जो तीज बहिष्कारको पक्षमा छन्

जो तीज बहिष्कारको पक्षमा छन्

काठमाडौं : तीज र ऋषिपञ्चमी पर्वले पितृसत्तालाई प्रवद्र्धन गर्ने भन्दै यसलाई बहिष्कार गर्नुपर्ने आवाज उठेको छ। तीज मनाउनुपर्ने सामाजिक र सांस्कृतिक आधार गलत भएको र बजारले यसलाई उपभोक्तावादी बनाएको भन्दै सामाजिक कार्यकर्ता तथा संस्कृतिकर्मीले तीज बहिष्कार गर्नुपर्ने बताएका हुन्।

घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले शनिबार राजधानीमा गरेको ‘आजको सन्दर्भमा तीज’ विषयक अन्तर्क्रियामा बोल्दै सांसद् तथा नेकपा नेतृ अञ्जना विशंखेले तीज मनाउनु र छाउपडी प्रथा मान्नु एउटै भएको धारणा व्यक्त गरिन्।

‘ऋषिपञ्चमीमा बिदा दिनु भनेको छाउपडी प्रथालाई मान्यता दिनु हो’, विशंखेले भनिन्, ‘वर्षभरि रजस्वला भएका महिलाले शुद्ध हुन भन्दै मनाउने पर्व हो ऋषिपञ्चमी। अनि सरकारले त्यही दिन बिदा दिनु भनेको छाउपडीलाई मान्यता दिनु हो।’

उनले ऋषिपञ्चमीमा महिलालाई बिदा दिने व्यवस्था खारेज गर्न आफूले संसद्मै कुरा उठाउने बताइन्।

समालोचक तथा संस्कृतिकर्मी निनु चापागाईंले तीजसँगै बजारले उपभोक्तावादी विकृति ल्याइरहेको बताए। ‘पहिले तीजमा सामन्तवादी संस्कृति हावी थियो, अहिले पुँजीवादका विकृति थपिएका छन्’, चापागाईंले भने, ‘बिना पूजापाठ, बिना व्रत, बिना लिंगपूजा खानपान गर्ने र रमाइलो गर्ने हो भने ठीकै छ। नत्र तीज पनि विकल्प पनि खोजिनु हुँदैन। खारेज गर्नुपर्छ।’

कवि धनकुमारी सुनारले तीजलाई महिलाहरूको अपवित्रता पखाल्ने पर्वका रूपमा मनाइएको भन्दै पञ्चमीको दिनमा नुहाउने चलनले त्यसलाई पुष्टि गरेको जिकिर गरिन्। महिला समानतामा राज्यको दोहोरो चरित्र रहेको बताउँदै उनले भनिन्, ‘संविधानले प्रदान गरेको महिलासम्बन्धी मौलिक हक कार्यान्वयन गर्नुपर्छ। तर सरकार तीजमा बिदा दिएर बस्छ।’

युवा नेतृ मानुषी यमि भट्टराईले आफू राजनीतिकर्मी भएकाले विचारै नमिल्ने प्रकृतिका धार्मिक र सांस्कृतिक पर्वमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिनु परेको चर्चा गरिन्। ‘मेरो परिवारले तीज मनाउँदैन तर समाजले यसको अभ्यास गरिरहेको छ’, उनले भनिन्, ‘तीज धार्मिक मात्र होइन, सामाजिक कार्य पनि हो। त्यसकारण हामी यसबाट भाग्न सक्दैनौँ। समाजमै पसेर बदल्नुपर्छ।’

कार्यक्रममा लेखक युग पाठकले महिलाहरू तीजको राजनीतिबारे प्रष्ट हुनुपर्ने विचार व्यक्त गरे। अन्तक्र्रियामा लेखक कैलाश राई, बलराम तिमल्सिना, रजनी ढकालले पनि आफ्ना विचार राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.