पौवाचित्र बनाउनेको काइदा कमाइ
पाटन दरबार स्क्वायर नजिकै आकर्षक पौवा चित्रहरूले सजाइएको स्टुडियोमा पुग्दा काभ्रेका २२ वर्षीय सुरेन्द्र तामाङ चित्र कोर्न व्यस्त थिए। काठमाडौंकै अरुणिमा कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत तामाङले चित्रकलाको काम उनका बाबुबाट सिकेका रहेछन्। उनी बिहान कलेज जान्छन्। खाना खाएर हतारहतार बाबुको स्टुडियो आइपुग्छन्। ग्राहक पर्खिएर बस्छन्। त्यत्तिकै खालि बस्दै बस्दैनन्। चित्रहरूमा कुचीले रङ लगाउँदै बुट्टा भरिरहेको देखाउँदै उनले भने, ‘यो मान्छेको जीवन चक्रसम्बन्धी चित्र हो। यो संसारभर नै प्रख्यात छ। ग्राहकहरूले प्रायः यही चित्र खोजिरहेका हुन्छन्। यसलाई हामी बलिउड र हलिउड सिनेमाका भित्ताहरूमा देख्न सक्छौं।’
‘पौवा चित्रलाई थाङ्का चित्र पनि भनिन्छ। यो कटनको कपडामा बनाइन्छ। यसमा सामाजिक र सांस्कृतिक कुराहरूलाई उतारिएको हुन्छ। प्राकृतिक रङको प्रयोग गरिन्छ।’ तामाङले जनाए, ‘हाम्रो स्टुडियो बौद्धमा पनि छ। त्यहाँ सात–आठ जना युवाहरू काम गरिरहेका छन्। हाम्रो परिवारमा जस्तै यो कला पुस्तान्तरण हुँदै आएको छ।’
सुरेन्द्रका बुवा करिब तीन दशकदेखि यही काममा व्यस्त छन्। सुरेन्द्रका अनुसार मेहनती मान्छेलाई पौवा चित्र बनाउने काममा हात बसाउन करिब ६ महिना जति सिके पुग्छ। ‘यसमा महँगा औजारहरू खरिद गर्नुु पर्दैन। मसी, कपडा र कुची भए पुग्छ,’ उनले भने, ‘मेहनत गरेर चित्र बनाउन जानेको व्यक्तिले मासिक २०–२५ हजार आम्दानी गर्न सक्ने बन्छ।’
‘पौवा चित्र नेपालको तुलनामा विदेशमा धेरै बिक्छ। अझ मण्डला सबैको रोजाइमा पर्छ। यो योग र सजावटका लागि प्रयोग हुन्छ। हाम्रा ग्राहक भनेकै धेरै विदेशीहरू हुन्। क्रिश्चियनहरूले पनि मण्डला किन्छन्। यसमा बुद्ध दर्शन पनि हुँदैन,’ तामाङले भने, ‘हाम्रोमा पाँच सय ५० देखि तीन लाखसम्म पर्ने चित्रहरू छन्। खासमा यसको दाम निश्चित हुँदैन। ग्राहक हेरी निर्धारण हुन्छ।’
रामेछाप खनियाँपानीका दिल लामा १६ वर्षदेखि पौवा चित्र बनाउने काममा छन्। उनले पढ्दापढ्दै आफ्ना बाबुबाटै यो कला सिकेका हुन्। लामाका अनुसार काम सिकेपछि खाली बस्नु पर्दैन। गुम्बा, घर, आदि सजावटका लागि प्रयोग गरिन्छ। बुद्ध र हिन्दु धर्मसँग सम्बन्धित भगवान्हरूको चित्र नै बढी माग हुन्छ। यो बाहेक हाम्रा खास ग्राहक नै पर्यटक हुन्। उनीहरूबाट जति पनि पैसा झार्न सकिन्छ।
