स्थानीयको फोहोर नगरपालिकाले किन्ने

स्थानीयको फोहोर नगरपालिकाले किन्ने

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकाले फोहोर संकलन गरेबापत नगरबासीलाई शुल्क दिने भएको छ। नगरबासीले फाल्ने फोहोर व्यवस्थापनमा मात्रै लाखौं रुपैयाँ खर्च गर्दै आएको नगरले अब भने फोहोर जम्मा गरेवापत नगद शुल्क दिन लागेको हो। नगरभित्रका नागरिकले प्रयोग गरेको प्लास्टिक, पानीका बोतल, चाउचाउ, चकलेट, कोक तथा फ्यान्टाका बोतल आफैं खरिद गरेर लिने भएको हो।

नगबासीले प्रयोग गर्ने त्यस्ता फोहोरजन्य सामाग्री संकलन गरेर राखे त्यसलाई नगरपालिकाले पैसा दिएर किन्ने र पुनःउपभोगमा ल्याउन लागेको हो। कमलामाई नगरपालिकाले नगरबासीलाई सूचना जारी गर्दै नगरपालिकाभित्र नगरबासीले प्रयोग गरेका प्लाष्टिकजन्य पदार्थको खरिद गर्ने जनाएको हो। एउटा खानेपानीको खाली बोतलको ५० पैसाका दरले खरिद गर्ने र चाउचाउ, चकलेटका खोललगायत अन्य प्लाष्टिकजन्य पदार्थ टोल विकास संस्थामार्फत् प्रतिकिलो १० रुपैयाँका दरले खरिद गर्ने नीति लिएको हो।

प्लाष्टिकमुक्त नगरपालिका बनाउन नयाँ कार्यक्रम थालनी गरिएको नगरप्रमुख खड्गबहादुर खत्रीले बताए। सूचनाबारेमा जानकारी दिँदै उनले भने, ‘अब नगरबासीले प्लाष्टिकजन्य फोहोर बेचेर आम्दानी गर्न सक्नेछन्।’ प्लाष्टिकजन्य फोहोर जथाभावी नफाली संकलन गरेर र आयआर्जनमा वृद्धि गर्न उनले आग्रहसमेत गरे। नगरपालिकाले यसअघि प्लाष्टिक झोला प्रयोग गर्न निषेध गरेको थियो। प्लाष्टिकले वातावरणमा प्रतिकूल असर पार्ने भन्दै कमलामाई नगरपालिकाले प्लाष्टिक झोला निषेध गर्ने भनिए पनि हालसम्म सो कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन।

झण्डै एक वर्षअघि सर्वदलीय तथा सर्वपक्षीय भेलाले २०७४ असोज १ गतेदेखि प्लाष्टिकझोलामुक्त नगरपालिका बनाउने निर्णय गरेको थियो। ‘तर, लामो समयसम्म प्लास्टिकका झोला प्रयोगमा कमी नआएपछि तत्कालका लागि नगर आफैंले पैसा दिएर खरिद गर्ने र विस्तारै त्यस्ता सामाग्रीको प्रयोगमा निरुत्साहित गर्ने योजना बनाएका हौं’, उनले थपे। नगरभित्रका हरेक नागरिकको घरघरमा पुगेर नगर र टोलसुधार संस्थाले त्यस्ता सामाग्री खरिद गर्नेछन्। खरिद गरिएका प्लाष्टिकजन्य वस्तुलाई रिफाइन गरी पुनःप्रयोगमा ल्याउने व्यवस्था मिलाइने पनि उनको भनाइ छ।

कमलामाई नगरपालिकाभित्र दैनिक झण्डै १० कुइन्टल यस्तो फोहोर उत्पादन हुने गरेको छ। यस बाहेकका फोहोरलाई डम्पिङ साइडमा लगेर व्यवस्थापन गर्ने गरिएको भए पनि प्लाष्टिकजन्य फोहोर नकुहिने भएकाले आगो लगाएर जलाउँदा वातावरणमा प्रतिकूल असर पर्दै आएको छ। तर, कुहिने र नकुहिने फोहोर छुट्याउने र त्यसमा पनि प्लाष्टिकजन्य वस्तुलाई पुनः प्रयोगमा ल्याउने गरी नगरले संकलन गर्ने र वातावरण सुरक्षित गर्न मुख्य भूमिका खेल्ने योजना बनाइएको नगरको योजना छ।

यसअघि घर तथा सडकआसपास यस्ता फोहोर फ्याकिँदा वातावरण प्रदूषित हुँदै आएको थियो।

नगरभित्र पर्ने विपी राजमार्गमा प्लाष्टिकका बोतल र चाउचाउका खोल अत्याधिक मात्रामा यात्रुले फाल्ने गर्छन्। सडकमा नगरले त्यस्ता फोहोर फाल्न निषेध गर्ने र निश्चित स्थानमा मात्र त्यस्ता फोहोर संकलन गर्ने व्यवस्था मिलाउन लागिएको समेत बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.