थामिएनन् मन्त्रीका आँसु
महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मलाको घरमा शनिबार बिहान साढे १० बजे खानेपानीमन्त्री बिना मगर पुग्दा एकैछिन सन्नाटा छायो । मन्त्री मगर निर्मलाको घर पुग्दा त्यहाँ बालिकाकी आमा दुर्गादेवीले मन्त्री र सांसदसँग कुरा गर्नै सकिनन् । उनका आँसु झरे । कान्छी आमा लक्ष्मीका आँखासमेत थामिएनन् । आफू बसेको ठाउँबाट उठेर उनी निर्मलाकी आमाको आँसु पुछ्न् पुगिन् । यो दृश्यले मन्त्री मगरका आँखा पनि रसाए । एकैछिन निर्मलाको घरमा सन्नाटा छायो ।
मन्त्री मगरसँगै पुगेकी प्रतिनिधिसभा सांसद निरुदेवी पालले समेत रसाएका आँखा थाम्न सकिनन् । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३८ औं दिन बितिसकेको छ । उनकी आमा दुर्गादेवीका आँखा अझै ओभाउन सकेका छैनन् ।
‘मेरो मन त ढुंगाजस्तै थियो तर अहिले मन थाम्न सकेकी छैन’, भक्कानिँदै उनले भनिन्, ‘छोरीका हत्यारालाई कारबाही नभएसम्म कसरी मन थाम्न सकिन्छु र ? ’ उनले ३८ दिन बितिसक्दासमेत अझै हत्यारा पत्ता नलाग्दा आफूलाई निकै पीडा भइरहेको बताइन् । मन्त्रीसामु भावविह्वल भएकी निर्मलाकी आमाले छोरीको हत्यारा पत्ता नलाग्ने हो कि भन्ने चिन्ताले झन् सताउन थालेको पीडा पोखिन् ।
निर्मलाको घटनाले आफू निकै स्तब्ध भएको भन्दै खानेपानीमन्त्री मगरले सरकारले छानबिन समिति गठन गरिसकेको र दोषी कुनै हालतमा उम्कन नदिने प्रतिबद्धता जनाइन् । ‘निर्मला हामी सबैकी छोरी चेली हो’, मन्त्री मगरले भनिन्, ‘ उसका हत्यारालाई पक्राउ गरी कारबाही गर्न सरकारले कुनै कसर बाँकी राख्दैन ।’ उनले आफ्नो मानिस गुमाउँदाको पीडा कस्तो हुन्छ भन्ने आफूले भोगेको भन्दै निर्मलाका हत्यारालाई सजाय दिलाउन आफू पछि नहट्ने बताइन् ।
हत्यारा जोसुकै भए पनि कानुनी दायरामा आउने र उसलाई हदैसम्मको सजाय हुने उनले बताइन् । प्रतिनिधिसभा सदस्य निरुदेवी पालले निर्मलाका आमालाई सहानुभूति व्यक्त गर्दै हत्यारालाई कारबाहीको दायरामा ल्याइने बताइन् ।
मन्त्री मगरले निर्मलाका हत्यारा कारबाहीको माग राखेर भएको आन्दोलनमा प्रहरीको गोली लागेर मारिएका सन्नी खुनाको घर पुगेर उनकी आमासँग समेत भेट गरिन् । मन्त्री मगर सहिद खुनाको घर पुग्दा आमा मञ्जुले पनि आँसु थाम्न सकिनन् । यो दृश्यले पनि मन्त्री मगरले आफूलाई सम्हाल्न सकिनन् । उनले सहिद खुनाको परिवारलाई सहानुभूति दिइन् ।
गृहजिल्लामा भइरहेका बलात्कारलगायत घटनाले आफू स्तब्ध भएको मन्त्री मगरले बताइन् । निर्मला र सहिद खुनाको परिवारलाई भेट्नुपूर्व सुरक्षा निकायका प्रमुखसित भेट गरेकी उनले जिल्लामा बढ्दो अपराध नियन्त्रण गर्न र सुरक्षामा ध्यान दिन निर्देशन दिइन् ।
सो क्रममा निर्मला हत्याकाण्ड र बेल्डाँडीमा किशोरी बलात्कार भएको घटनालगायत समग्र जिल्लाको सुरक्षा अवस्थाबारे एसपी कुवेर कडायतले मन्त्रीलाई जानकारी गराएका थिए । निर्मलाका परिवार र सहिद खुनाका परिवारलाई भेट्न मन्त्री मगरसँगै प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्ट, प्रदेश ७ का प्रदेशसभा सदस्य प्रकाश रावल र मानबहादुर सुनारसमेत पुगेका थिए ।