आज गौरा पर्व मनाइँदै

आज गौरा पर्व मनाइँदै

काठमाडौं : प्रदेश- ७ मा सोमबार गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ। गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो। आजको दिन गौराको विशेष पूजाआजा गरी मनाइँदैछ। विभिन्न कामविशेषले उपत्यकामा बसोबास गर्दै आएका सुदूरपश्चिमेली काठमाडौंको टुडीखेलमा आज गौरा पर्व मनाउँदैछन्।शिव र गौरा देवीको प्रेम तथा विवाहको सम्झनामा महिला पुरुष डेउडा खेल्ने चलन छ।

भदौ शुक्ल पञ्चमीदेखि सुरु हुने सुदूरपश्चिमेलीको महान पर्व गौरापर्वको पहिलो दिन महिलाले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन्।

भदौ शुक्ल पञ्चमीका दिन ब्रत बसी केराउ, गहुँ, मास,गहत र गुरौस मिश्रण गरी (जसलाई विरुडा भनिन्छ) तामाको भाँडामा भिजाएपछि गौरा पर्व सुरु हुन्छ। भदौ शुक्ल पञ्चमीका दिन विरुडा भिजाउने भएकाले सुदूरपश्चिममा यसदिनलाई विरुडा पञ्चमी भन्ने गरिन्छ।।

भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ। त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ। अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको धुमधामका साथ पूजापाठ गर्ने चलन छ।

सुदूरको मौलिक संस्कृति झल्किने गौरा पर्व डडेल्धुरा, दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत मनाउने चलन छ।

नेताले दिए शुभकामना

गौरापर्वको अवसरमा विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत शुभकामना दिएका छन्। प्रधानमन्त्रीले ट्वीटमा लेखेका छन्, 'कर्णाली प्रदेश तथा प्रदेश नम्बर ७ मा विशेष रुपमा मनाइने गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।'

यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।

उनले एक विज्ञप्तिमार्फत विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको र त्यसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरेका छन्।

विशेषगरी सुदूरपश्चिममा मनाइने यस्ता पर्व सामाजिक सद्भावना बढाउने काममा कोशेढुंगा सावित भएको उल्लेख गर्दै सभापति देउवाले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भनी शुभकामना दिएका छन्

त्यस्तै, गौरा पर्वका अवसरमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना व्यक्त गरेका छन्। 'चाडपर्वको महत्व सामान्य उत्सव मात्र नभएर त्यसले समुदाय र क्षेत्रको साझा ऐतिहासिक पहिचान र सामाजिक सम्बन्धको समेत परिचय दिन्छ। त्यसअर्थमा गौरा पर्वको महत्व प्रदेश - ७ का जनताका लागि ऐतिहासिक महत्वको रहेको छ। लामो संघर्षपछि यही पहिचान र सामथ्र्यलाई संविधानमार्फत सुनिश्चित गरी संघीय गणतान्त्रिक नयाँ नेपालको निर्माणमा हामी अघि बढेको बेला यो पर्वको महत्व झनै बढेको मैले अनुभूति गरेको छु, अध्यक्ष प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ।

उनले संघीयतालाई बलियो पार्दै विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पारिँदै आएको प्रदेश ७ लाई समुन्नतिको दिशामा अघि बढाउन, त्यस क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको समुचित विकास गर्न तथा सम्पूर्ण देशवासीमा आपसी सदभाव, भाइचारा तथा अपनत्वको भावना वृद्धि गरी समृद्ध नेपालको निर्माणमा गौरा पर्वले प्रेरणा देओस् भनी सन्देशमार्फत कामना गरेका छन्। 'म मेरो तर्फबाट, परिवार तथा पार्टीका तर्फबाट देश तथा विदेशमा गौरा पर्व मनाउन लाग्नु भएको सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छुु', उनले भनेका छन्।

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.