सुन्धाराको गोली काण्ड प्रहरीले राख्यो गुपचुप
काठमाडौं : राजधानीको सुन्धारामा आइतबार साँझ प्रहरीले गोली चलाएको घटना गुपचुप राखेको छ। एक युवतीलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न पुगेको प्रहरीले गोली चलाएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका सई लोकेन्द्र पन्थको टोलीले किसन राई नामका व्यक्तिमाथि गोली चलाएको हो। तामाङ थरकी युवतीलाई राईले धम्क्याउने गरेको सूचना परिसर प्रमुख एसएसपी वसन्त लामा समक्ष पुगेपछि प्रहरी परिचालन भएको थियो।
प्रहरी आएपछि भाग्दै गरेका राईमाथि गोली चलाइएको प्रत्यक्षदर्शीले बताएका छन्। 'उनी भाग्दै गर्दा गोली चलाइयो', एक प्रत्यक्षदर्शीले भने। राई दरबारमार्गस्थित किंस लाउन्ज बारका सञ्चालक हुन्।
काठमाडौं प्रहरीले भने गोली नचलाएको दाबी गरेको छ। परिसरका प्रवक्ता एसपी रामदत्त जोशीले गोली चलाएको विषय अफवाह भएको दाबी गरे।
राईविरुद्ध पक्राउ पुर्जी जारी नभई प्रहरीले गोली चालाएकाले घटना गुपचुप राखेको प्रहरी स्रोतको दाबी छ। ती युवतीले पनि प्रहरीमा लिखित जाहेरी दिएकी छैनन्।