को हो हेडसर ?

को हो हेडसर ?

सिरहा : लहान नगरपालिकाका दुई विद्यालयमा प्रधानाध्यापक (हेडसर) बन्न होडबाजी चलेको छ । वडा नम्बर ७ को पशुपति मावि र १७ को श्री मावि झिरहरीमा शिक्षकबीच प्रधानाध्यापक बन्न होडबाजी चलेको हो । यसले गर्दा प्रधानाध्यापक को हो भन्ने नै अन्योल देखिएको छ ।

पशुपतिमा तत्कालीन प्रधानाध्यापक प्रमेश्वर रायलाई आर्थिक हिनामिना गरेको आरोपमा शिक्षा विकास तथा समन्वय इकाइले हटाएको थियो । त्यसपछि तीन शिक्षक प्रधानाध्यापक बन्ने दौडमा छन् । श्री माविको प्रधानाध्यापकमा दुई जना शिक्षकको दाबी छ ।

रायलाई गत असार २१ गते हटाइएको थियो । रायलाई थमाइएको पत्रमा दोस्रो वरीयतामा रहेका शिक्षकलाई निमित्तको जिम्मेवारी दिनुपर्ने उल्लेख छ । तर, रायले ‘कनिष्ठ’ शिक्षक सोभित चौधरीलाई गत असार २२ गते निमित्तको जिम्मेवारी दिए । त्यसपछि शिक्षक रामकुमार साह मेयर र अरुण गिरी अदालतको शरणमा पुगेका थिए ।

नगरपालिकाले पनि अधिकार क्षेत्रबाहिर गएर चौथो तहका शिक्षक साहलाई निमित्तको जिम्मेवारी दियो । त्यसपछि दोस्रो वरीयतामा रहेका शिक्षक गिरी आफू अन्यायमा परेको भन्दै उच्च अदालत जनकपुर पुगे । मेयरले लेखेको पत्र स्थानीय तहको काम, कर्तव्य, अधिकारभित्र नपरेको भन्दै लागू नगर्न साउन ३२ गते अदालतले आदेश दिएको थियो ।

तर, मेयरले फेरि साहलाई नै अर्को पत्र दिएका छन् । ‘अदालतले भदौ २० गते तारेख तोकेको छ’, शिक्षक गिरीले भने, ‘त्यसपछि मुद्दाको अन्तिम किनारा लाग्छ ।’ यस विद्यालयमा सात जना द्वितीय श्रेणीका शिक्षक छन् ।

श्री मावि झिरहरीमा पनि शिक्षकद्वय अब्दुल अजिज र नारायण साहले आफु प्रधानाध्यापक रहेको दाबी गर्दै आएका छन् । तत्कालीन जिल्ला शिक्षा कार्यालयले अजिज र साहसहित चार जनालाई गत माघ १२ गते सरुवा गरेको थियो । जिल्ला शिक्षा समितिको निर्णयअनुसार अजिजलाई झिरहरीबाट पशुपति मावि, साहलाई बस्तीपुर माविबाट झिरहरी, हरिनारायण चौधरीलाई सगरमाथा मावि ढोढनाबाट बस्तीपुर र राजेन्द्रप्रसाद यादवलाई पशुपतिबाट सगरमाथा माविमा सरुवा गरिएको थियो ।

अजिजले शिक्षा ऐन (नवौं संशोधन) विपरीत सरुवा गरेको भन्दै उच्च अदालत जनकपुरको राजविराज इजलासमा वैशाख ४ गते मुद्दा दर्ता गराएका थिए । अदालतले वैशाख ५ गते उनको सरुवा तत्काल कार्यान्वयन नगराउन र लिखित जवाफ पेस गर्न भनी शिक्षा कार्यालयको नाममा परमादेश जारी गरेको थियो ।

अजिजका कारण झिरहरीमा सामाजिक तथा शैक्षिक वातावरण बिग्रिन गएकाले उनलाई सरुवा गरिएको निमित्त जिल्ला शिक्षा अधिकारी देवन चौधरीले पेस गरेको लिखित जवाफमा उल्लेख छ । विद्यालय व्यवस्थापन समितिको सहमतिमा काज सरुवा गरिएको पनि जवाफमा छ । लहान नगरपालिकाले फागुन ६ गते शिक्षक नारायण साहलाई काज फिर्ता गरेको पत्र थमाएको थियो । नगरपालिकाले अधिकारबाहिर गएर निर्देशन दिएको भन्दै साहले पनि उच्च अदालत जनकपुरको राजविराज इजलासमा रिट दायर गरेका थिए । शिक्षक साहलाई रिट निवेदन टुंगो नलागेसम्म झिरहरी विद्यालयमा कार्य गर्न अदालतले पनि अन्तरिम आदेश जारी गरेको थियो ।

शिक्षा विकास तथा समन्वय इकाइ सिरहा प्रमुख डोलराज पाण्डेका अनुसार अदालतबाट अन्तिम टुंगो नलागेसम्म प्रधानाध्यापक को हो भनेर यकिन गर्न मिल्दैन । ‘म यहाँ सरुवा भएर आएको केही दिन भएको छ’, उनले भने, ‘विवादको विषयमा बुझ्दै छु ।’

सर्टिफिकेट वितरणले विवाद

श्री मावि झिरहरीमा एसइईका विद्यार्थीको सर्टिफिकेट वितरणले विवाद बढ्दै गएको छ । शिक्षक साहले आफू प्रधानाध्यापक भनेर सर्टिफिकेट वितरण गर्दै छने भने शिक्षक अजिज आफू प्रधानाध्यापक हो भन्दै छन् । यो विषयमा वडाध्यक्ष प्रथमलाल चौधरीलगायत र शिक्षकबीच चर्काचर्की भएको पाइएको छ । वडाध्यक्षले अपशब्द प्रयोग गरेको भन्दै शिक्षकले विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेका थिए । त्यसपछि पढाइ अवरुद्ध भएको भन्दै १३ गते विद्यार्थीले शिक्षकलाई विद्यालयमै पाँच घण्टा थुनेका थिए । स्थानीय प्रहरी– प्रशासनको रोहबरमा विद्यार्थीले पढाइ नियमित गर्ने सर्तमा ताला खोलेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.