‘देवता’बाट मानव बन्दै
गुँला पर्वका कारण अहिले पूर्वकुमारी मतिनाको दिनचर्या अत्यन्त कसिलो बनेको छ। उनी बिहानै साढे ४ बजे नै उठ्छिन्। टोलका बाजा खलःसँग स्वयम्भू पुग्छिन्।
उनी ‘देवता’बाट मानव बनेको भर्खर नौ महिना भयो। मात्र साढे दुई वर्षकी हुँदा उनी काठमाडौंकी जीवित देवी ‘कुमारी’ बनेकी थिइन्। लगातार नौ वर्ष ‘जीवित देवी’ बनेपश्चात् गएको दसैंताका उनी मानव समाजमा फर्किन्। एउटा सभ्य मानव समाजका सदस्यहरू जसरी जीवन चलाउँछन्, अहिले निवर्तमान कुमारी मतिना शाक्य त्यही सिक्ने क्रममा छिन्।
हालै मतिना स्वयम्भू महाचैत्यमा बाँसुरी फुक्दै समूहमा आइरहेकी भेटिइन्। नेपाल संवत् अनुहार अहिले गुँला महिना चलिरहेको छ। यो गुँला महिनाभरि काठमाडौंवासीहरू हरेक बिहान स्वयम्भू पुगी भगवान् बुद्धको दर्शन गर्ने परम्परा छ। खासगरी यो महिनाभर नै झरी परिरहने र त्यसैको कारण बाढी, पहिरो, चट्याङ आदि जस्ता प्राकृतिक प्रकोपले दुःख दिइरहने भएकोले त्यस्ता प्रकोपहरूबाट बच्न सकियोस् भनेर भगवान बुद्ध समक्ष प्रार्थना गरिन्छ।
गुँला महिनाभरि नै स्वयम्भू महाचैत्य परिक्रमा गर्ने परम्परा बसेको भनाइ छ। यसलाई ‘गुँला पर्व’ भनिन्छ। गुँला पर्वका बेला स्वयम्भू परिक्रमा गर्न जाँदा एउटा विशेष खालको बाजा बजाउँदै जाने चलन छ, त्यसलाई गुँला बाजं भनिन्छ। यसमा बजाइने विभिन्न वाद्यवादनहरूमध्ये बाँसुरी एक हो। पूर्वकुमारी मतिना अहिले त्यही बाँसुरी बजाउँदै स्वयम्भू परिक्रमा गरिरहेकी छिन्, हरेक बिहान।
मतिना शाक्य उमेरले १३ वर्ष पुगिन्। तर गुँला पर्वमा उनी स्वयम्भू परिक्रमा गर्न पुगेको भने यो पहिलोपटक हो। वा भनौं, यो उनको पहिलो गुँला पर्व हो। तर पहिलो गुँलामै बाँसुरी सिकीवरी स्वयम्भू पुग्ने उनको उत्साह देखेर टोलको गुँला बाजा टोलीसमेत चकित छ। उनी काठमाडौंको इतुम्बहालस्थित केशचन्द्र गुँला बाजं खलःकी सदस्य हुन्। उनका बुबा प्रतापमान शाक्य आफैं गुँला बाजामा पोख्त संस्कृतिककर्मी हुन् भने दिदी मिजला शाक्य पनि बाँसुरीमा निपुर्ण छिन्।
मतिना शाक्य कुमारी अवस्थामा पहिले, बाँसुरी बजाउँदै अहिले।
‘शायद घरको वातावरणले पनि होला, उनले बाँसुरी छोएको हप्ता दिनमै धून टिपी,’ मतिनालाई बाँसुरी सिकाउने गुरु दीपकमान शाक्यले भने। हरेक गुँला पर्वका बेला नयाँ बालबालिकाहरूलाई एक महिना जति उनीहरूले चाहेको बाजा सिकाइन्छ। बाँसुरी सिक्ने अवधिभर उनी एक दिन पनि नबिराई प्रशिक्षणमा बसिन्। गुरु शाक्य भन्छन्, ‘उनको लगनशीलता पनि अनौठो छ। प्रशिक्षण एक दिन पनि छोडिनन्।’
गुँला पर्वका कारण अहिले पूर्वकुमारी मतिनाको दिनचर्या पनि अत्यन्त कसिलो छ। उनी बिहानै साढे ४ बजे नै उठ्छिन्। टोलका बाजा खलःसँग स्वयम्भू पुग्छिन्। स्वयम्भू परिक्रमा पछि बाँसुरी बजाउँदै टोलीसँग हिँडेरै इतुम्बहाल फर्किन्छिन्। त्यसपछि खाना खानेबित्तिकै स्कूल कुदिहाल्छिन्। साँझ साढे ४ बजे स्कुल सकिन्छ। त्यसपछि बुबाको पसलमै खाजा खाई फेरि ट्युसन जान्छिन्। घर पुग्दा बेलुकी ७ बजे बजिसक्छ।
भलै उनी पूर्वकुमारी हुन्, तर अझै पनि उनलाई ‘द्यःमय्जु’ भन्दै ढोग्नेहरू भने उत्तिकै छन्। नेवाः समाजमा पूर्वकुमारीहरूलाई देवीकै रूपमा ढोग्ने चलन पुरानै हो।
