दुरबिनको सहायताले हत्यारा खोज्दै प्रहरी
महोत्तरी : हत्या भएकी महोत्तरी औरहीकी आठमहिने शिशुको न्यायका लागि औरही उद्योग वाणिज्य संघका अध्यक्ष श्रवन चौधरीको अध्यक्षतामा बसेको बैठकले हत्यारा पत्ता नलगाएसम्म कडा आन्दोलन चर्काउने निर्णय गरेको छ ।
शिशु सोनाली चौधरीको अपहरणपछि हत्या भएको ६ दिन बित्दा पनि प्रशासनले हत्यारा पक्राउ नगरेको भन्दै संघले आन्दोलन चर्काउने निष्कर्ष निकालेको हो ।
स्थानीय व्यापारी सन्तोष चौधरीकी छोरी सोनालीलाई पसलबाट उठाएर लगी निर्मम तरिकाले हत्या गरी आँप बगैंचामा फालिएको थियो । अन्दोलनप्रति ऐक्बद्धता जनाउने विषयमा बर्दिबास, रामगोपालपुर, गौशालाका उद्योग वाणिज्य संघका पदाधिकारीहरू पुगेका छन् ।
हत्यारालाई कारवाहीको माग गर्दै पीडित परिवारलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने, हत्यारालाई पक्राउ नगरेसम्म आन्दोलन जारी राख्ने र प्रहरी तथा प्रशासनसँग हत्यारा पक्राउबारे तत्काल बुझिने निर्णय गरिएको छ । ‘सानो संघर्षले पुगेन’, बर्दिबास उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद गौतमले भने, ‘प्रहरीले खोजिरहेको छ । तर हत्यारा पक्राउ परेको छैन । अब ठूलो संघर्षका कार्यक्रम गर्छौं ।’
बैठकमा कांग्रेस महोत्तरीका सभापति महेन्द्र रायले शिशु हत्याले मन दुखेको बताए । ‘प्रहरी प्रशासनको हत्यारा खोजीमा राम्रो भूमिका छ’, उनले भने, ‘यतिले मात्र पुग्दैन । समाजिकस्तरबाट बन्दको विकल्पमा हत्यारा खोज्नेतिर नागरिक समाजले ध्यान दिनुपर्छ ।’ कांग्रेस पार्टी कार्यालय महोत्तरीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रशासनले हालसम्म हत्यारालाई कानुनी कठघारमा उभ्याउन नसक्नु लज्जास्पद भएको बताएको छ । नेकपाका केन्द्रीय सदस्य सरोज यादवले औरही घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘अपराध उत्कर्षमा पुग्यो’, उनले भने, ‘राज्यले अपराधीलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’ शिशु हत्या विरोधमा तेस्रो दिन शुक्रबार पनि औरही बजार बन्द रह्यो । अपराधीलाई प्रहरीले पक्राउ गर्न नसकेको जिल्लाका बिजलपुरा र गौशाला बजारका व्यापारीहरूले पसल बन्द गरेर विरोधमा उत्रिएका थिए ।
आन्दोलनकारीले सडकमा टायर बालेर बर्दिबास–औरही–जलेश्वर सडकखण्ड तीन दिनदेखि अवरुद्ध पारेका छन् । यातायात नचल्दा यात्रुहरूले सास्ती खेपिरहेका छन् । सोनालीको आत्माको चिर शान्तिको कामना गर्दैै शुक्रबार साँझ बर्दिबास, गौशाला, रामगोपालपुरमा दीप प्रज्वलन गरिएको छ ।
महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वाका करिब २५ बर्से भरत साहले पसलमा आमासँग खेल्दै गरेको अवस्थामा अपहरण गरेर शिशुको हत्या गरी फालेको पीडित परिवारले जनाएका छन् । औरहीका युवाहरू अभियुक्त भरतको तस्बिर फेसबुक तथा सार्वजनिक स्थलमा टाँस्दै हत्यारालाई पक्राउ गर्न सक्रिय रूपमा लागिपरेका छन् । पसमा राखिएको सीसी क्यामराको फुटेजमा भरतले शिशु सोनालीलाई उठाएर लगेको देखिएको छ । प्रहरीले दुरबिनको सहायतामा खेतबारीमा हत्याराको खोजी गरिहेको छ । हत्यारा पक्राउ गर्न प्रहरी अहोरात्र खटिरहेको महोत्तरीका एसपी ईश्वर कार्कीले बताए । ‘प्रहरीको काम नै अपराधी समाउने हो, उखुबारी, जंगल सबै ठाउँमा हामीले खोजी कार्य जारी राखेका छौं’, एसपी कार्कीले भने, ‘हत्यारा नभेटिनु दुःखद हो तर, हामी निरास भएका छैनौं ।’ खोजी कार्यमा स्थानीयले पनि प्रहरीलाई सघाइरहेको उनले बताए ।