लामाकहाँ काम सिक्ने मान्छे पनि आइरहन्छन्। उनले विदेशीहरूलाई पनि सिकाएका छन्। ‘पौवा चित्र बनाउन सिक्ने काम तह तहमा हुन्छ। सुरुमा कपडा काट्नेदेखि कपडामा माटो, सरेस लगाएर चित्र बनाउन तयार पारिन्छ। करिब तीन महिना काम गरेको मान्छेले प्रायः १०–१२ हजार आम्दानी गर्न थाल्छ,’ लामा भन्छन्, ‘यो काम सिक्न यति नै समय लाग्छ भन्ने छैन। सिक्नेको इच्छाशक्तिमा भर पर्छ।’ त्यस्तै उनका अनुसार राम्रो काम सिकेको मान्छेले यत्ति नै कमाउँछ भन्ने हुँदैन। ग्राहकमा भर पर्छ, लाखौं रुपियाँमा बिक्री गर्न सकिन्छ। ४०–५० हजार कमाउन गाह्रो छैन।
लामाले यही कामबाट घरखर्च चलाएका छन्। छोरालाई राम्रै विद्यालयमा पढाएका छन्। गाउँमा बुवाआमालाई पनि घर खर्च पठाउँछन्। उनकी श्रीमती पनि यही चित्रकलाको काम सिकिरहेकी छिन्। हिजोआज बिक्री अलि कम भएको उनको अनुभव छ। भन्छन्, ‘पर्यटक पनि कम आउँछन्। पौवा चित्र बनाउनेहरूका लागि सरकारले निश्चित स्थानको प्रबन्ध गर्न सके बिक्री बढ्न सक्थ्यो।’
बाफलका राजेश महर्जनले सानैदेखि आफ्ना चित्रकार मामा महेश्वर डंगोलको सिको गर्न थाले। बीबीएस पढ्दापढ्दै उनी काममा निकै पोख्त बन्दै गए। पढाइ पूरा गर्न नसके पनि कलाको क्षेत्रमा निकै उपलब्धि हासिल गरे। मामा भाञ्जा मिलेर पाटन दरबार स्क्वायरमै स्टुडियो खोलेका छन्। ‘राम्रा चित्र नबिक्ने कुरा हुँदैन। यो काम सिक्न पनि सहज छ। बलको काम गर्न पर्दैन। केही सांस्कृतिक धार्मिक पक्षको ज्ञान भए पुग्छ,’ राजेश भन्छन्।
महर्जनका अनुसार मण्डलाको छित्रपछि मञ्जु श्री, हरिततारा, श्वेततारा, लोकेश्वर, बुद्ध रिम्पोचे आदिका चित्रको माग छ। बजारमा राम्रो काम गर्ने मान्छेको अहिले पनि अभाव छ देख्छन् उनी। उनको कमाइ ५० हजार बढी छ भने उनका मामा तीन लाखभन्दा बढी आम्दानी गर्छन्।
संस्कृतिविद् सत्यमोहन जोशी पौवा चित्र नेपालको मौलिक परम्परा भएको बताउँछन्। ‘कसैकसै पौवा चित्र तिब्बतबाट आएको भन्छन्। त्यो गलत कुरा हो। कलाकलाको लागि मात्र होइन तेस्रो आँखाले विशेषता भेट्टाउन सक्ने हुनुपर्छ,’ उनले भने, ‘पौवा चित्र सांस्कृतिक र धार्मिक पक्षसँग जोडिएकाले पहिले चित्रकारले दीक्षा ग्रहण गर्नुु अनिवार्य थियो। व्यापारीकरणसँगै यो हटेको छ।’
जोशीका अनुसार चित्रकार अध्ययनशील हुनुपर्छ। जसको चित्र बनाउने हो त्यसबारे अति गुह्यातिगुह्य कुरा थाहा पाउनुपर्छ। रङ, मुद्रा, आसन, शक्ति आयुधबारे थाहा हुनुपर्छ। ‘पौवाचित्र भन्नेबित्तिकै मौलिकता, परम्परा र आध्यात्मिकता जोडिएको हुन्छ। आधुनिकता र व्यापारीकरणका नाममा मौलिकता मासिनु गलत कुरा हो।’