अहिले उनी भोटेबहालस्थित ग्रिनपिस को–एडु स्कुलमा कक्षा ८ मा पढ्छिन्। कुमारी छँदा नै उनी उक्त स्कुलकी विद्यार्थी थिइन्। तर त्यतिबेला उनी स्कुल जानुको सट्टा स्कुलकै शिक्षकहरू कुमारी घर आई उनलाई पढाउने गर्थे। कुमारी घरमा हरेक दिन बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म देवी कुमारीको पढ्ने समय हुन्छ। त्यसैले त्यो समय पूजाआजा, दर्शन आदि अरू कुनै गतिविधि हुँदैन। कुमारी घरमा वर्तमान कुमारीका लागि पनि यही रुटिन कायम छ। कक्षा ७ सम्म उनले कुमारी घरमै पढेकी थिइन्। ८ बाट आफैं स्कुल जान थालिन्।
नौ वर्षसम्म देवीका रूपमा अरूबाट पूजित मतिनालाई आफैं स्कुल गएर शैक्षिक नियममा बस्नुपर्दा गाह्रो होला भन्ने अनुमान गरिएको थियो। तर त्यस्तो केही भएन। देवी भएका कारण अनुशासन उनलाई सिकाउनै परेन। पढाइमा पनि नौ महिनाभित्रै उनले जुन प्रगति गरिन्, त्यो अरू विद्यार्थीका लागि समेत नमुना बनेको कुरा प्रिन्सिपल पेमा योञ्जन बताउँछिन्।
आफ्नो स्कुलमा देवी कुमारीलाई विद्यार्थीका रूपमा स्वागत गर्न पाउँदा प्रिन्सिपल योञ्जन अत्यन्तै खुसी भएकी थिइन्। भन्छिन्, ‘यो त हाम्रो गौरवको विषय हो।’ उनले मतिनालाई आफ्नो स्कुलमा पूर्ण छात्रवृत्ति प्रदान गरेकी छिन्। स्कुलमा मतिना नृत्य र प्यानिका वादनमा रुचि राख्छिन्। घरमा उनी टीभी अगाडि बसेर ‘डोरेमोन’ हेर्न रुचाउँछिन्। अनि अलिकति इन्टरनेट पनि।
पूर्वकुमारीलाई हाल नेपाल सरकारले मासिक रु. ५,६२५ श्रीपद भत्ताको व्यवस्था गरेको छ। बहालवाला कुमारीलाई मासिक रु. ११,२५० व्यवस्था गरेको छ। सरकारले दिने यो भत्ता अपुग भएको गुनासो पनि छ। तर त्यसलाई सुन्ने भने कोही छैन। बरु काठमाडौं महानगरपालिकाले आफ्नो नगरका जीवित देवी कुमारीका लागि मासिक रु. ४० हजार व्यवस्था गरेको छ भने पूर्वकुमारीहरूका लागि मासिक रु. १० हजार प्रदान गर्न थालेको छ। पूर्वकुमारीलाई राज्यले मासिक भत्ताका अतिरिक्त निःशुल्क शिक्षाको व्यवस्था गरिदिनुपर्ने माग परिवारहरूको छ।
नौ महिनासम्म देवी। त्यसपछि मानव। त्यो आफैंमा एउटा अनौठो अनुभव हो। उनको अनुभवलाई फिल्म र डकुमेन्ट्रीमा उतार्न अहिले विदेशी फिल्ममेकर्सहरू उनको घर धाइरहेका छन्। जापानको एउटा टेलिभिजन संस्थाले उनको बारेमा एउटा लामो डकुमेन्ट्री बनाई पनि सकेको छ। त्यसपछि अब अर्को जापानी टोली आएका छन्। त्यस्तै अहिले कोरिया, जर्मनी र रुसी डकुमेन्ट्री टोलीहरू पनि नेपाल आएर उनी मार्फत कुमारी संस्कृतिमाथि फिल्म बनाउने प्रयासमा छन्। कुनै टोली त उनलाई आफ्नो देश भ्रमणको निम्तो पनि दिएर गएका छन्।
भलै उनी पूर्वकुमारी हुन्, तर अझै पनि उनलाई ‘द्यःमय्जु’ भन्दै ढोग्नेहरू भने उत्तिकै छन्। नेवाः समाजमा पूर्वकुमारीहरूलाई देवीकै रूपमा ढोग्ने चलन पुरानै हो। उनी आफैं पनि पूर्वकुमारीको हैसियतले बेलाबेला कुमारी घर गई वर्तमान कुमारीलाई ढोग्न पुग्छिन्।
अचेल उनी बाँसुरी बजाउँदै स्वयम्भू आउँदा सबैका आकर्षणका केन्द्रझैँ बनेकी छिन्। उनीभन्दा अघिका पूर्वकुमारीहरू यसरी सार्वजनिक रूपमा देखिएका छैनन्। पूर्वकुमारी आफैं बाँसुरी बजाउँदै आउनु अरू बालबालिकालाई आफ्ना संस्कृतिप्रति मोह जगाउने माध्यम बन्न सक्छ। गुँला बाजामा बाँसुरी सहायक वाद्यवादन हुन्। यसको प्रमुख वादन ‘धाः बाजा’ हो जो धिमे वा ढोलक जसरी बजाउने गरिन्छ। यसपालि बाँसुरीमा देखिएकी पूर्वकुमारी मतिना अर्को साल ‘धाः’ बजाउँदै स्वयम्भू परिक्रमा गर्ने सुरमा छिन्। उनका गुरु दीपकमान शाक्य भन्छन्, ‘धाः पनि उनले छिट्टै सिक्नेछिन्, जो अर्को साल हामी देख्नेछौं।’