै हात छ। देशले दस वर्षमा नयाँ संविधान पाएको छ तर नवउदारवादी विश्व व्यवस्थाको न्यायपूर्ण विकल्प खोज्छौं भन्नेहरू नै त्यही व्यवस्थाको अंग बनेका छन्।
यही बेला चिन्तन महोत्सवको आयोजनामा यो युगका महान् मार्क्सवादी चिन्तक तथा ख्यातनामा अर्थशास्त्री समीर अमिनलाई नेपाल निम्त्याउने तयारी हुँदै थियो। महोत्सवका प्रमुख अन्तर्राष्ट्रिय पाहुनाहरूको सूचीको सिरानमा उनकै नाम थियो। समीरलाई दोस्रोपटक नेपाल बोलाउने निम्ता पठाउन अप्राविधिक कारणले ढिलाइ भइरहेकै बेला अचानक ८६ वर्षको उमेरमा उनको निधन भएको खबर संसारका वाम र वैकल्पिक मिडियाहरूले प्रसार गरे। दुई साताअघि (१२ अगस्ट) बितेका समीरलाई मार्क्सवादी शिविरले यतिखेर संसारैभरि सम्झिरहेको छ। नेपालमा पनि उनको सम्झनामा बिदालेख लेखिइरहेका छन्।
शुक्रबार नेपाल अध्ययन केन्द्रले उनको सम्झना र सम्मानमा अन्तर्क्रिया कार्यक्रम गर्यो। यस सन्दर्भमा उनका दर्जनौं पुस्तक, उनीद्वारा प्रतिपादित सिद्धान्त, उनको बहुआयामिक राजनीतिक तथा बौद्धिक योगदानको चर्चा भइरहने नै छ। भइरहेको पनि छ। तर सम्झनामा नछुट्नुपर्ने तथ्य हो– समीर नेपालका हितचिन्तक थिए, यो सानो हिमाली मुलुकका गरिखाने वर्गको संघर्षप्रति उनको सम्मान थियो। यहाँका कम्युनिस्टहरूले गरिरहेका संघर्षले सार्थकता पावस् भन्ने उनी चाहन्थे।
समीरको व्यक्तित्वको आयाम व्यापक छ, उनको कृतित्वको पनि विशाल फलक छ। यो बिदालेख समीर अमिनको समग्र व्यक्तित्वको छनक दिन लेखिएको होइन। उनको नेपाल–चासो र नेपालजस्तै तेस्रो विश्वका पक्षमा जीवनभरि गरेको संघर्ष र ऐक्यबद्धता स्मरण प्रयत्न मात्रै गरिएको हो। उनका रचनालाई अंग्रेजी र नेपाली माध्यममा नेपाली पाठकबीच पुर्याउन मूल्यांकन मासिक, वामपन्थ पत्रिका, रातो झिल्को त्रैमासिकजस्ता मार्क्सवादी शिविरका पत्रिकाहरूले पनि भूमिका निर्वाह गरेका हुन्। त्यसमध्ये सन् २००८ मा नेपाल आएकै बखत मेरी डेसेनले ‘वामपन्थ’ पत्रिकाका लागि लिएको विस्तृत अन्तर्वार्ता उल्लेखनीय छ। ‘वामपन्थ’ पूर्णांक ५ मा प्रकाशित सो अन्तर्वार्तामा समीरले भनेका छन्, ‘इतिहास उदाहरणहरूले परिपूर्ण छ, जो शतप्रतिशत सफल भएनन्, तर ती कुनै पनि नगण्य चाहिँ छैनन्।’ उनको यो भनाइ नेपाली कम्युनिस्ट आन्दोलनका हकमा पनि त्यत्तिकै सान्दर्भिक छ।
समीरलाई सम्झना गर्नु भनेको उनका चिन्तन जगतका व्यापक योगदानलाई बुझ्नु र आफ्नो ऐतिहासिक सन्दर्भमा आत्मसात्का लागि प्रयत्न गर्नु पनि हो। नेपाली राजनीति समीरले भनेझैं उदाहरणहरूले परिपूर्ण छ। उनको सैद्धान्तिक विश्लेषण आगामी कैयौं वर्षसम्म नेपाली राजनीतिमा पनि बाडुल्की लागिरहनेछ। तेस्रो विश्वका पक्षमा जिन्दगीभरि काम गर्ने, खटिरहने र डटिरहने समीरलाई तेस्रो विश्वले सम्झिरहेको छ, सम्मान गरिरहेको छ। समीर छैनन्, तर उनका चिन्तनका डोबहरू छँदैछन्, विचारका सुरहरू छँदैछन्। वैकल्पिक संसार चाहनेको यात्रामा समीरको समीर चलिरहनेछ।