एसिया कप छनोट : नेपालको सम्भावना जीवितै
काठमाडौं : नेपालले एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोट प्रतियोगितामा पहिलो जित हात पारेको छ । नेपालले शनिबार भएको आफ्नो तेस्रो खेलमा आयोजक मलेसियालाई १९ रनले पराजित ग¥यो ।
यससँगै नेपालको एसिया कप छनोट सम्भावना जीवितै बनेको छ । आफ्नो सुआती दुई खेलमा क्रमशः ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित भएपछि नेपाललाई एसिया कप छनोट मुस्किल देखिएको थियो । नेपाल आफ्नो पहिलो खेलमा ओमानसँग सात विकेट तथा दोस्रो खेलमा यूएईसँग ७८ रनले पराजित भएको थियो ।
शनिबार नै भएको अर्काे खेलमा हङकङले यूएईलाई एक सय ८२ रनको भारी अन्तरले पराजित गर्दा पनि नेपाललाई केही राहत मिलेको हो । किनभने सुरुआती दुवै खेलमा जित हात पारेको यूएई चार अंकमै रोकिएको छ । प्रतियोगिताको सुरुआती तीनमध्ये तीनै खेलमा अविजित रहेको एक्लो टोली ओमान ६ अंकका साथ शीर्ष स्थानमा छ भने समान चार÷चार अंक रहेका हङ्कङ र यूएई क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंक तालिकामा नेपाल र मलेसियाको समान दुई÷दुई अंक छ । यद्यपि रन रेटमा अझै धेरैले पछि रहेकाले नेपाल मलेसियाभन्दा पछि पाँचांै स्थानमा छ ।
नेपाललाई अब प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गर्न बाँकी रहेको आफ्नो दुई खेलमा सिंगापुर र हङकङलाई पराजित गरेर मात्रै पुग्नेछैन, ओमानले पनि यूएई र हङकङ दुवै टोलीलाई पराजित गर्नुपर्नेछ । यो अवस्थामा मात्रै नेपालको फाइनल पुग्ने सम्भावना रहन्छ । फाइनल जित्ने एक टोली मात्रै यही सेप्टेम्बरको १५ देखि ३० तारिखसम्म यूएईमा हुने एसिया कपका लागि छनोट हुनेछ । सो टोलीले एसिया कपमा भारत र पाकिस्तानको सिनियर राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ ।
मलेसियाको बायुमास ओभलमा वर्षाका कारण ३० ओभरमा छोट्याइसकेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ८८ रनको योगफल खडा गरेको थियो । त्यसपछि जवाफी ब्याटिङमा आएको मलेसियालाई निर्धारित ३० ओभरभित्र नौ विकेट लिँदै एक सय ६९ रनमा रोक्दै नेपालले प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गराएको हो । नेपालका लागि ब्याटिङतर्फ आरिफ सेखले आविजित ६४ रन तथा दीपेन्द्रसिंह ऐरीले ५४ रनको अर्धशतकीय योगदान गरे ।
आरिफले ४८ बलमा दुई छक्का र पाँच चौका तथा दीपेन्द्रले ५१ बलमा एक छक्का र ६ चौका प्रहार गरेका थिए । त्यसबाहेक अन्य ब्याट्सम्यान भने फेरि रन जोड्न असफल भए । प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेल नौ, अनिलकुमार शाह १६, ज्ञानेन्द्र मल्ल ११ तथा कप्तान पारस खड्का १३ रनमै आउट हुन पुगे । वसन्त रेग्मी ६ रनमा अविजित रहँदा सागर पुन र सोमपाल कामी भने बिनाकुनै रन आउट हुन पुगे ।
बलिङतर्फ वसन्तले तीन तथा सोमपाल र सन्दीप लामिछानेले दुई÷दुई विकेट लिँदा नेपालले मलेसियालाई लक्ष्यसम्म पुग्नुअघि नै रोकेको थियो । सागर र दीपेन्द्रले पनि एक÷एक विकेट लिएका थिए । दुई ओभरमै २२ रन खर्चिएका ललित भण्डारीले भने विकेट लिन सकेनन् । वसन्तले ६ ओभरमा ३६ रन खर्चंदा सोमपालले ६ ओभरमा ३९ रन, सन्दीपले एक मेडनसहित २० रन खर्चिएका थिए ।
मलेसियाका लागि अन्वार अरुदिन र सेद अजिजले ३४/३४ रन जोडेका थिए । अन्य खेलाडी भने सस्तो योगफलमै नेपाली बलरको सिकार भएका थिए । नेपालले आइतबार सिंगापुरसँग प्रतिस्पर्धा गर्दै छ ।