कर छली गरेर मुलुक समृद्ध बन्दैन : अर्थमन्त्री
मलंगवा : अन्य देशबाट समान आयात गरेर मुलुक समृद्ध नहुने अर्थ मन्त्री डा.युवराज खतिवडाले बताएका छन्।
करदाता सेवा कार्यालयको उद्घाटन गर्न सर्लाहीको मलंगवामा आएका मन्त्री खतिवाडाले कर छली गरेर मुलुकले विकास हुन नसक्ने बताएका हुन्।
अबैध भनेका समान आयात गरेर मुलुक समृद्ध बनाउने सपना देख्नु गलत भएको खतिवडाको ठहर छ। ‘कारवाहीको दायरामा ल्याउने चिजलाई हामीले प्रयोग गर्दै आएका छौँ’, खतिवडाले भने, ‘जुन राज्यलाई ठग्ने काम हो।’
‘सीमासँग टाँसिएको ठाउँमा ओहोर दोहोर हुनु स्वभाविक हो। तर, त्यसको नाममा कर छली गर्ने काम गरिनु हुँदैन’, मन्त्री खतिवडाले भने, ‘कसैले कर छली गर्छन् भने कानुनले कारबाही गर्छ।’
करको विषयमा धेरै कुरा उठ्ने गरेको भन्दै उनले करदाता मतदाता नै भएको प्रष्ट पारे। ‘करदाता मतदाता पनि हो’, उनले भने, ‘सम्मानित नागरिक र व्यवसायी पनि हो। त्यसैले सही रुपमा कर बुझाउने कार्य गरे कुनै पनि कारोबारी, करदाता व्यवसायीलाई निरुत्साहित र दण्डित पार्ने काम राज्यबाट हुँदैन।’